स्वास्थ्य लाइभलाई चुनौती दिने कांग्रेस नेता सन्तोष चालिसे भ्रष्टाचारमा डामिए


काठमाडौं। स्वास्थ्य लाइभलाई चुनौती दिने कांग्रेस नेता सन्तोष चालिसे भ्रष्टाचार मुद्दामा डामिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन गोकर्णेश्वर नगरपालिकाका मेयर चालिसेलाई गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो मागदाबीसहित अख्तियारले चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीसँगै जग्गा जफत प्रयोजनका लागि श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर र सञ्जिव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाइएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा चालिसे गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनी २०७९ सालमा कांग्रेसबाट टिकट लिएर प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर अर्थ समितिको सभापति भए। अर्थ समितिको सभापति भएका बेला स्वास्थ्य लाइभले चालिसेमाथि अख्तियारले छानबिन गरिरहेको तथ्य उजागर गरेको थियो। स्वास्थ्य लाइभले उक्त समाचार सार्वजनिक गरेपछि चालिसेको सचिवालय स्वास्थ्य लाइभलाई चुनौती दिँदै प्रेस काउन्सिलमा उजुरी हालेको थियो। समाचारको सत्यता पुष्टि गर्न स्वास्थ्य लाइभलाई चुनौती दिने चालिसेलाई भ्रष्टाचार मुद्दा दायर गरेर अख्तियारले नै उक्त समाचारको सत्यता पुष्टि गरिदिएको छ।

त्यति मात्र होइन पत्र प्राप्त भएको मितिले ७ दिनभित्र उचित जवाफ पठाउन चेतावनी दिँदै तत्कालीन अर्थ समितिका सभापति चालिसेको सचिवालयले अन्यथा आफूहरू यो विषयलाई कानुनी प्रक्रियामा लैजान बाध्य हुने चेतावनी समेत दिएको थियो। अर्थ समितिका सभापति सन्तोष चालिसेको सचिवालयले भने उनीमाथि अख्तियारले छानबिन गरेको विषयमा सत्यता नरहेको दाबी गरेको छ। स्वास्थ्य लाइभले पौष १८ गते बिहीबार प्रकशित गरेको ‘नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले गोकर्णेश्वरका पूर्वमेयरलाई के गर्ला?’ भन्ने विषयमा सार्वजनिक गरिएको समाचारले झूठा, भ्रामक र तथ्यहीन रहेको चालिसेको सचिवालयले दाबी गरेको हो। गलत समाचार सम्बन्धमा स्वास्थ्य लाइभसँग स्पष्टीकरण माग गर्दै उनको सचिवालयले झूठा, भ्रामक र तथ्यहीन रहेको दाबी गरेको थियो।

स्वास्थ्य लाइभले सत्य तथ्यको पुष्टि नगरी उक्त समाचार प्रसारण गर्नु निकै दुर्भाग्यपूर्ण रहेको चालिसेको सचिवालयको ठहर थियो। ‘म तपाईंको संस्थालाई आफ्नो जिम्मेवारी सम्झाउँदै भविष्यमा यस्ता त्रृटिहरू दोहोरिन नदिने प्रतिबद्धता चाहन्छु। समाचारको पुष्टि नगरी कुनै पनि समाचार सम्प्रेषण गर्दा जनतामा गलत प्रभाव पर्न सक्छ जसले समाजलाई नकारात्मक दिशमा धकेल्ने जोखिम निम्त्याउँछ।’, प्रेस काउन्सिल नेपाललाई सम्बोधन गर्दै अर्थ समितिका सभापति चालिसेका स्वकीय सचिव निराजन अर्यालले लेखेको खण्डमा भनिएको थियो, ‘यस घटनाको छानबिन गरी क्षमायाचना गर्नुका साथै सुधारात्मक कदम चाल्न म तपाईंको संस्था समक्ष अनुरोध गर्दछु। यस विषयमा तपाईंको तर्फबाट तत्काल स्पष्टीकरण र आवश्यक सुधारात्मक कदमको अपेक्षा गर्दछु।’,

लक्ष्मीनाथ चालिसेको नाती, भवनाथ चालिसेको छोरा सन्तोष चालिसेलाई अख्तियारले भ्रष्टाचारमा नराम्रोसँग चाबुक हानेको छ। साविक जोरपाटी गा.वि. स. वडा नं. ९ हाल गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरूवारी स्थायी वतन भएका चालिसेलाई काठमाडौं-३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन एकल सिफारिस गरिएको थियो। फेरि चुनाव लड्ने तयारीमा रहेका विघटित प्रतिनिधिसभाका सदस्य चालिसे भ्रष्टाचारमा डामिएका हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #सन्तोष चालिसे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ