वाणिज्य सचिव डा. घिमिरे अवकाशमा, डा. लम्साल तयारीमा
काठमाडौं। वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे अनिवार्य अवकाशमा गएका छन्। ५८ वर्ष उमेर हदका कारण डा. घिमिरे शनिबारबाट अनिवार्य अवकाशमा गएका हुन्। उनी शुक्रबार नै बिदाइ भइसकेका छन्।
तुलनात्मक रूपमा काम गर्ने सचिवमा पर्ने घिमिरे उमेर हदका कारण ५ वर्ष सचिव नचलाई घर गएका हुन्। राजस्व, अर्थ, अख्तियार, राष्ट्रपति कार्यालय जस्ता निकायमा सचिव चलाइसकेका घिमिरे वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव भूमिकाबाट बाहिरिएका छन्। घिमिरेको ठाउँमा कमलप्रसाद भट्टराई सचिवमा बढुवा हुनेछन्। घिमिरेको अवकाशसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा रहेका सचिव महादेव पन्थको व्यवस्थापन गर्ने बाटो खुला भएको छ।
राष्ट्रपति कार्यालयका सचिव डा. हरिप्रसाद लम्साल पनि ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने तयारीमा छन्। लम्साल फागुन २३ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। उनी पनि ५८ वर्ष लागेर सरकारी सेवाबाट बिदा भएर घर जान लागेका हुन्। लम्सालको ठाउँमा पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरे सचिवमा बढुवा हुनेछिन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस