मजदुरी गर्दै पढेर एमबिबिएसमा नाम निकालेका सत्यनारायणले लगाए सेतो एप्रोन
दाङ । मजदुरी गर्दै पढेका सत्यनारायण साफीले एमबीबीएसमा नाम निकालेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना भएपछि उनमा खुसीको सिमा नै छैन । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा पर्छ, श्रीपुर गाउँ । यही गाउँको एउटा फुसको झुप्रोमा दलित समुदायका सत्यनारायण साफीले एमबिबिएसमा नाम निकाल्दा उनि मात्रै होइन, उनको परिवार र छिमेकमा पनि बधाई दिनेको लर्को नै थियो ।
प्रतिष्ठानमा दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि ‘ह्वाइट कोट सेरेमनी’ कार्यक्रममा सत्यनारायण भाबुक र खुसी दुबैमा देखीए । उनले एमबिबिएसमा दुख गरेर नाम निकालेर पढ्न पाउँदा अत्यन्तै खुसी लागेको प्रतिकृया दिए । सेतो एप्रोनमा सजिदा उनमा छुट्टै आनन्द लागेको थियो । पढ्नका लागि आबश्यक पर्ने रकम जुटाउम उनमा आर्थिक अभाबले चाहि पिरलेको भाब देख्न सकिन्थ्यो । तर, उनले कार्यक्रम स्थलमा एमबिबिएस पढ्ने बिद्यार्थीहरुसंग खुसी साटासाट गरिरहेका देखिन्थे भने प्राध्यापकहरुले पनि उनलाई हौसला दिइरहेका थिए ।
प्रतिष्ठानले एमबीबीएस कार्यक्रम अन्तर्गत दोस्रो बर्षका उनिसहित ५० जना विद्यार्थीहरूलाई औपचारिक रूपमा सेतो कोट (एप्रोन) प्रदान गर्दै कार्यक्रम आयोजना गरेको हो । प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साल, निमित्त डिन प्राडा. रमेश कडेल, निमित्त अस्पताल निर्देशक प्राडा जनार्द्न पन्थिले संयुक्तरुपमा सत्यनारायणसहित ५० जना विद्यार्थीलाई सेतो एप्रोन लगाई दिएका थिए ।
निमित्त उपकुलपति प्रा. लम्सालले विद्यार्थीहरूलाई सेतो कोट पहिर्याउँदै चिकित्सा पेशाको मर्यादा, जिम्मेवारी र नैतिकताको बारेमा मार्गदर्शन दिएका थिए। सेतो कोट चिकित्सक जीवनको प्रारम्भिक प्रतीकका रूपमा लिइने निमित्त डिन प्राडा कडेलले बताए । निमित्त अस्पताल निर्देशक प्राडा. जनार्दन पन्थिले स्वास्थ्य सेवा क्षेत्रमा समर्पण, अनुशासन र मानव सेवाको भावना अपरिहार्य रहेको बताए। उनले बोलिचालि ब्यबहारमै राम्रो गरेर चिकित्सा पेशालाई समाजमा सम्मान गर्न लायक बनाउन सबैले हातेमालो गर्नुपर्ने र चिकित्सा पेशा सम्हाल्दैमा आफुलाई फरक ठान्ने प्रबृत्ति भएमा समाजमा असन्तुलन पैदा हुने भएकाले यसमा सबै सचेत हुनुपर्ने बताए । यसपालिको दोस्रो बर्षको ब्याजमा ४ जना बिदेशी विद्यार्थी भर्ना भएका छ्न । पहिलो बर्षमा ५० जना विद्यार्थी भर्ना भई अध्ययनरत छ्न । प्रतिष्ठानमा बिएनएस, बिएस्सि नर्सिङको पढाई पनि सन्चालनमा छ भने चिकित्साशास्त्रमा एमडि/ एमएस र अँाखा र जेष्ठ नागरिकमा फेलोसीप कार्यक्रम सुरु भइसकेका छ्न । त्यस्तै चिकित्साशास्त्रमा पिएचडिको पढाई पनि चालु गर्ने तयारीमा प्रतिष्ठान रहेको छ ।
प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा प्राध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा एमबिबिएस पहिलो बर्षका बिद्यार्थीहरुले नब आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा पहिलो बर्षका विद्यार्थीहरुले गित, नृत्य प्रस्तुत गरेर थप रोमाञ्चित बनाएका थिए । सेतो कोट ग्रहण गरेपछि सत्यनारायणले स्वास्थ्य सेवा क्षेत्रप्रति प्रतिबद्ध भएर अध्ययन र सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।
अभाव, समस्या र गरिबीबीच पनि सत्यनारायणले पाएको सफलताले सबैमा उदाहरणिय बनेका छ्न । चिकित्सा शिक्षा आयोगले गत १५ कात्तिकमा लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका साफी निरन्तर मिहिनेत, संघर्ष र सफलताको उदाहरण बनेर उदाएका हुन ।
दलित समुदायका सत्यनारायणको परिवारसित सम्पत्तिका नाममा घर भएको साढे चार धुर घडेरी मात्र छ । उनका बुबा मधुरी साफी तीन वर्ष अघिसम्म वैदेशिक रोजगारीमा थिए । त्यसपछि घर फर्केर यतै मजदुरी गर्न थाले । मधुरीका श्रीमती, तीन छोरी र दुई छोरा छन् । जेठा छोरा सत्यनारायणले २०७७ मा गाउँकै जनता माध्यमिक (प्राविधिक) विद्यालय, बरियारपट्टीबाट एसईई गरेका थिए ।
एसईईमा राम्रो अंक आएपछि हौसिएका उनले २०७९ मा विराटनगरको अरनिको स्कुलबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरे । त्यसपछि उनको मनमा एमबीबीएस पढ्ने भोक जाग्यो । आर्थिक हैसियत त थिएन तर सत्यनारायणमा आत्मविश्वास थियो । उनी २०८० मा तयारीका लागि काठमाडौं गए । तर, आर्थिक समस्याले दुई महिनामै गाउँ फर्किनुपर्यो ।
त्यसपछि आमाबुबासँगै गाउँमै निर्माण क्षेत्रमा मजदुरी गर्न थाले । उनले २ वर्ष मजदुरी गर्दै आएका थिए । ‘बिहान ८ बजे काममा जान्थेँ, कहिले टिफिन लिएर जान्थेँ, कहिले घरमै आएर खान्थेँ । कामबाट ५ बजे फर्किन्थेँ । घरको काम सकेर साँझ ६ बजेदेखि राति १२–१ बजेसम्म ६–७ घन्टा पढ्थेँ,’ सत्यनारायणले अनुभब सुनाउदै भने, ‘काम गरे पनि खासमा पढाइ मेरो प्राथमिकतामा हुन्थ्यो, किनकि पढ्नैकै लागि काम गरिरहेको थिएँ ।’
मजदुरीबाट आएको पैसाले किताब किनेर स्वाध्ययन थाले । र, चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा छात्रवृत्तिमा नाम निकाल्न सफल भए । यो उनले दोस्रो पल्ट दिएको परीक्षा हो । ‘२०८१ मा दिएको पहिलो परीक्षाको मेरो नतिजा नै आएन, केही प्राविधिक त्रुटि भएर । हामीजस्ताका लागि यो अनौठो कुरा त हो तर गरिबी भए पनि लगनशीलता, धैर्य र समर्पणले जुनसुकै कुरा हासिल गर्न सकिन्छ भन्ने लाग्छ,’ सत्यनारायणले थपे, ‘मैले प्रयास गरें, सपना यथार्थमा परिणत भयो, यसको सबै श्रेय आमाबुबालाई जान्छ ।’
आमा सुनिताले छिमेकीसँग ८० हजार सापटी लिएर दिएपछि सत्यनारायण यही ८ पुसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भर्ना भएका छन् । कलेजको शुल्कमा साढे ६४ हजार खर्च भएको छ । छात्रवृत्तिमा एमबीबीएस पढ्न पाएपछि सत्यनारायण र उनको परिवारमा खुसियाली छाएको त छ तर चिन्ता पनि त्यत्तिकै छ । छात्रवृत्ति पाए पनि पढाइ शुल्कबाहेक बसोबास, खानपान, यातायात, पढाइ सामग्रीमा ठूलो खर्च लाग्छ । पढाइ पूरा गर्न सबै गरेर कम्तीमा १५ लाख रुपैयाँ खर्च हुन्छ ।
दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको परिवारलाई यो खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ । ‘हामी दिनभर कमाएर बेलुकाका लागि अन्न जोहो गर्ने परिवार हौं, हाम्रा लागि यो सपनाजस्तै हो, तैपनि छोराले नाम निकालेपछि पछि हट्दैनौं,’ सुनिताले भनिन् । बधाई दिन आउनेमध्ये केहीले आर्थिक सहयोग गरेका छन् भने केहीले सहयोगको प्रतिबद्धता जनाएका छन् । तर, सरकारले आर्थिक सहयोग गरिदिए पढ्न सहज हुने सत्यनारायणलाई लागेको छ । ‘सहयोग गर्ने व्यक्तिप्रति आभारी छौं,’ उनले भने, ‘तर, यस्तो सहयोगकै भरमा गाह्रो होला, सरकारले पनि हेरिदिए हुन्थ्यो भन्ने लागेको छ ।’
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस