कांग्रेसबाट गगन थापाका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म समानुपातिक सांसद बन्दै


काठमाडौं। नेपाली कांग्रेसबाट सभापति गगनकुमार थापाका ससुरादेखि पूर्वराष्ट्रपति डा. रामवरण यादवसम्म समानुपातिक सांसद बन्दैछन्। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत क्लस्टर अनुसार पहिलो नम्बरमा रहेका थापाका ससुरा अर्जुननरसिंह केसीदेखि पूर्वराष्ट्रपति डा. रामवरणका छोरा डा. चन्द्रमोहन यादवसम्म सांसद बन्ने देखिन्छ।

गगनका ससुरा केसी पटक-पटक सांसद र मन्त्री भएका व्यक्ति हुन्। आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि परेकालाई आरक्षण दिने संविधानको मर्म हो। संविधानको मर्मविपरीत सबै हिसाबले अघि रहेका पूर्व स्वास्थ्यमन्त्री केसीलाई नेपाली कांग्रेसले समानुपातिक सांसद बनाउन लागेको हो।

संविधानको हुर्मत लिँदै कांग्रेसले मेडिकल डाक्टर चन्द्रमोहन यादवलाई मधेशी कोटाबाट सांसद बनाउन लागेको छ। हरेक हिसाबले अब्बल सांसद भइसकेका चन्द्रमोहनलाई कांग्रेसले संविधानको मर्मविपरीत समानुपातिक सांसद बनाउन लागेको हो।

कांग्रेसबाट समानुपातिक सांसद बन्न लागेका भिष्मराज आङदेम्बे पनि पूर्व सांसद हुन्। आदिवासी/जनजाति कोटाबाट सांसद बन्न लागेका आङ्देम्बे पनि तरमार वर्गका पर्छन्। सर्वोच्च अदालतको फैसलालाई समेत अनदेखा गरेर नेपाली कांग्रेसले तरमारा वर्गलाई समानुपातिक सांसद बनाउन लागेको हो। कांग्रेसको उक्त कदमले संविधान मर्म र समानुपातिक व्यवस्थाको हुर्मत लिएको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ