“सन्यास सोचदेखि राजीनामासम्म: गगन थापालाई केयूमा पढाउने प्रस्ताव ”
काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशन अगाडि नै राजनीतिबाट सन्यास लिने सोचमा थिए । उत साेच अनुसार थापाले आन्तरिक रूपमा छलफल गरेको तथ्य केही समय अगाडि स्वास्थ्य लाइभले पाएकाे थियाे ।
विश्वासिलो स्रोतका अनुसार विशेष महाधिवेशनअघि नै थापाले आफ्ना निकट ‘कोर टिम’मा पूर्णकालीन राजनीतिबाट अलग हुने विषयमा गम्भीर छलफल गरेका थिए।
थापाले पार्टी र आम नागरिकबाट अपेक्षित विश्वास नपाएको निष्कर्ष निकाल्दै अब राजनीतिमा निरन्तरता दिनु उचित नहुने धारणा राखेका थिए। उनले परिवारलाई समय दिने चाहना पनि त्यही बैठकमा व्यक्त गरेका थिए।
विश्वासिलो स्रोत भन्छ काठमाडौँ विश्वविद्यालयका उपकुलपति डाक्टर अचुत वाग्लेले थापालाई पोलिटिकल इकोनोमिक्स पढाइदिन प्रस्ताव समेत गरेका थिए। थापालाई मासिक २ लाख रुपैयाँसम्म पारिश्रमिक दिने प्रस्ताव समेत राखिएको थियाे । यसले थापाको ‘पोस्ट-पोलिटिक्स’ जीवनको सम्भावित दिशा पनि संकेत गरेको थियो।
तर त्यसपछि थापाले जोखिम मोलेर विशेष महाधिवेशन गराए र पार्टी सभापतिमा निर्वाचित भए। नेतृत्व परिवर्तनको नारासहित देशभर चुनावी अभियान चलाएका थापा अन्ततः अपेक्षाअनुसार नतिजा ल्याउन असफल भए।
प्रतिनिधिसभा निर्वाचनमा अमरेश कुमार सिंहसँग पराजित भएपछि उनको नेतृत्वमाथि चर्को आलोचना भएको थियो। यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए।
निर्वाचन परिणामअनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्र जित्न सफल भयो, जबकि राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य सफलता हासिल गर्दै झन्डै दुई तिहाइ सिट सुरक्षित गरेको छ।
पराजयपछि थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका छन्। राजनीतिबाट सन्यास लिने विषयमा पहिले नै आन्तरिक रूपमा व्यक्त धारणा र अहिलेको राजीनामा घटनाक्रमबीच स्पष्ट सम्बन्ध देखिन थालेको छ। थापाले अघि सारेको नेतृत्व परिवर्तनको एजेन्डा असफल भएपछि उनको ‘सन्यास सोच’ व्यवहारमा रूपान्तरण हुने संकेतका रूपमा यसलाई हेरिएको छ।
ट्याग : ##congress, ##gagan thapa


तपाईको प्रतिक्रिया दिनुहोस