पर्यटन मन्त्रालयका दुई निकाय गाभिए, बनाइयो विकास समिति


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका दुई निकाय गाभिएका छन्। पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)लाई गाभेर एउटै बनाइएको हो।

मन्त्रिपरिषद्को बैठकले एउटै प्रकृतिका दुई संस्थालाई गाभेर एउटै बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान गाभी एकीकृत रूपमा सञ्चालन गर्न नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान विकास समिति (गठन आदेश) स्वीकृत गर्ने निर्णय गरेको हो। अब दुई संस्थालाई गाभेर विकास समितिमा लगिएको छ। एउटै प्रकृतिको दुई संस्था भएकाले गाभेर एउटै बनाइएको हो।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान एक भएसँगै नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश पाण्डेय हाकिमबाट हट्ने भएका छन्। उनी अब तत्कालका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का कार्यकारी निर्देशक दिव्यराज पोखरेलको ‘अण्डर’मा पुग्ने भएका हुन्। पाण्डेयले कार्यालय प्रमुख पद गुमाएर पोखरेलको मातहतमा जाने निश्चित भएको छ।

अहिले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक उपसचिव र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कार्यकारी निर्देशक सहसचिव रहँदै आएका थिए। दुई प्रतिष्ठान मिलेर बनेको विकास समितिको कार्यकारी निर्देशक सहसचिवलाई बनाइनेछ।

क्याटेगोरी : समाचार
ट्याग : #दिव्यराज पोखरेल, #पर्यटन, #रमेश पाण्डेय उपसचिव, #होटल तथा पर्वतीय प्रतिष्ठान विकास समिति

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ