सहसचिव मैनाली घर गए
काठमाडौं। सहसचिव दीर्घराज मैनाली घर गएका छन्। ५८ वर्ष उमेर हदका कारण सहसचिव मैनाली अनिवार्य अवकाशमा गएका हुन्। एमाले सरकारमा हुँदा अर्थमा एकछत्र राज गरेका सहसचिव मैनाली अन्तत अवकाशमा गएका छन्।
वरिष्ठताका आधारमा २५ जना सहसचिवभित्र रहेका मैनाली सचिव नै नभइ अनिवार्य अवकाशमा जान बाध्य भएका छन्। उनी २०७४ बैशाखमा सहसचिव भएका थिए। जागिरे जीवनमा राजस्व र भन्सारमा तरमारेर बसेका मैनाली उत्तरार्धमा राष्ट्रिय सूचना आयोगको सचिवबाट अवकाशमा गएका हुन्। २०५१ सालदेखि सरकारी सेवामा प्रवेश गरेका मैनाली ३२ वर्ष बढी बिताएर अवकाशमा गएका हुन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलका विश्वासपात्र रहेका सहसचिव मैनालीलाई राष्ट्रिय सूचना आयोग पुऱ्याइदिएका थिए। सिंहदरबारबाट त्रिपुरेश्वर पुगेका मैनाली सिंहदरबार नफर्की त्यतैबाट घर गएका छन्।
एमाले सत्ताकाे छायाँमा बसेर मैनाली लामो समय राजस्व अनुसन्धान विभागको महानिर्देशक बन्नेमा पर्छन्। उनले केपी शर्मा ओलीको शक्तिशाली सत्तामा २०७५ जेठ ७ गतेदेखि २०७७ फागुन १८ गतेसम्म झन्डै ३ वर्ष राजस्व अनुसन्धान विभागको कमाण्ड सम्हालेका थिए।
मैनाली राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा उक्त विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा लगिएको थियो। त्यसपछि मैनाली आन्तरिक राजस्व विभागको पनि एक वर्ष बढी महानिर्देशक बन्न सफल भए। २०७९ मंसिर १४ गतेदेखि २०८० माघ २२ गतेसम्म झन्डै १४ महिना आन्तरिक राजस्व विभागको महानिर्देशकको भूमिकामा मैनालीले काम गरे।
एमाले सत्तामा अर्थका निर्विकल्प सहसचिव रहेका मैनालीको अन्तिम समयमा भने विकल्प खोजिएको थियो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखको भूमिकामा रहेका मैनालीलाई विष्णुप्रसाद पौडेलले नै अर्थ मन्त्रालय ल्याएर सबै महाशाखामाथि निगरानी र बजेट निर्माणमा सहजीकरण गर्नेसम्मको जिम्मेवारी दिएका थिए।
भन्सार विभागको महानिर्देशक बन्न खुट्टा उचालेका मैनाली उछिट्टिएर राष्ट्रिय सूचना आयोग पुगे। त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा नपुगी नजिकैको राष्ट्रिय सूचना आयोग पुग्नु उनका लागि निकै कठिन यात्रा थियो। उक्त कठिन यात्रा पनि उनले टुंग्याएका छन्।
अवकाश प्राप्त सहसचिव मैनाली राजेन्द्रप्रसाद भण्डारी नेतृत्वको सम्पत्ति जाँचबुझ आयोगलाई घर बसेरै फुर्सदमा आफ्नो सम्पत्ति परीक्षण गराउन सहज हुने भएको छ।
प्रेेस काउन्सिलकाे निर्देशनमा केही शब्दलाई सम्पादन गरिएको छ । सम्पादक
क्याटेगोरी : समाचार
ट्याग : #दीर्घराज मैनाली


तपाईको प्रतिक्रिया दिनुहोस