अवकाशको मुखमा रहेका सचिवहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जगेडामा
काठमाडौं। सरकारले अवकाशको मुखमा रहेका आधा दर्जन सहसचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याएको छ। कतिपयलाई क्षेत्र हेर्नेगरी व्यवस्थापन गर्न त कतिपयलाई जगेडामा थन्क्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका अधिकांश सचिवहरू ‘कैफियतवाला’ हुन्।
१ महिनापछि (असार २४ गते) अनिवार्य अवकाशमा जान लागेका उपराष्ट्रपति कार्यालयका विवादित सचिव कृष्णहरि पुष्कर कर्ण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जगेडामा तानिएका छन्। मुख्यसचिव वा राजदूत ताकिरहेका कर्णलाई ‘लाजदूत’ बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा थन्क्याइएको हो। उनी १ महिनापछि सचिवको ५ वर्षे कार्यकाल सकिएर अनिवार्य अवकाशमा जानेछन्। सचिव कर्णलाई सरकारले अझै एक महिना झेल्नु पर्नेछ।
एक महिनापछि नै अवकाशमा जान लागेका खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्याल पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जगेडामा तानिएका हुन्। खासै रिजल्ट दिन नसकेका सचिव पौड्याल साउन ६ गते अनिवार्य अवकाशमा जानेछन्। सरकारले उनलाई एक महिना बढी धान्नुपर्ने देखिन्छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जगेडामा तानिएका सचिव हरिप्रसाद मैनालीको जागिर डेढ महिना बढी बाँकी छ। कामै नगर्ने सचिवका दर्ज भएका मैनालीले नतिजा दिन नसकेपछि जगेडामा तानेर थन्क्याइएको हो। लेखापालको इशारामा चल्ने सचिव मैनालीले सार्वजनिक खरिद अनुगमन कार्यालय सञ्चालन गर्न नसकेपछि जगेडामा पुगेका हुन्। मैनाली साउन १९ गते अनिवार्य अवकाशमा जाँदैछन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा सरूवा भएका सचिव गोविन्दप्रसाद शर्माको तीन महिना जागिर बाँकी छ। उनी भदौ २४ गतेसम्म पदमा बहाल रहने भएकालेत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने विशेष गरी जिम्मेवारी दिने तयारी भइरहेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका सचिव डिल्लीराम शर्माको ३ महिना बढी जागिर बाँकी छ। भदौ २ गतेसम्म जागिर रहेका डिल्लीरामलाई स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएको हो। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएकामध्ये सबैभन्दा बढी जागिर खानेमा ३ महिने डिल्लीराम नै पर्छन्।
क्याटेगोरी : समाचारट्याग : #कृष्णहरि पुष्कर कर्ण, #गोविन्दप्रसाद शर्मा, #डिल्लीराम शर्मा सचिव, #लोकनाथ पौड्याल, #हरिप्रसाद मैनाली


तपाईको प्रतिक्रिया दिनुहोस