कैलाश खड्काले यसरी खडा गरे वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट
मेडिकल माफिया खड्कामाथि ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्न सिफारिस
काठमाडौं। मेडिकल माफिया कैलाश खड्काले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट खडा गरेको पाइएको छ। चारवटा स्वास्थ्य संस्था खडा गरेर खड्काले वैदेशिक रोजगारीमा जाने कामदारमाथि शोषण गरिरहेको पाइएको हो। वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा मेडिकल माफिया खड्काले साम्राज्य खडा गरेको पाइन्छ।
स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार कैलाश खड्काले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि चारवटा संस्था खडा गरेका छन्। मेडिकल माफिया खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलमा अनमोल मेडिकल सेन्टर प्राइभेट लिमिटेड र प्रशान्ती हेल्थकेयर प्राइभेट लिमिटेड खडा गरेका छन्। चाबहिलमा डाइग्नेष्टि मेडिकल सेन्टर प्राइभेट लिमिटेड र कोटेश्वरमा हिमालयन डाइग्नोष्टिक क्लिनिक प्राइभेट लिमिटेड खडा गरेर उनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट खडा गरेको पाइएको हो।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा भइरहेको बदमासीको अनुगमन गर्दा चारवटा स्वास्थ्य मेडिकल माफिया खड्काको स्वामित्वमा भेटिएको छ। ३६ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्दा खड्काको मात्र चारवटा स्वास्थ्य संस्था भेटिएको हो।
श्रम मन्त्रालयले गठन गरेको अनुगमन समितिले खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मार्फत ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणका लागि अनुसन्धान गर्न सिफारिस गरेको छ। तर, उक्त प्रतिवेदन श्रम मन्त्रालयबाट गायब भएको चर्चा सुनिन्छ।
२०७३ सालमा कैलाश विकास बैंकको ४ लाख ५४ हजार ८ सय ५२ रुपैयाँ रकम चुक्ता गर्न नसक्ने व्यक्ति कैलाश खड्का हाल विभिन्न स्थानमा चल अचल सम्पत्ति जोडेको तथा चारवटा भन्दा बढी मेडिकल सेन्टरहरू सञ्चालन गरेको साथै अस्वभाविक जीवन यापन गरेको र सम्पत्ति कमाएको आफन्तको नाममा समेत सम्पत्ति जोडेको हुन सक्ने भएकाले विस्तृत अनुसन्धान गर्न सम्बन्धित निकाय (सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा) पठाउन कारबाही सिफारिस गरेको पाइन्छ। तर, शक्तिशाली खड्का कै मिलेमतोमा उक्त सिफारिस गायब बनाइएको चर्चा छ।
स्वास्थ्य संस्थाहरूले कमिसन बापतको रकम मलेसिया हुण्डीमार्फत पठाउने गरेको भन्ने बुझिएकोले यसमा संलग्न कैलाश खड्कालगायतका अन्य संलग्न उपर ठगी, संगठित अपराध, विदेशी मुद्रा विनिमय, राज्यविरुद्धको कसुरलगायत सम्पत्ति शुद्धीकरण तर्फ समेत अनुसन्धान गर्न सिआईबी र सम्बद्ध विकायमा हदैसम्मको कानुनी कारबाहीका लागि पठाउन सिफारिस गरिएको छ। तर, अहिलेसम्म खड्कामाथि कुनै एक्सन भएको छैन।
तत्कालीन मुख्यसचिव एकनारायण अर्याल र श्रमसचिव कृष्णहरि पुष्कर कर्णको सेटिङमा खड्काले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा साम्राज्य खडा गरेका थिए। खड्कासँगको मिलेमतो एकैपटक ३ हजार स्वास्थ्य परीक्षण शुल्क बढाइएको थियो। उक्त कार्यका लागि अर्याल र कर्णले भूमिका खेलेका थिए। तर, पछि उक्त बढेको शुल्क खारेज गरियो। यस्तो गम्भीर बदमासीमा जोडिएका सचिव कर्णमाथि अहिलेसम्म कुनै छानबिन तथा कारबाही भएको छैन। श्रम मन्त्रालय र प्रहरीका प्रतिनिधिले संयुक्त रूपमा चेकजाँच, अनुगमन तथा निरीक्षण गरेर कारबाहीको सिफारिस गरेका खड्का पनि अहिले खुलेआम हिँडिरहेका छन्। उक्त प्रतिवेदन कार्यान्वयनमा ढिला हुँदा उनले चलखेलको मौका पाइरहेका हुन्।
खड्का नेपाली कामदारबाट अर्बौ रुपैयाँ ठगीको आरोपमा मुद्दा लागेका व्यवसायी समेत हुन्। खड्काकै लगानीको वेलकेयर अस्पताल र डाग्नोस्टिक मेडिकल सेन्टरलाई ४ करोड ४९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो। अवैध ल्याबसँग हिमालय एयरलाइन्सको सेटिङ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने नागरिकहरुको ¥यापिड पिसिआर परीक्षणमा सेटिङ मिलाएको समाचार स्वास्थ्य लाइभले प्रकाशित गरेको थियो। खड्काले विमानस्थलमा अवैध रुपमा चलाएको क्रिष्टल डायग्नोष्टिक ल्याबमार्फत हिमालय एयरलाइन्समा सेटिङ मिलाएको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरेपछि प्रहरीले छापा समेत माऱ्यो। तर कुनै ठूलो एक्सन भएन। अहिले पनि उनै कैलाश खड्का जोडिएको गम्भीर प्रकृतिको प्रतिवेदन चर्चामा आएको छ। उक्त प्रतिवेदन कार्यान्वयनका लागि सिआईबी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जस्ता निकाय सक्रियतापूर्वक लाग्नु पर्ने देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #कैलाश खड्का


तपाईको प्रतिक्रिया दिनुहोस