अवैध ल्याबसँग हिमालय एयरलाइन्सको सेटिङ, सार्वजनिक रुपमै भन्यो, ‘हाम्रो आधिकारिक ल्याब क्रिष्टल हो।’, प्रमाण खोज्ने स्वास्थ्यमन्त्रीले अवैध ल्याब बन्द गर्छन् या संरक्षण ?

बोर्डबाट नोटिस गर्नु भनेकाले हामीले हाम्रो आधिकारिक ल्याब क्रिष्टल हो भनेर सूचना जारी गरेका हौंः हिमालय एयरलाइन्स


काठमाडौं । नेपाली कामदारबाट अर्बौ रुपैयाँ ठगीको आरोपमा फरार सूचीमा परेका मेनपावर व्यवसायी कैलाश खड्काको पहुँच र प्रभावमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने नागरिकहरुको ¥यापिड पिसिआर परीक्षणमा अर्को सेटिङ मिलाएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका उच्च अधिकारीहरुलाई धम्कि दिँदै फरार सूचीमा परेका खड्काले विमानस्थलमा अवैध रुपमा चलाएको क्रिष्टल डायग्नोष्टिक ल्याबमार्फत हिमालय एयरलाइन्समा सेटिङ मिलाएको स्वास्थ्य लाइभले फेला पारेको छ ।

गत अक्टोबर १८ मा हिमालय एयरलाइन्सका सेल्स अधिकृत बसन्त न्यौपानेले पठाएको एउटा इमेलसमेत स्वास्थ्य लाइभले फेला पारेको छ । हिमालय एअरलाइन्सले दुबई काठमाडौं र काठमाडौं दुबई जाने नागरिकहरुको कोरोना जाँच क्रिष्टल डायग्नोष्टिक ल्याबमा मात्रै गर्न उर्दी नै जारी गरेको छ । यसले ठगी आरोपित खड्काले उच्च तहसँग मोटो रकम दिएर सेटिङ गरेको स्पष्ट भएको छ ।

क्रिष्टल ल्याब नेपाली कामदारबाट अर्बौ रुपैयाँ ठगीको आरोपमा फरार सूचीमा परेका मेनपावर व्यवसायी कैलाश खड्काको हो । उनको वेलकेयर अस्पताल सरकारले बन्द गराएको छ । अस्पताल बन्द गराएपछि उनी प्रयोगशालाको अवैध काममा जुटेको अधिकारीहरु बताउँछन् । ठगी आरोपमा प्रहरीले मुद्दा दायर गरेपनि खड्कालाई जिल्ला अदालतले उन्मुक्ति दिएको थियो । सर्वोच्चमा उनको मुद्दा अझै विचाराधीन अवस्थामा छ ।         

नेपालमा प्रयोगशाला सञ्चालन गर्न वा शाखा विस्तार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिएको हुनुपर्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति नलिएको र अनुगमन नभएको ल्याब सञ्चालन गर्नु अवैध कार्य हो ।

खड्कालाई अवैध ल्याब .चलाउन नेपाल एयरलाइन्सका सिइओ डिम प्रकाश पौडेलको आर्शीवाद दिएका थिए भने, हालै हिमालय एयरलाइन्समा पनि सेटिङ मिलाएको स्वास्थ्य लाइभले फेला पारेको हो । आफूअनुकूल नभए बिचौलियालाई प्यासेन्जर जस्तो गरी अन्य ल्याबका प्रयोगशाला तोडफोडमासमेत पठाउने गरेको पाइएको छ ।

०७६ सालमा मलेसिया जाने कामदारबाट ५ अर्ब ठगी गर्नेहरूविरुद्ध सरकारले कारबाही चलाउँदा खड्का फरार भएका थिए । महासंघले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी २ अर्ब रुपैयाँ ठगी गरेको सरकारले नै गरेको अनुसन्धानबाट खुलेको थियो ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा माइग्राम्स र बायोमेट्रिक नामका सिन्डिकेट खडा गरी १ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रमाण सरकारसँग छ । गत ६ जेठ ०७५ मा कामदार ठगीमा संलग्न विभिन्न कम्पनीहरूमा प्रहरीले छापा मारी ४८ जनालाई पक्राउसमेत गरेको थियो । ४२ जनाविरुद्ध सरकारले ठगीमा मुद्दासमेत चलाएको थियो ।

त्यसलगत्तै फरक भएका खड्का लामो समयसम्म प्रहरीको फरार सूचीमा रहे । उनीसँगै ठगी मुद्दामा प्रतिवादी बनाइएका केही अभियुक्तले अदालतबाट सफाइ पाएपछि खड्कालेसमेत अदालतमा गएर सरेन्डर गरेका थिए । पछि खड्कालाई जिल्ला अदालतले उन्मुक्ति दियो । खड्काकै लगानीको वेलकेयर अस्पताल र डाग्नोस्टिक मेडिकल सेन्टरलाई ४ करोड ४९ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो ।

स्वास्थ्य लाइभले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसंगतीलाई समाजमा जस्ताको त्यस्तै उतार्ने जमर्को गरिरहेको छ । गत मंगलबार ‘विमानस्थलमा नाङ्गलो पसलझैँ अवैध पिसिआर ल्याब, स्वास्थ्य मन्त्रालय रमिते बन्दा रिपोर्ट गुणस्तरमै शंका’ शीर्षकमा स्वास्थ्य लाइभले मंगलबार समाचार प्रकाशित गरेको थियो ।

बुधबार पुनः ‘अर्बौ ठगी गरी प्रहरीको फरार सूचीमा परेका व्यक्तिकै सेटिङ्मा दुबई जानेको अवैध पिसिआर परीक्षण, नेपाल एयरलाइन्सका सिइओकोसमेत संलग्नता भएको आशंका’ शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रहरीले नाङ्गलो पसलझैँ खुलेका अवैध पिसिआर ल्याबमाथि गत बुधबार छापा मारेको थियो ।

त्यस्तै बिहिवार स्वास्थ्य मन्त्रालयको निर्देशनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली गएर अनुगमन गरेको थियो । त्यसको रिपोर्ट तीनदिन भित्र पेश गर्न भनिए पनि हालसम्म त्यो रिपोर्ट अनुगमन टोलीले बुझाएको छैन । प्रयोगशाला र मन्त्रालयका अधिकारीहरुमाथि माफियाको निरन्तर दबाबले अवैध ल्याबमाथिको कारबाही ढाकछोप हुने आशंका बढेको छ । तर, स्वास्थ्य लाइभले यसबारे विशेष निगरानी जारी राखेको छ ।

कारबाही गर्न प्रमाण खोजेका स्वास्थ्य मन्त्री विरोध खतिवडाले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवैध ल्याबमाथि के गर्छन हेर्न बाँकी छ । मन्त्रालय स्रोतकाअनुसार सेटिङ् भत्काउने पक्षमा मन्त्री देखिएका छैनन् । बरु उनीहरु कागजात मिलाएर पन्छिने पक्षमा देखिएका छन् । स्वास्थ्यमन्त्री खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेलको यो अग्नी परिक्षा हो ।

उच्च अधिकारीहरुको निर्णयले क्रिष्टल हाम्रो अधिकारीक ल्याब हो भनेको हौंः एअरलाइन्स
बसन्त न्यौपाने
सेल्स अफिसर, हिमालय एयरलाइन्स

क्रिष्टल डायग्नोष्टिक ल्याव अवैधानिक हो, भन्ने कुरा हामीलाई जानकारी छैन । उसले कागजपत्र पेश गरेका आधारमा हामीले अनुमति दिएका हौं । बोर्डबाट नै हाम्रो आधिकारिक ल्याब क्रिष्टल हो । सबैलाई यहाँ मात्रै परीक्षणको सर्कुलर गर्न निर्देशन भएअनुसार हामीले जनतामाझ सूचना निकालेका हौं । यदी दर्ता नभएको खण्डमा हामीले यसलाई पनर्विचार गर्छौं । शनिबार र आइतबार अफिस बिदा भएकाले सोमबार हामी यसबारेमा छलफल गर्ने छौं । हामीलाई जानकारीमा आएअनुसार क्रिष्टलमा जस्तो परीक्षण गर्ने प्रविधि अन्य ल्याबमा नभएकाले पनि गुणस्तरका लागि यो निर्णय गरेको हुनुपर्छ । तर, ल्याव अवैध भए हामी त्यसलाई रद्द गर्छौं ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ