सानो घटनाबाट ठूलो पाठ : अब आक्रोश होइन, संयम रोजौँ


काठमाडौंको त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाले एउटा गम्भीर सामाजिक प्रश्न उठाएको छ– हामी साना विवाद र असहमतिलाई कसरी सामना गरिरहेका छौँ?

सोमबार त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालकाे निधन भएको छ । घटनाअघि चालक र ट्राफिक प्रहरीबीच जरिबानाको विषयमा विवाद भएको विवरण सार्वजनिक भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकले नै बसमा आगो लगाएको देखिएको छ। घटनाको वास्तविक कारणबारे भने थप अनुसन्धान भइरहेको छ।

यही घटनालाई लिएर Surya Paints & Chemicals का प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद सुवेदीले सामाजिक सञ्जालमार्फत सानो घटनाबाट ठूलो पाठ सिक्नुपर्ने बताएका छन्।

सुवेदीले पछिल्लो समय समाजमा साना–साना कुरामा पनि मानिसहरू छिटो आक्रोशित हुने प्रवृत्ति बढ्दै गएको बताएका छन्। उनका अनुसार व्यक्तिगत, पारिवारिक, आर्थिक वा सामाजिक समस्याबाट उत्पन्न तनावलाई अरूमाथि आक्रोशका रूपमा पोख्दै जाने हो भने समाज झन् अस्वस्थ बन्दै जान्छ।

“हामी नेपालीहरू साना–साना कुरामा पनि किन यति छिटो आक्रामक हुँदै गइरहेका छौँ?” सुवेदीले प्रश्न गरेका छन्।

उनले यो प्रश्न एउटा व्यक्तिको व्यवहारमा मात्र सीमित नरहेको बताएका छन्। पछिल्ला वर्षहरूमा सार्वजनिक जीवन, राजनीतिक बहस, सामाजिक सञ्जालदेखि दैनिक व्यवहारसम्म असहमति व्यक्त गर्ने शैलीमा समेत आक्रामकता बढ्दै गएको उनको भनाइ छ।

सुवेदीले नेतृत्वदेखि सामान्य नागरिकसम्म सबैले आफ्नो बोली र व्यवहारबारे सोच्नुपर्ने बताएका छन्। राज्य सञ्चालन गर्ने नेतृत्व, प्रशासन, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी वा सामान्य नागरिक सबैले आक्रोशभन्दा संयम रोज्नुपर्ने उनको धारणा छ।
उनले असहमति राख्न, प्रश्न गर्न र गलत कुराको विरोध गर्न सकिने तर त्यसका लागि सम्मानजनक भाषा र व्यवहार आवश्यक हुने बताएका छन्।

“असहमति राखौँ, प्रश्न गरौँ, गलत कुराको विरोध गरौँ–तर सम्मानका साथ,” उनले भनेका छन्।

सुवेदीका अनुसार सानो कुरामा रिस उठ्दा केही समय रोकिएर सोच्ने, बोल्नुअघि विचार गर्ने र समस्या हुँदा आक्रोशको सट्टा समाधान खोज्ने संस्कार विकास गर्न आवश्यक छ।

त्रिपुरेश्वरको घटनाको वास्तविक कारण अनुसन्धानबाट खुल्दै जानेछ। तर यसले विवाद र असहमतिलाई संयमित ढंगले सामना गर्ने संस्कारबारे भने गम्भीर प्रश्न उठाएको छ।
सानो घटनाबाट ठूलो पाठ सिक्दै आक्रोश होइन, संयम रोज्नुपर्ने सुवेदीको आग्रह छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ