घुस काण्ड छानबिन हुञ्जेल गण्डकी प्रदेशका स्वास्थ्य सचिव बसौला मुख्यमन्त्री कार्यालय तानिए
काठमाडौं। घुस काण्डको छानबिन हुञ्जेलसम्मका लागि गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. युवानिधि बसौला मुख्य तथा मन्त्रिपरिषद्को कार्यालय तानिएका छन्। पोखराको पद्य नर्सिङ होमलाई ५० स्तरवृद्धि गरी १०० शय्याको अनुमति दिँदा २५ लाख रुपैयाँ घुस दिएको काण्ड मच्चिएपछि प्रदेश सरकारले छानबिन थालेको छ। छानबिन समिति नै गठन गरेर छानबिन थालेपछि स्वास्थ्य सचिव बसौलालाई मुख्य तथा मन्त्रिपरिषद्को कार्यालय तानिएको हो। उक्त विषयमा छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेल उक्त घुस काण्डमा मुछिएका छन्। उक्त अस्पतालको स्तरोन्नतिका क्रममा २५ लाख घुस मागेको आरोप लागेपछि स्वास्थ्य मन्त्रालयका सचिव डा. बसौलामाथि पनि छानबिन हुने भएको छ। प्रदेश सरकारले छानबिन थालेपछि सचिव बसौलाको जिम्मेवारी खोसिएको हो।
स्वास्थ्य मन्त्रालयबाट पहिलेको २ वर्षमा प्रदान गरिएका अनुमति वा अस्पतालको स्तरोन्नतिको कानुनी व्यवस्था, अभ्यास लगायतका विषयमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले जानकारी दिए। समिति गठन भएपछि स्वास्थ्य सचिव बसौलालाई मुख्यमन्त्री कार्यालय तानेर आवश्यक छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरिएको प्रदेश सरकारको भनाइ छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस