सहसचिव सिडिओ भएका सिराहा र गुल्मीमा सिडिओ रिक्त
काठमाडौं। सहसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएका सिराहा र गुल्मीमा सिडिओ रिक्त भएका छन्। सिराहाका सिडिओ सुरेन्द्र पौडेल गृह मन्त्रालय तानिएका छन्। त्यस्तै गुल्मीको सिडिओ बद्रीनाथ गैह्रे पूर्वाधार विकास मन्त्रालयमा सरूवा भएका हुन्। गैह्रेले मन्त्रालय नै छाडेर गएपछि गुल्मीमा सिडिओ रिक्त भएको छ। सिराहाका पौडेल मन्त्रालय तानिएपछि उक्त जिल्लामा पनि सिडिओ रिक्त भएको हो।
सिराहा गोली काण्डमा कारबाही सिफारिस भएका पौडेल गृह मन्त्रालय तानिएका छन्। गत कार्तिकमा सिराहाको सिडिओ भएका पौडेल करिब ११ महिना उक्त जिल्लामा बसे। उनी बर्दियाबाट सिराहाको सिडिओमा सरूवा भएर आएका हुन्। ५ महिना बर्दिया बसेर सिराहा पुगेका पौडेलसँग चितवनलगायतका जिल्लामा पनि सिडिओ चलाएको अनुभव छ। उनी मधेश प्रदेश बसेर गृह भित्रिएका थिए। तर, पौडेललाई गृहको जागिर महँगो पर्न गएको देखिन्छ।
गृह मन्त्रालयमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहसचिव एकदेव अधिकारी र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट मोतिराम सापकोटा गृह मन्त्रालय भित्रिएका छन्। रिक्त सिडिओ व्यवस्थापन गर्न गृहलाई सहज नै हुने देखिन्छ।
यता उपसचिव सिडिओ रहेको तेह्रथुमबाट बन्दना राईको समेत सरूवा भइसकेको छ। राईको स्थानीय तहमा सरूवा भएपछि उक्त जिल्लामा पनि गृहले नयाँ सिडिओ पठाउनु पर्ने हुन्छ। सहसचिवको दरबन्दी भएका दुई र उपसचिवको दरबन्दी रहेको १ गरी तीन जिल्लामा गृहले सिडिओ व्यवस्थापन गर्नुपर्ने भएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #बद्रीनाथ गैह्रे, #सुरेन्द्र पौडेल


तपाईको प्रतिक्रिया दिनुहोस