तामाङ समुदायबाट प्रशासन सेवाको सचिव बन्ने पहिलो व्यक्ति रूद्रसिंह 


काठमाडौं। रूद्रसिंह तामाङ उक्त समुदायबाट नेपाल प्रशासन सेवाको सचिव बन्ने पहिलो व्यक्ति बनेका छन्। असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले रूद्रसिंह तामाङलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। सरकारले उनको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदस्थापन गरेको छ। सचिवमा बढुवा हुनेबित्तिकै तामाङले संघीय मन्त्रालय हाँक्ने मौका पाएका हुन्।

२०३१ साल मंसिर १७ गते नुवाकोटको पञ्चकन्यामा जन्मिएका तामाङ उक्त समुदायबाट नेपाल प्रशासन सेवाको पहिलो सचिव बन्न सफल भएका छन्। २०७१ फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवाको सहसचिव बनेका तामाङ त्यसको १२ वर्षपछि सचिव भएका हुन्। २०६६ सालमा आदिवासी/जनजाति कोटाबाट रूद्रसिंह तामाङ नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिव भएका थिए। सहसचिवमा भने उनी आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल भए। सचिव भएपछि उनको पहिलो पदस्थापन नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको हो।

रूद्रसिंह तामाङ सहसचिव हुँदा पर्यटन विभाग, अध्यागमन विभाग, काठमाडौं महानगरपालिका जस्ता निकायमा बसेर काम गरिसकेका छन्। काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी निर्देशक हुँदा उनी। मेलम्ची खानेपानी प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर केही समय निलम्बनमा परे। रूद्रसिंहविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दा उनी अध्यागमन विभागको महानिर्देशकको भूमिकामा थिए। भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि उनी काममा फर्किए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लामो समय काम गरेका रूद्रसिंह पछिल्लो समय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा कार्यरत थिए। कुलमान घिसिङ ऊर्जा मन्त्री भएपछि उक्त मन्त्रालय पुगेका रूद्रसिंह त्यहिँबाट सचिवमा बढुवा भएका हुन्।

उपसचिव हुँदा नुवाकोट र धादिङको स्थानीय विकास अधिकारी एलडिओ) भएर काम गरेका रूद्रसिंह तामाङ स्थानीयमा ‘भिजेका’ कर्मचारी हुन्। उनी काठमाडौं महानगरपालिकामा लामो समय बसे। पर्यटन विभागमा पनि रमाए। अध्यागमनमा भने भ्रष्टाचार मुद्दा लागेकाले उनले लामो समय काम गर्न पाएनन्। उनी गएको कार्यालयमा जमेरै लामो समय टिकेको पाइन्छ।

रूद्रसिंह अगाडि तामाङ समुदायबाट सचिव बन्ने व्यक्ति चाहिँ धनबहादुर तामाङ हुन्। तर, धनबहादुर प्राविधिक (इन्जिनियरिङ क्लष्टरका) सचिव हुन्। नेपाल सरकारको विशिष्ट श्रेणीमा पुग्नेमा धनबहादुरपछि रूद्रसिंह आएपनि प्रशासनको सहसचिवमा भने उनी पहिलो बनेका छन्। रूद्रसिंहले पूरा कार्यालय सचिव चलाउने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #धनबहादुर तामाङ, #रूद्रसिंह तामाङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ