मुख्यसचिव अर्यालसहित ६ सचिव यसैमहिना अवकाशमा जाने


काठमाडौं। मुख्यसचिव सुमनराज अर्यालसहित ६ सचिव असारभित्रै (यसैमहिना) अवकाशमा जाने सूचीमा छन्। मुख्यसचिव अर्यालसहित सचिवहरू चिरञ्जीवी चटौत, प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण र खगेन्द्रप्रसाद नेपाल असारभित्रै अवकाशमा जाने भएका हुन्। मुख्यसचिव अर्याल र सचिव चटौत ५८ वर्षे उमेर हद र सचिवहरू बज्राचार्य, बुर्लाकोटी, कर्ण र नेपाल पाँच वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने सूचीमा छन्। यिनीहरूमध्ये बज्राचार्य र कर्ण उपससचिव र सहसचिवमा आरक्षणलाई भ्याऱ्याङ बनाएर सचिव बनेका हुन्।

मुख्यसचिव अर्याल ५८ वर्ष पूरा भएर असार २५ गते अवकाशमा जाने भएका छन्। २०२५ असार २६ गते काठमाडौंको जोरपाटीमा जन्मिएका अर्याल ३ वर्ष मुख्यसचिव नचलाई अवकाशमा जान लागेका हुन्।

२०८२ मंसिर ८ गते मुख्यसचिवमा बढुवा भएका अर्याल करिब ८ महिला मुख्यसचिवको जिम्मेवारीमा रहेर अनिवार्य अवकाशमा जान लागेका छन्। उनी मुख्यसचिव नभएको भए माघ १८ गते (पाँच महिना अगाडि) नै सचिवको पाँच वर्षे कार्यकाल सकेर घर जाने थिए। मुख्यसचिव भएपछि अर्याल थप पाँच महिना निजामती सेवामा रहे। उनले ठूलो कुरा गर्न नसकेपनि केही बिगारेका छैनन्।

केन्द्रीय तथ्याङ्क विभागको महानिर्देशक हुँदै सचिवमा बढुवा भएका अर्याल कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, राष्ट्रिय योजना आयोगको सचिव, रक्षा मन्त्रालयको सचिवलगायत चलाएर अनुभव बटुलेका छन्। तथ्याङ्कबाट आएर मुख्यसचिव बन्ने अर्याल पहिलो व्यक्ति हुन्। उनी अब घर जाने तयारीमा छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरूवा भएका सचिव चिरञ्जीवी चटौत असार १४ गते अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पूरा भएर उनी अनिवार्य अवकाशमा जान लागेका हुन्। २०८२ असार १० गते सचिवमा बढुवा भएका चटौत एक वर्ष सचिव चलाएर घर जाने तयारीमा छन्। अब उनको जागिर दुई हप्ता पनि बाँकी छैन।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य असार १६ गते अनिवार्य अवकाशमा जाँदैछिन्। उनी सचिवको ५ वर्षे कार्यकालका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन्। २०७८ असार १७ गते सचिवमा बढुवा भएकी बज्राचार्य आरामले ५ वर्ष सचिव चलाएर घर जान लागेकी हुन्। हालै उक्त मन्त्रालयको प्रशासनिक कमाण्ड सम्हाल्न पुगेकी सचिव बज्राचार्य अवकाशको दिन कुसेर बसेकी छिन्।

निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटी पनि असार महिनामै अवकाशमा जाने सूचीमा छन्। उनी ५ वर्ष सचिव चलाएर असार २० गते अनिवार्य अवकाशमा जान लागेका हुन्। २०७८ असार २१ गते सचिवमा बढुवा भएका बुर्लाकोटी ‘भकुण्डो’ जस्तै भएर निर्वाचन आयोग पुगेका हुन्। अब भने उनी निर्वाचन आयोगबाटै अवकाशमा जाने सम्भावना बढेको छ। बुर्लाकोटी भदौ २६ गते ५८ वर्ष पूरा हुन्छन्। त्योभन्दा पहिला सचिवको ५ वर्षे सेवा अवधि पूरा गरेर उनी घर जान लागेका हुन्।

चर्चित र विवादित सचिव कृष्णहरि पुष्कर कर्ण असार २३ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा थन्क्याइएका सचिव कर्ण ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्। निजामती प्रशासनका चतुर सचिव कर्ण प्रदेश नै नगइकन घर जान लागेका छन्। दोहोऱ्याएर अर्थ सचिव बनेका कर्ण ‘मुसाले तार काटेपछि’ अर्थमा चम्किएका थिए। २०७८ असार २४ गते सचिवमा बढुवा भएपछि सुरूमै राजस्व सचिवको ‘पोष्टिङ’ भेटेका कर्ण त्यहिँबाटै अर्थ सचिव बन्न सफल भए। त्यो समयमा अर्थमा भित्रिन बिचौलिया (कर्ण कै भाषामा प्रशासकीय सदजकर्ता) दिपक भट्टको निगाह चाहिन्थ्यो। उनैलाई प्रयोग गरेर कर्ण प्रदेश नगइ राजस्व सचिव बनेका थिए।

मेडिकल माफिया कैलाश खड्काको सेटिङमा उनी श्रम सचिव बने। त्यसकाे गुन तिर्न उनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क एकैपटक ३ हजार बढाइदिए। त्यसपछि उपराष्ट्रपति कार्यालयमा पुगेका सचिव कर्ण प्रधानमन्त्रीसँग मुख्यसचिव वा राजदूतको बार्गेनिङ गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका हुन्। सचिव कर्णको उमेर ५२ भएपनि ३० वर्षे सेवा अवधि पूरा हुन लागेको छ। त्योभन्दा अगावै उनी ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपाल असारभित्रै अनिवार्य अवकाशमा जाँदैछन्। २०७८ असार २८ गते विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएका फरक क्षमताका नेपाल ५ वर्ष बिताएर घर जान लागेका हुन्। उनी असार २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। ५ वर्ष एउटै कुर्सीमा बसेका नेपाल अवकाशमा गएसँगै उक्त कुर्सीको औचित्य पनि समाप्त हुन्छ। सचिव नेपालको अवकाशसँगै उक्त विशेष दरबन्दी पनि स्वतः खारेज हुनेछ।

नयाँ वर्ष लागेपछि नयाँ प्रधानमन्त्री पाएको मुलुकले असारभित्रै नयाँ मुख्यसचिव पाउनेछ। उमेर, क्षमता, इमान्दारिता सबै हेरेर बालेन सरकारले नयाँ प्रशासनिक नेतृत्व ल्याउने सम्भावना छ। सम्भवतः ५५ वर्ष उमेर नपुगेको र ३० वर्षे सेवा अवधि पनि नभएको नेपाल सरकारको मुख्यसचिव बन्ने देखिन्छ। यो महिना (असार) प्रशासनिक नेतृत्व (मुख्यसचिव) फेरिने महिना पनि हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #असारभित्रै अवकाशमा जाने, #कृष्णहरि पुष्कर कर्ण, #खगेन्द्रप्रसाद नेपाल, #चिरञ्जीवी चटौत, #प्रमिलादेवी शाक्य बज्राचार्य, #मधुसूदन बुर्लाकोटी, #सुमनराज अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ