को-को बढुवा होलान् न्याय समूहका दुई सचिव?


काठमाडौं। नेपाल न्याय सेवा, न्याय समूहको विशिष्ट श्रेणी (सचिव) सरहको दुई पद रिक्त भएको छ। न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको एक रजिष्ट्रार पद रिक्त भएको हो। न्याय परिषद्को सचिव जीतेन्द्रबाबु थपलिया उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि उक्त पद रिक्त भएको छ। न्याय परिषद्को निमित्त सचिवको जिम्मेवारी रामप्रसाद भट्टराईले सम्हालिरहेका छन्। त्यस्तै सर्वोच्च अदालतको रजिष्ट्रार (सचिवसरह) मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएकाले उक्त पद पनि रिक्त हुन पुगेको हो।

न्याय समूहका दुई सचिव बढुवामा ४ जना सहसचिवबीच प्रतिस्पर्धा हुनेछन्। एकैदिन सहसचिव भएका गजेन्द्रबहादुर सिंह, ठगिन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाल सचिव बढुवाका मुख्य दाबेदार हुन्। उनीहरू २०७४ जेठ १९ गते एकैदिन सिंह, कट्टेल, भट्टराई र दाहाल न्याय समूहको सहसचिव बनेका थिए। उनीहरूमध्ये २ जना सचिव बन्नेछन्।

बढुवा प्रक्रिया अनुसार पहिलो सिफारिसमा गजेन्द्रबहादुर सिंह, ठगिन्द्र कट्टेल, रामप्रसाद भट्टराईको नाम पर्नेछ। बढुवाका लागि ३ जनाको नाम सिफारिस गर्नुपर्ने भएकाले पहिलो लटमा वरिष्ठताका आधारमा सिंह, कट्टेल र भट्टराईको नाम सिफारिस हुनेछ। उनीहरूमध्ये एकजना सचिवमा बढुवा भएपछि दोस्रो सिफारिसमा बाबुराम दाहालको नाम समावेश हुनेछ। दुई सिफारिसमै बढुवा प्रक्रिया टुंगिने भएकाले सचिव बढुवाको खेल ४ जनाबीच कै प्रतिस्पर्धामा सीमित हुनेछ।

विगतको परम्परा हेर्दा सिंह र कट्टेल सचिव हुनेछन्। लगातर तेस्रोमा सिफारिस भएकालाई सचिव बनाउँदा पनि भट्टराई र दाहाल सचिवमा बढुवा हुने देखिन्छ। ३०-५५ को मापदण्डले भने सिंहबाहेक अरुलाई असर पार्न सक्छ।

सचिव बढुवाका लागि एक नम्बरमा रहेका सिंह फैसला कार्यान्वयन निर्देशनालयको महानिर्देशकको भूमिका छन्। कट्टेल र दाहाल सर्वोच्च अदालतको सहरजिष्ट्रारको भूमिकामा छन्। भट्टराई न्याय परिषद्का निमित्त सचिव हुन्।

न्याय समूहमा वरिष्ठताका आधारमा गजेन्द्रबहादुर सिंह, ठगिन्द्र कट्टेल, रामप्रसाद भट्टराई, बाबुराम दाहाल, श्रीलाल पौडेल, वेदप्रसाद उप्रेती, अशोकककुमार क्षेत्रीलगायत सहसचिव रहेका छन्। यिनीहरूमध्ये क्षेत्रीले कानुनमा पिएचडी गरेका छन्।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #गजेन्द्रबहादुर सिंह, #ठगिन्द्र कट्टेल, #बाबुराम दाहाल, #रामप्रसाद भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ