नेपाली सेनाकी नर्स सुफल केसीलाई सैनिक ऐनअनुसार कारबाही गर्न अख्तियारको निर्देशन
काठमाडौं। नेपाली सेनाकी नर्स (सहसेनानी) सुफल केसीलाई सैनिक ऐनअनुसार कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्देशक दिएको छ। अख्तियारका उनका पति नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीविरूद्ध घुस र सम्पत्ति शुद्धीकरणमा विशेष अदालतमामा मुद्दा गरेको छ। घुस बापतको जग्गा लुकाउन भूमिका खेल्ने अधिकारीकी श्रीमती सुफल केसीलाई पनि सैनिक ऐनअनुसार कारबाही गर्न निर्देशन दिएको हो। केसी नेपाली सेनाको अस्पतालमा कार्यरत नर्स (सहसेनानी) हुन्।
अधिकारीले सुफल केसीको मतसल्लाहमा एक करोड एकहत्तर लाख रुपैयाँ घुस लिएको दाबी गर्दै उनको नाममा ललितपुरमा १३ आना जग्गा खरिद गरेको भनेर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ। घुस बापकको रकमबाट किनेको उक्त जग्गा केसीको नाममा रहेको भन्दै केसीलाई अनुसन्धान कारबाही गर्न रक्षा मन्त्रालय र जंगी अड्डालाई अख्तियारले लिखित निर्देशन दिएको हो।
अख्तियारले भनेको छ, ‘निज सुफल के.सी. नेपाली सेनाको प्राविधिक सहसेनानी पदमा कार्यरत रहेको देखिएको हुँदा नेपालको संविधानको धारा २३९ को उपधारा (१) को प्रतिबन्धात्मक वाक्यांशमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ४ को खण्ड (क), सैनिक ऐन, २०६३ समेतका प्रचलित संवैधानिक तथा कानुनी व्यवस्थाको रोहमा आवश्यक अनुसन्धान कार्य गर्न उपयुक्त देखिएकोले निज सहसेनानी सुफल के.सी.को हकमा नेपाल सरकार रक्षा मन्त्रालय तथा नेपाली सेना जंगी अड्डामा आवश्यक अनुसन्धान कारबाही गर्न लेखी पठाउने भनी निर्णय भएको व्यहोरा अनुरोध छ।’,
यस्तो छ अख्तियारको आरोपपत्र
निज सुफल के.सी.को पति प्रतिवादी राष्ट्रसेवक प्रदीप अधिकारी रहेको देखिन्छ। निज प्रदीप अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणमा माथि तालिका नं. 1 मा विस्तृत उल्लेख गरेबमोजिमको सार्वजनिक पद तथा ओहदामा कार्यरत रहँदा माथि तालिका नं. 2, 3, 4, 5 समेतमा विस्तृत विश्लेषण गरिएबमोजिमका नेपाल नागरिक उड्डयन प्राधिकरणवाट सञ्चालन भएका ठेक्काहरूमा ठेक्का स्वीकृति, रेखदेख, भुक्तानीलगायतको जिम्मेवारीमा रहेका प्रतिवादी प्रदीप अधिकारीले आफ्नो पद तथा ओहाेदाको दुरुपयोग गरी गराई उक्त ठेक्का प्राप्त गरेका प्रेमप्रकाश ढकाल, वासु खड्का, ध्रुवप्रसाद तिमल्सिना सञ्चालक रहेको उमा एन्ड कम्पनी प्रा.लि. (जे.भी.समेत) ले रकम रु. 3,08,57,43,178।85 (अक्षरेपी तीन अर्ब आठ लाख सन्ताउन्न लाख त्रिचालीस हजार एक सय अठहत्तर रुपैयाँ पचासी पैसा) भन्दा बढी रकमबराबरको ठेक्का र प्रतिवादी प्रेमप्रकाश ढकाल सञ्चालक रहेको गायत्री निर्माण सेवासमेतले करिब रु. 1,11,83,001।01 (अक्षरेपी एक करोड एघार लाख त्रियासी हजार एक रुपैयाँ एक पैसा) भन्दा बढी रकमको ठेक्काहरू दिए दिन लगाई उक्त ठेक्काहरूमा सहजीकरसमेत गरे गराएको/गर्न गराउन जम्मा रु. 1,71,00,000।–(अक्षरेपी एक करोड एकहत्तर लाख) निज सुफल के.सी.को मतसल्लाहमा निजको श्रीमान् प्रदीप अधिकारीले घुस रिसवतबापत प्रतिवादीहरू प्रेमप्रकाश ढकालसमेतबाट लिन सहमत भएको तथ्य देखिन्छ। निज सुफल के.सी.को नाममा खरिद गरेको उक्त जिल्ला ललितपुर, ललितपुर नगर ५ क्ष स्थित कि.नं.२२४, क्षेत्रफल 0-13-0-0 जग्गाको बजार मूल्य हेर्दा कुमारी बैंकको आधिकारिक मूल्यांकनकर्ता ISHUKHUSHI CONSULTANT ले रु. 3,34,16,000।–(तीन करोड चौँतीस लाख सोह्र हजार) मूल्यांकन गरेको देखिएको र हालसम्म संकलित प्रमाणहरू बमोजिम माथि तालिका नं. 8 मा विस्तृत विश्लेषण गरिएबमोजिम उक्त जग्गाको खरिद बिक्री रु. 75,00,000।–(अक्षरेपी दुई करोड पचहत्तर लाख) देखिएकोमा निज सुफल के.सी.समेतको संलग्नतामा भ्रष्टाचारजन्य कार्य घुस रिसवतबापत प्राप्त उक्त रकम रु. 171,00,000।–(अक्षरेपी एक करोड एकहत्तर लाख) सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने बदनियतले उक्त जग्गाको राजीनामा लिखतमा थैली रकम रु. 91,00,000।– (एकानब्बे लाख) कायम गरी गराई वास्तविक कारोबार भएको रकम बदनितयतपूर्वक लुकाई सरकारी लिखत र सोमा उल्लिखित रकमको स्राेत र कारोबारसमेत वैधानिक र स्वाभाविक देखाउने कलुषित मनसायले सरकारी थैलीबापतको रकम रु. 91,00,000।– (एकानब्बे लाख) निज सुफल के.सी. र निजको श्रीमान् प्रदीप अधिकारीको बैंक खाताहरूबाट कारोबार गरेको देखाई थैली रकमभन्दा बाहेकको अस्वाभाविक थप रकम रु. 1,71,00,000।– (एक करोड एकहत्तर लाख) रकम निज सुफल के.सी.को मतसल्लाहमा निज प्रदीप अधिकारीले घुस रिसवतबापत लिन सहमत भई माथि तस्बिर नम्बरहरु 2, 3, 4, 5, 6, 7, 8 मा देखाइएको चेकमार्फत सूर्य ताम्राकारसमेत सँगको सहमतिमा निज सूर्य ताम्राकारको कुमारी बैंक लिमिटेडको खाता नं. 0130020015300001 मा रु. 1,49,00,000।– (एक करोड उनान्पचास लाख) र नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नं. 1759020250030 मा रु. 22,00,000।–(बाइस लाख) समेत गरी कुल रु. 1,71,00,000।– (एक करोड एकहत्तर लाख) दाखिला गरी गराई माथि link Chart 1, 2, 3, 4 मा विस्तृत विश्लेषण गरिएबमोजिम उक्त भ्रष्टाचारजन्य कसुर घुस रिसवतबाट आर्जित कसुरजन्य सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने, रुपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरी गराई सम्पत्ति शुद्धीकरणअन्तर्गतको कार्यमा समेत निज सुफल के.सी.को संलग्नता रहेको तथ्य देखिए तापनि सैनिक प्रहरी गण जंगी अड्डा, काठमाडौंको च.नं. 231, मिति 2083/03/11 गतेको पत्रबाट निज सुफल के.सी. नेपाली सेनाको प्राविधिक सहसेनानी पदमा कार्यरत रहेको देखिएको हुँदा नेपालको संविधानको धारा २३९ को उपधारा (१) को प्रतिबन्धात्मक वाक्यांशमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ४ को खण्ड (क), सैनिक ऐन, २०६३ समेतका प्रचलित संवैधानिक तथा कानुनी व्यवस्थाको रोहमा आवश्यक अनुसन्धान कार्य गर्न उपयुक्त देखिएकोले निज सहसेनानी सुफल के.सी.को हकमा नेपाल सरकार रक्षा मन्त्रालय तथा नेपाली सेना जंगी अड्डामा आवश्यक अनुसन्धान कारबाही गर्न लेखी पठाउने भनी निर्णय भएको व्यहोरा अनुरोध छ।
क्याटेगोरी : समाचारट्याग : #प्रदिप अधिकारी, #सुफल केसी


तपाईको प्रतिक्रिया दिनुहोस