गृहबाट दुई सिडिओ आउट, अवकाशको मुखमा रहेका सहसचिव पुगे गृह


काठमाडौं। गृह मन्त्रालयबाट दुई प्रमुख जिल्ला अधिकारी (सिडिओ) आउट भएका छन्। गृहबाट उदयपुरका सिडिओ मेखबहादुर मंग्राती र दैलेखका सिडिओ आनन्द सारूको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा भएको हो। गृहमा भने राष्ट्रपति कार्यालयबाट कृष्णबहादुर शाही र महालेखा नियन्त्रक कार्यालयबाट सहमहालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवाली गृहमा पुगेका छन्। केही हप्ता अगाडि राष्ट्रपति कार्यालय पुगेका शाही बैशाखमा घर जाँदैछन्। ज्ञवाली पनि अवकाशको मुखमा रहेका सहसचिव हुन्।

गृहको जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेल राष्ट्रिय समावेशी आयोग पुगेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र युवराज अधिकारीको मुस्लिम आयोगमा सरूवा भएको छ। मुस्लिम आयोगका सचिव नमराज घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन्। सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव उदयबहादुर राना मगर रक्षा मन्त्रालय सरूवा भएका हुन्।
बागमती प्रदेशबाट सहसचिव जीवलाल भुसालको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सरूवा भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका पठाइएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू पुष्पराज शाही धरान उपमहानगरपालिका, भूपेन्द्र थापा लगानी बोर्डको कार्यालय, चिरञ्जीवी पौडेल राष्ट्रिय दलित आयोग र वेदप्रसाद खरेलको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरूवा भएका छन्।
धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राई आदिवासी/जनजाति आयोगमा सरूवा भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ