प्रशासन सेवाका दुई सहसचिव सिआईबीको हिरासतमा


काठमाडौं। नेपाल प्रशासन सेवाका दुई सहसचिव प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को हिरासतमा पुगेका छन्। प्रशासन सेवाका सहसचिवहरू राजिव पोखरेल र उमेश ढुंगाना सिआईबीको हिरासतमा पुगेका हुन्। सिआईबीका अनुसार उनीहरूलाई ठगी तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको हो।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिवद्वय पोखरेल र ढुंगानाले पक्राउ खाएका छन्। हाल यातायात व्यवस्था विभागको महानिर्देशक रहेका पोखरेल र भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा रहेका ढुंगाना मलेसिया काण्डमा पक्राउ खाएका हुन्।

मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेश पठाइएको तथा श्रमिकको हितविपरीत कार्य भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त प्रकरणका मुख्य नाइके कैलाश खड्का सिआईबीको हिरासतमा रहेका छन्। डा. मनोजकुमार केसी नेपाल प्रहरीको महानिरीक्षक बनेपछि ठूलो संख्यामा तत्कालीन मन्त्री, सचिव, सहसचिव लगायतका कर्मचारी पक्राउ परेका हुन्।

सिआईबीले उक्त प्रकरणमा अमेरिकी डलर ६३ लाख ५० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख ६७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको सिआईबीले ‘ठूला माछा’ समातेको हो।

उक्त प्रकरणमा सहसचिवद्वय पोखरेल र ढुंगानासहित तत्कालीन श्रम मन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय, तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ समेत पक्राउ परेकी हुन्। उक्त प्रकरणमा जोडिएका अर्का तत्कालीन श्रम सचिव एकनारायण अर्याल भने लापत्ता भएको सिआईबीका अधिकारीहरू बताउँछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ