डा. लोचन कार्कीको पहलमा प्याउली अस्पतालले भारतीय राजदूतावासबाट एम्बुलेन्स पायो


काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको पहलमा भोजपुरको प्याउलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रले भारतीय राजदूतावासमार्फत एम्बुलेन्स पाएको छ ।

भारतीय दूतावासले आज एक कार्यक्रममार्फत भोजपुरको अरुण गाउँपालिका प्याउलीस्थित प्राथमिक अस्पतालसहित विभिन्न संघ-संस्थालाई ७५ वटा एम्बुलेन्स उपहार दिएको हो ।

नेपालस्थित भारतीय दूतावासका अनुसार ७५ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले नेपाललाई अनुदान सहायतास्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।

प्याउली अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउन चिकित्सक संघका अध्यक्ष डा. कार्कीको विशेष भूमिका रहेको छ । उनले भोजपुरमा भएको वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन जाँदा प्याउलीलाई एउटा एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । त्यसलगत्तै काठमाडौं फर्किएर डा. कार्कीले प्याउलीमा एउटा एम्बुलेन्स उपलब्ध गराइदिन भारतीय राजदूतावासका उच्च अधिकारीहरूलाई अनुरोध गरेका थिए ।

भोजपुरको प्याउलीलगायत आसपासका क्षेत्रका लागि एउटा एम्बुलेन्स आवश्यक रहेको भनेर स्थानीय समाजसेवी डिल्ली सापकोटा, अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री, अस्पतालका स्वास्थ्यकर्मी रुपक पुलामी, अरुण गाउँपालिका कांग्रेसका अध्यक्ष श्रीकुमार राईलगायतले डा. कार्कीलाई पहल गरिदिन आग्रह गरेका थिए ।

डा. कार्कीले भोजपुरको अरुण गाउँपालिकाभित्र मात्र नभएर सदरमुकाम र आसपासका क्षेत्रलाई समेत सुविधा पुग्ने हिसाबले एम्बुलेन्स उपलब्ध गराउन पहल गरेका हुन् । भारतले उपहार दिएको उक्त एम्बुलेन्स प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीका चिकित्सक डा. हरि कटुवाल र सापकोटाले बुझेका छन् । भारतीय राजदूतावासबाट उपहार प्राप्त एम्बुलेन्स भोलि नै भोजपुरको प्याउली पठाउने तयारी भइरहेको सापकोटाले स्वास्थ्य लाइभलाई जानकारी दिए । एम्बुलेन्स लिएर डा. कटुवाल जानेछन् ।

यता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा भोजपुरको षडानन्द नगरपालिका दिङ्लास्थित माहत्मा गान्धी मेमोरियल अस्पतालले पनि उस्तै प्रकृतिको एम्बुलेन्स प्राप्त गरेको छ । उक्त एम्बुलेन्स षडानन्द नगरपालिका प्रमुख(मेयर) सुरेन्द्र उदासले बुझिलिएका छन् ।

भारत सरकारको आर्थिक सहयोगमा बनेको उक्त अस्पताल उद्‌घाटन गर्ने क्रममानै षडानन्द नगरपालिका तत्कालीन मेयर वीरबल राईले उक्त क्षेत्रमा एउटा एम्बुलेन्स आवश्यक रहेकाले एम्बुलेन्सका लागि पहल गरिदिन सञ्चारमन्त्री कार्कीलाई आग्रह गरेका थिए ।  अस्पतालका लागि एउटा एम्बुलेन्स उपलब्ध गराउने सञ्चारमन्त्री कार्कीले उक्त कार्यक्रममै घोषणा गरेका थिए ।

गान्धी अस्पताल उद्‌घाटन समारोहमा सहभागी हुन दिङ्ला पुगेकी भारतीय राजदूतावास काठमाडौंकी नियोग उप-प्रमुख नामग्य सी. खम्पाले पनि एउटा एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गान्धी अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा
ट्याग : #एम्बुलेन्स- उपहार, #ज्ञानेन्द्र बहादुर कार्की, #डा. लोचन कार्की, #दिङला, #प्याउली, #प्राथमिक स्वास्थ्य केन्द्र प्याउली, #माहत्मा गान्धी मेमोरियल अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com