बर्खास्तीविरुद्ध एआईजी दाहालको पुनरावेदन निवेदन
काठमाडौं। बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् । दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएकाे स्राेतले बतायाे ।
मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय नै सदर गरेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ । अहिलेको प्रक्रियाअनुसार सोझै अदालत जान नमिल्ने भएकाले उनले पहिले मन्त्रिपरिषद्मा पुनरावेदन दिएको स्रोतले जनाएको छ ।संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा सरकारले गत २३ असोजमा दाहाललाई बर्खास्त गरेको थियो । बिचौलियाको आरोप लागेका इनम सापकोटासँग उनको सम्पर्क देखिएको र प्रधानमन्त्रीसँग सम्बन्धित सूचना चुहाएको आरोप उनीमाथि थियो ।
इनम पक्राउ परेपछि उनको मोबाइलमा एआईजी दाहालसँगको सम्पर्क देखिएको थियो । त्यसपछि इनमसँगको सम्बन्ध र संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले १९ असोजमा दाहाललाई निलम्बन गरेको थियो । घटनाको छानबिन गर्ने जिम्मेवारी एआईजी अञ्जनीकुमार पोखरेललाई दिइएको थियो । छानबिनपछि प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणविपरीत काम गरेको भन्दै सरकारले २३ असोजमा दाहाललाई बर्खास्त गरेको थियो। उक्त निर्णयविरूद्ध दाहालले पुनरावेदन निवेदन दिएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस