दोस्रो प्रयासमा मधेशी कोटाबाट सहसचिव भएकी आभा बनिन् सचिव
काठमाडौं। दोस्रो प्रयासमा मधेशी कोटाबाट सहसचिव भएकी आभा श्रेष्ठ कर्ण सचिवमा बढुवा भएकी छिन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आभालाई सचिवमा बढुवा गरेर गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ। आभा सचिवमा बढुवा भएसँगै एउटै परिवारबाट श्रीमान-श्रीमती दुबैजना नेपाल प्रशासन सेवाको सचिव बन्ने ‘रेकर्ड’ रहन गएको हो। आभाका श्रीमान कृष्णहरि पुष्कर कर्ण ५ वर्ष सचिव चलाएर घर चलाउन गइसकेका छन्। अब सचिव चलाउने जिम्मेवारी आभाले पाएकी हुन्।
फरक सेवामा श्रीमान-श्रीमती नै विशिष्ट श्रेणीमा पुगेको ‘रेकर्ड’ भने विनोदबहादुर कुँवरको दम्पत्तिलाई जान्छ। विनोदकी श्रीमती राममाया कुँवर लेखापरीक्षण सेवाको विशिष्ट श्रेणी (सचिव) चलाएर अवकाश भइसकेकी छिन्। उपमहालेखापरीक्षणबाट राममायाले अवकाश पाएको ३ वर्षपछि विनोद सचिवमा बढुवा भएका हुन्। कृष्णहरि अवकाशमा गएको ३ महिनामै आभा सचिव बन्न सफल भएकी छिन्।
राममाया सचिव हुनुमा विनोदको भूमिका नहुन सक्छ। तर, आभा सचिव हुनुमा कृष्णहरिको मुख्य भूमिका देखिन्छ। सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा नेवार परिवारमा जन्मिएकी आभा महोत्तरी सुगाका मधेशी समुदायका कर्णसँग विवाह गरेपछि उनले मधेशी कोटा प्रयोग गर्ने अधिकार राखिन्। नत्र उनले आदिवासी/जनजाति र महिला कोटा मात्र प्रयोग गर्न पाउथिन्। जुन महिला कोटा आभाले २०६७ सालमै उपसचिव हुँदा प्रयोग गरिसकेकी छिन्।
२०६७ साल जेठमा उपसचिव हुँदा महिला कोटा प्रयोग गरेकी आभाले त्यसको डेढ वर्षमै मधेशी कोटाबाट सहसचिवको लिखित परीक्षामा नाम निकालिन्। त्योबेला आभासहित उनका श्रीमान कृष्णहरि र शिवराम यादव (हाल मधेश लोक सेवा आयोगका अध्यक्ष)ले लिखितमा नाम निकालेका थिए। अन्तवार्तापछि भने कृष्णहरि सहसचिवमा सिफारिस भए। आभाले कृष्णहरिलाई सहसचिव बन्ने बाटो सहज बनाइदिइन्।
२०७१ सालमा फेरि आभा मधेशी कोटाबाटै सहसचिवमा सिफारिस भइन्। चक्रवती कण्ठलाई वैकल्पिकमा पारेर आभा सहसचिव बनिन्। मधेशी समुदायमा जन्मिएका कण्ठ मधेशी समुदायसँग वैवाहिक सम्बन्ध स्थापित गरेकी आभासँग पछाडि परे। कण्ठ प्राविधिकतिरको सहसचिवबाटै घर गइसकेका छन्। आभालाई वैकल्पिकमा पारेको भए कण्ठ सचिव बढुवाको मुखमा घर जाने रहेछन्। आभाले त्योबेला बाजी मार्दा अहिले सचिव बन्न सफल भइन्। कण्ठ भदौमै ५८ वर्ष पूरा भएर अवकाशमा गइसकेका छन्।
आभा दम्पत्ति उपसचिव र सहसचिवमा कोटा प्रयोग गरेर सचिव बन्न सफल भएका हुन्। आभाले उपसचिवमा महिला र सहसचिवमा मधेशी कोटा प्रयोग गरिन्। उनका श्रीमान कृष्णहरिले उपसचिव र सहसचिव दुबैमा मधेशी कोटा प्रयोग गरेका थिए। डब्बल आरक्षण प्रयोग गरेर श्रीमान/श्रीमती नै आरक्षण सचिव बन्न सफल भएका हुन्।
ट्याग : #आभा श्रेष्ठ कर्ण (महिला/मधेशी)


तपाईको प्रतिक्रिया दिनुहोस