कार्यकाल सकिएका ६ राजदूतको किन जागिर लम्ब्याइयो?
समाचार टिप्पणी
काठमाडौं। सरकारले कार्यकाल सकिएका ६ राजदूतको कार्यकाल लम्ब्याएको छ। परराष्ट्र सेवाका कर्मचारीबाट विभिन्न ६ देशको राजदूत भएका सहसचिवको जागिर लम्ब्याइएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले, बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले, इजिप्टका लागि नेपाली राजदूतमा सुशीलकुमार लम्साल, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र अस्ट्रियाको भियनास्थित राष्ट्रसंघीय स्थायी नियोगका स्थायी प्रतिनिधिमा भरतकुमार रेग्मीको जागिर लम्ब्याइएको छ। ४ वर्षे कार्यकाल पूरा गरेका ६ देशका आवासीय राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको मन्त्रालयले जनाएको छ।
बजेटबाटै खारेज भइसकेको ब्राजिलमा राजदूतावास बन्द गरेर नजिकैको नियोगमा सबै कुरा हस्तान्तरण गरेर स्वदेश फर्किन निर्देशन दिनुपर्नेमा बजेट नै नभएको राजदूतावासमा समेत राजदूत निर्मलराज काफ्लेलाई ‘होल्ड’ गरिएको छ। उक्त नियोग बन्द गराउन परराष्ट्र मन्त्रालयले आनाकानी गरिरहेको बताइन्छ।
किन ‘होल्ड’ गरिए कार्यकाल सकिएका राजदूत?
सरकारले पाल्न निकै महँगा मानिएका राजदूतहरूलाई ४ वर्षभन्दा बढीको भत्ता र अन्य सुविधा खाने मौका दिएको छ। परराष्ट्र मन्त्रालयलाई समेत लाभ पुग्नेगरी उनीहरूको जागिर लम्ब्याइएको हो।
परराष्ट्र मन्त्रालयमा अहिले नै दरबन्दीभन्दा बढी सहसचिवहरू रहेका छन्। एकैचोटी ५ सहसचिव परराष्ट्र मन्त्रालयमा थपिँदा ‘माछाबजार’ले उग्र रूप लिने भएकाले राज्यलाई घाटा परेपनि परराष्ट्रले चलाखी गरेर ६ राजदूतहरूलाई ‘होल्ड’ गराएको हो।
म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेको २०८२ जेठमै ५८ वर्ष पूरा भइसकेको छ। प्रशासन सेवाको महावाणिज्यदूत भए ५८ वर्ष पूरा हुनेबित्तिकै घर गइसक्थे। तर, परराष्ट्र सेवाका घिमिरेले ‘प्रिभिलेज’ पाएर त्यसै एक वर्ष बढी जागिर खाइसकेका छन्। म्याद थपिदा उनी झन ‘मालामाल’ भएका हुन्।
राजदूतको कार्यकाल सकिएर ब्राजिलबाट परराष्ट्र मन्त्रालयमा फर्किन लागेका सहसचिव निर्मलराज काफ्लेको २०८८ साउनसम्म जागिर बाँकी छ। अझै ५ वर्ष जागिर बाँकी रहेका काफ्ले तत्काल मन्त्रालय फर्किदा समस्या हुनेपछि उनलाई खारेज भइसकेको राजदूतावासमै ‘होल्ड’ गरिएको हो।
इजिप्टबाट राजदूतको कार्यकाल सकिएर स्वदेश फर्किन लागेका सुशीलकुमार लम्साल २०९२ असोज र बंगलादेशबाट फर्किन लागेका घनश्याम भण्डारीको २०९३ असोजसम्म जागिर बाँकी छ। लम्साल त परराष्ट्र सचिव नै बन्ने लाइनमा रहेका छन्।
बहराइनबाट फर्किन लागेका तीर्थराज वाग्लेको ३ वर्ष र अस्ट्रियाको भियनास्थित राष्ट्रसंघीय स्थायी नियोगका स्थायी प्रतिनिधिमा भरतकुमार रेग्मीको जागिर अझै एक वर्ष बाँकी छ। उनीहरू परराष्ट्र मन्त्रालय तत्काल फर्किए सहसचिवको ‘माछाबजार’ देखिने भएकाले उनीहरूलाई उतै रोकिएको हो। यसमा परराष्ट्रले खतरनाक चालबाजी रचेको छ।
तात्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको आडमा १० वटा महाशाखालाई एकैपटक १५ वटा बनाइएको थियो। महाशाखा थपेर नपुगेर दरबन्दीभन्दा ३ जना बढी सहसचिवको विज्ञापन गराउन परराष्ट्रका उच्च अधिकारीहरू सफल भएका थिए। सबै मन्त्रालय र सेवा, समूहको दरबन्दी घटाउने क्रम जारी रहँदा परराष्ट्र मन्त्रालयमा पनि दबाब परेको छ। दरबन्दी जोगाउन कसरत गरिरहेको परराष्ट्रले एकैपटक ५ सहसचिव थपिँदा ‘देखाउन लाज’ हुने भएकाले अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भन्दै उतै ‘होल्ड’ गरिदिएको हो। उक्त कदमले परराष्ट्रलाई क्षणिक फाइदा भएपनि मुलुकले थप आर्थिक क्षति व्यहोर्नुपर्ने भएको छ।
क्याटेगोरी : समाचारट्याग : #घनश्याम भण्डारी, #तीर्थराज वाग्ले, #निर्मलराज काफ्ले, #भरतकुमार रेग्मी, #सुशीलकुमार लम्साल, #हरिश्चन्द्र घिमिरे


तपाईको प्रतिक्रिया दिनुहोस