तिब्बती शरणार्थीलाई फर्जी यात्रा अनुमतिपत्र बनाएर जर्मनी पठाउने परराष्ट्रका सहसचिव भट्टराई पक्राउ


काठमाडौं। तिब्बती शरणार्थीलाई फर्जी यात्रा अनुमतिपत्र बनाएर जर्मनी पठाउने परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। सोमबार उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।

परराष्ट्र मन्त्रालयको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख रहेका भट्टराईविरुद्ध काठमाडौं जिल्ला अदालतमा राहादानी ऐन अन्तर्गतको कसूरमा मुद्दा दायर भएको छ। अदालतबाट पक्राउ पूर्जी लिएर प्रहरीले भट्टराईलाई पक्राउ गरेको हो। १७ वर्ष अगाडि परराष्ट्र मन्त्रालयका तात्कालीन शाखा अधिकृत पुष्पराज भट्टराईले कायरो पठाइएको भनी जनाइ यात्रा अनुमतिपत्रहरू प्राप्त गरी गैरकानुनी रूपमा उनाउ व्यक्तिहरूलाईतिब्बती शरणार्थी रहेको भनी पारिवारिक मिलनको निहुँमा जर्मनी पठाउनका लागि यात्रा अनुमतिपत्र जारी गरेको सिआईबीको आरोप छ।

नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी नेपालमा रहेका शरणार्थी विदेश भ्रमणमा जानको लागि गृह मन्त्रालयको सिफारिससहित निवेदन दिएको अवस्थामा कार्यालय वा विदेशस्थित नेपाली नियोगहरूले यात्रा अनुमति जारी गर्न सक्ने व्यवस्था छ। तर, भट्टराईले उक्त गृह मन्त्रालयको सिफारिस बिनै तिब्बती शरणार्थी हरूलाई यात्रा अनुमति जारी गरेको पाइन्छ। एउटा डकुमेन्ट प्राप्त गर्नका लागि चार लाख रुपैयाँ र त्यति नै रकम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तिर्नु पर्ने जर्मन राजदूतावासको पत्रमा उल्लेख छ।

कायरो पठाउने भनी बच्चुराम केसीले परराष्ट्र मन्त्रालयबाट यात्रा अनुमतिपत्र बुझिलिएको भएतापनि पत्रमा उल्लेख भए बमोजिमको यात्रा अनुमतिपत्र यस दूतावासबाट माग नभएको र सो समयमा कुनै यात्रा अनुमतिपत्र दूतावासबाट प्राप्त रेकर्डबाट नदेखिएको अभियोगपत्रमा उल्लेख छ।

तिब्बतीयन शरणार्थी शिविरले समेत यात्रा अनुमतिपत्र प्राप्त गर्ने तिब्बतीयन शरणार्थीहरूले नेपालको ठेगाना काठमाडौं बौद्ध भनी उल्लेख गरेको तर बौद्धमा तिब्बतीयन शरणार्थी क्याम्प नभएको प्रस्ट पारेको छ। उक्त प्रकरणमा हाल परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई संलग्न रहेको अभियोगमा प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंमा राहदानी सम्बन्धी कसूरमा मुद्दा दायर गरेको हो। परराष्ट्रमा दरबन्दीको बाढी आएपछि सहसचिवमा बढुवा भएका भट्टराई तिब्बती शरणार्थीको भेलमा परेर पक्राउ परेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #पुष्पराज भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ