गृह मन्त्रालयको जगेडामा ५ सहसचिव


काठमाडौं। गृह मन्त्रालयको जगेडामा ५ सहसचिव रहेका छन्। पछिल्लाे समय गृहको जगेडामा प्रदिपकुमार कोइराला, बिनु बज्राचार्य कुँवर, विष्णुप्रसाद ज्ञवाली, एकदेव अधिकारी र कृष्णबहादुर शाही पुगेका हुन्।

कोइराला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट मन्त्रालयको जगेडामा पुगेका हुन्। ४ महिना जागिर बाँकी रहेका कोइरालालाई सिडिओमा पठाउने अवस्था देखिँदैन। उनलाई जिम्मेवारी दिने/नदिने कुनै टुंगो छैन।

रामेछापको प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट बिनु बज्राचार्य कुँवर गृहको जगेडामा तानिएकी छिन्। उनको गृहबाटै आउट हुने सम्भावना छ। राजप्रासाद सेवाबाट आएकी कुँवरलाई रामेछापको सिडिओमा खटाएर गृहले ३ महिनामै तानेको हो।

महालेखा नियन्त्रक कार्यालयबाट विष्णुप्रसाद ज्ञवाली सिडिओ खान गृह मन्त्रालय भित्रिएका छन्। पहिलोपटक गृह भित्रिएकाले उनलाई दैलेख, प्युठान, रामेछाप जस्ता जिल्लामा खटाइने सम्भावना छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह भित्रिएका सहसचिव एकदेव अधिकारी पनि जिम्मेवारीविहीन अवस्थामा रहेका छन्। उनलाई चितवन, उदयपुर, कपिलवस्तुमध्ये कुनै जिल्लामा सिडिओ खटाइने चर्चा छ।

६ महिना जागिर बाँकी रहेका कृष्णबहादुर शाही सामान्य प्रशासन मन्त्रालयबाट राष्ट्रपति कार्यालय हुँदै गृह पुगेका छन्। उनी कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट अघिल्लो वर्ष सहसचिवमा बढुवा भएर बागमती प्रदेश पुगेका थिए। शाही फेरि गृहमा फर्किएका हुन्। सहसचिव शाहीलाई उक्त विभागमै पठाइने सम्भावना पनि उत्तिकै देखिन्छ। ६ महिना जागिर भएकालाई सिडिओमा पठाउनु त्यति उचित हुँदैन।

हाल सहसचिवको दरबन्दी भएको उदयपुर, रामेछाप, दैलेख, कपिलवस्तु र प्युठान सिडिओ रिक्त छ। चितवन, काठमाडौं, मोरङ, धनुषा, पर्सा, काभ्रेपलाञ्चोक, मकवानपुर, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लाका सिडिओको पनि सरूवा अवधि पूरा भइसकेको छ। गृहले ठूलो लटमा सहसचिव सिडिओको सरूवा गर्ने चर्चा पनि चल्न थालेको छ। दसैँको मुखमा ५ जिल्लामा भने तत्काल सिडिओ पठाउन आवश्यक देखिन्छ।

गृहको जगेडामा रहेका सहसचिव

➡️प्रदिपकुमार कोइराला

➡️बिनु बज्राचार्य कुँवर

➡️विष्णुप्रसाद ज्ञवाली

➡️एकदेव अधिकारी

➡️कृष्णबहादुर शाही

क्याटेगोरी : समाचार
ट्याग : #एकदेव अधिकारी, #कृष्णबहादुर शाही, #प्रदिपकुमार कोइराला, #बिनु बज्राचार्य कुँवर, #विष्णुप्रसाद ज्ञवाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ