प्राविधिक सचिवमा बढुवाका लागि ३ सहसचिवबीच प्रतिस्पर्धा


काठमाडौं। एक प्राविधिक सचिवमा बढुवाका लागि ३ सहसचिव प्रतिस्पर्धामा रहेका छन्। प्राविधिक सचिवमा बढुवाका लागि नवीनराज सिंह, मिना श्रेष्ठ र गणेशप्रसाद भट्ट प्रतिस्पर्धामा रहेका हुन्।

सचिव हुने प्रतिस्पर्धामा रहेका सिंह नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जलविद्युत (हाइड्रोपावर) उपसमूहका हुन्। श्रेष्ठ खानेपानी (स्यानिटरी) उपसमूह र भट्ट इन्जिनियरिङ सेवा, नापी (सर्भे) समूहका सहसचिव हुन्।

जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएसँगै प्राविधिक सचिवमा एक पद रिक्त हुन पुगेको छ। उक्त आयोगमा फिट हुने सिंह हुन्। तर, उनको जागिर १० महिना पनि बाँकी छैन। सिंह हाल लगानी बोर्डमा कार्यरत छन्। श्रेष्ठ पूर्वाधार विकास मन्त्रालय र भट्ट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन्। श्रेष्ठको जागिर डेढ वर्ष बढी र भट्टको ५ वर्ष बाँकी छ।

तेस्रो नम्बरमा सिफारिस मैनाली सचिव

सरकारले सचिव बढुवाका लागि तेस्रो नम्बरमा सिफारिस पद्यकुमार मैनालीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। ५८ वर्ष पूरा हुन डेढ वर्ष बाँकी रहेका मैनाली सचिवमा बढुवा भएका हुन्। बढुवा समितिले पहिलो नम्बरमा नवीनराज सिंह, दोस्रोमा मिना श्रेष्ठ र तेस्रोमा मैनालीलाई सिफारिस गरेको थियो। सरकारको रोजाइमा तेस्रो नम्बरका मैनाली परेका छन्।

हाल प्राविधिक सेवाका सचिवमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा गुणस्तरतिरका विश्वबाबु पुडासैनी रहेका छन्। नेपाल ट्रष्टको कार्यालयमा सिंचाइतिरकी सरिता दवाडी रहेकी  छिन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सेवा समूह मिल्ने दिनानाथ मिश्र सचिव छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सचिवमा जगदिश्वर कर्माचार्य कार्यरत रहेका छन्। त्यसैले यिनीहरूभन्दा मैनाली पूर्वाधार मन्त्रालयमा ‘फिट’ हुने पात्र भएकाले सरकारको रोजाइमा उनी परेका हुन्। प्रतिस्पर्धी ३ सहसचिवमध्ये पूर्वाधार विकास मन्त्रालयको सचिव बनाउन मैनाली उपयुक्त पात्र हुन्।

गोपालप्रसाद सिग्देल अवकाशमा गएपछि पूर्वाधार विकास मन्त्रालय सचिवविहीन अवस्थामा थियो। पूर्वाधार विकास मन्त्रालय ठूलो मन्त्रालय भएकाले भवन (बिल्डिङ्ग एण्ड आर्किटेक्ट) उपसमूहका मैनालीमाथि विश्वास गरेर सरकारले सचिवमा बढुवा गरेर उक्त मन्त्रालयमा पदस्थापन गरेको हो।

जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सचिव नराख्दा पनि चल्छ, हुन्छ। तर, सरकारले सचिव बढुवा गर्न चाहेमा सिंह, श्रेष्ठ र भट्ट प्रतिस्पर्धामा छन्। ३०-५५ आए भट्ट मात्र बाँकी रहन्छन्। ५५ पारीका सिंह र श्रेष्ठ घर जान्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #गणेशप्रसाद भट्ट, #नवीनराज सिंह, #मिना श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ