सर्वोच्चको पाँच न्यायाधीश बन्न एक दर्जन न्यायाधीशबीच रस्साकस्सी
काठमाडौं। मंगलबार दिउँसो १ बजे न्यायाधीशको बैठक बस्दैछ। प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्षतामा बस्न लागेको न्याय परिषद्को बैठकको मुख्य ‘एजेण्डा’ नै सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस रहेको स्रोतले बतायो। मंगलबारको बैठकबाटै न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने प्रवल सम्भावना छ।
न्यायाधीश विनोद शर्मा अवकाशको मुखमा रहेका छन्। उनको ठाउँमा पनि न्याय परिषद्लाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बाटो खुला छ। शर्माको ‘सिट’लाई समेत गणना गर्दा सर्वोच्चमा पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस हुने देखिन्छ।
अहिले सर्वाेच्चको न्यायाधीशमा उच्चबाटै सिफारिस हुने सम्भावना रहेको न्यायाधीश परिषद् स्रोतले बतायो। उच्च अदालत पोखराका मुख्यन्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वाेच्चको न्यायाधीशमा सिफारिस हुने निश्चित जस्तै रहेको स्रोतको दाबी छ। उनी दलित समुदायबाट मुख्य न्यायाधीश रहेकाले पनि सम्भावना बढी रहेको हो।
त्यसपछि उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी प्रतिस्पर्धी देखिन्छन्। उनीहरूलाई उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर उच्च र विशेष अदालतका अध्यक्ष बासुदेव आचार्यले टक्कर दिइरहेको चर्चा चल्न थालेको हो। टेकनारायणले ‘जम्प’ हान्ने सम्भावना रहेको स्रोतको दाबी छ।
महिलाबाट उच्च अदालत पोखरा, बागलुङ इजलासकी न्यायाधीश यमुना भट्टराई सर्वोच्चमा आउने सम्भावित पात्र हुन्। समावेशी (आदिवासी/जनजाति) कोटाबाट उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू पनि सर्वोच्च आउने सम्भावित सूचीमा छन्। उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश रमेश ढकाल र उच्च अदालत दिपायलका कायममुकायम मुख्य न्यायाधीश दिनेशप्रसाद यादव पनि सर्वोच्चमा आउन बल गरिरहेको चर्चा छ।
रत्नबहादुर बागचन्द, लालबहादुर कुँवर, राजनप्रसाद भट्टराई, टेकनारायण कुँवर, यमुना भट्टराई, आनन्द सारू सर्वोच्चमा सिफारिस हुने सम्भावित उम्मेदवारमा अग्रपङ्तीमा देखिन्छन्। न्याय परिषद्ले न्यायाधीश नियुक्तिमा पनि क्रमभंगता गर्ने सम्भावना पनि उत्तिकै छ।
न्याय परिषद्को मुख्य ‘एजेण्डा’ नै सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएकाले मंगलबार सर्वोच्चमा ५ न्यायाधीश थपिने अवस्था छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस