भूमिको सफ्टवेयर खरिद अनियमिततामा मन्त्री रावलको नजर


काठमाडौं। भूमिको सफ्टवेयर खरिद अनियमिततामा मन्त्री प्रतिभा रावलको नजर परेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रावलले मालपोत र नापीको सफ्टवेयर खरिदमा भएको अनियमितता छानबिन थालेकी छिन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रालयअन्तर्गत विगतमा भएका अनियमितताको अध्ययन थालेकी छिन्। मन्त्री रावलले नापी तथा मालपोतबाट ०७७/०७८ यता भएका सफ्टवेयर खरिदको अध्ययन थालेकी हुन्।

मन्त्री रावलले भूमि अन्तर्गत भएका सफ्टवेयर खरिदको अवस्थामा अध्ययन गर्दा प्रारम्भिक चरणमै अनियमितता देखिएपछि छानबिन गर्न समिति नै बनाउन लागेकी छिन्। विभागबाट सबै फाइल ल्याएर अध्ययन गराउने तयारी भइरहेको मन्त्री रावलको सचिवालयले जनाएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले ७७/०७८ विभाग र मातहतका निकायमा हार्डवयेर र सफ्टवेयर खरिद गर्दा राजकुमार महर्जन मुख्य भूमिका रहेका थिए। आइटीका उपसचिव महर्जन २०७७ फागुन १० गतेदेखि २०८० साउन २९ गतेसम्म उक्त विभागमा कार्यरत थिए। त्यसैबेला भएको खरिदमा अनियमितता देखिएको स्रोतले बतायो।

२०७० साल साउन २९ गते कम्प्युटर इन्जिनियरमा नियुक्ति लिएर त्यसको १ दिनपछि यातायात व्यवस्था विभाग पुगेका राजकुमार महर्जनले ५ वर्ष बढी उक्त विभागमा एकछत्र राज गरेका थिए। त्यसपछि उनी सार्वजनिक खरिद अनुगमन कार्यालय पुगे। सार्वजनिक खरिद अनुगमन कार्यालयमा २ वर्ष बढी बसेपछि महर्जन २०७७ पुस ३ गते निर्वाचन आयोग सरुवा भएका थिए। निर्वाचनमा सरुवा भएको २ महिनापछि कम्प्युटर इन्जिनियर महर्जनको २०७७ फागुन ३ गते सूचना प्रविधि निर्देशक (उपसचिव)मा बढुवा भएको हो । सूचना प्रविधि निर्देशकमा बढुवा भएको ९ औं दिनमा उनी भूमि व्यवस्थापन तथा अभिलेख विभाग पुगेको देखिन्छ। उक्त विभागको महत्त्वपूर्ण खरिदमा महर्जन जोडिएको स्रोतको भनाइ छ।

हाल महर्जन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रको निर्देशकको भूमिकामा कार्यरत छन्। भूमिमन्त्री रावलले आईटीका खरिद अनियमितता नजर लगाएपछि आईटीतिरका चतुर कर्मचारी महर्जन फेरि चर्चामा आएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #राजकुमार महर्जन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ