झापामा जेन्जी घाइतेहरूलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट


काठमाडौं।  झापा जिल्लामा जेन्जी घाइतेहरूलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट हुने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा भएको छलफलबाट झापाका यातायात व्यवसायीबीच उक्त विषयमा समझदारी भएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको पहलमा भएको छलफलबाट झापाका यातायात व्यवसायीले जेन्जी ‌ घाइतेलाई जिल्ला प्रशासन कार्यालयद्वारा जारी परिचयपत्रको आधारमा जिल्लाभित्र हुने सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने गरी समझदारी भएको छ। नेपाल सरकारले २०८३ असार १८ गते स्वीकृत गरेको “जेन्जी सहिद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज”मा भएको व्यवस्था अनुरूप झापा प्रशासन र यातायात व्यवसायीका प्रतिनिधि बीच छुट दिने समझदारी भएको हो‌।

जेन्जी घाइतेको पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजको बुँदा नम्बर ८ मा अति गम्भीर देखि गम्भीरको वर्गीकरणमा परेका घाइतेलाई सार्वजनिक यातायातका साधनहरूमा ५० प्रतिशत छुट एवं सिट आरक्षणको व्यवस्था मिलाउने उल्लेख छ। कुल २४ वटा बुँदा रहेको उक्त एकीकृत प्याकेजकाे कार्यान्वयनमा जिम्मेवार निकायहरू बीचको अन्तरनिकागत समन्वयलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय झापाले झापाका जेन्जी सहिद परिवार तथा घाइतेहरूको केही समय अगाडि डिजिटल प्रोफाइल नै तयार गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

झापामा २ जेन्जी शहीद परिवार तथा परिचयपत्रवाहक ३७ जेन्जी घाइतेहरु रहेका छन्। यातायात व्यवसायीका प्रतिनिधिले एउटा सार्वजनिक यातायातमा अधिकतम दुई जेन्जी घाइतेलाई वर्गीकृत परिचयपत्रको आधारमा छुट दिन सकिने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ