पिछडिएको क्षेत्रबाट पहिलो सचिव बने चक्रबहादुर बुढा


काठमाडौं। पिछडिएको क्षेत्रको आरक्षणबाट चक्रबहादुर बुढा पहिलो सचिव बनेका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव बुढालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै बुढा पिछडिएको क्षेत्रको आरक्षणबाट सचिव बन्ने पहिलो व्यक्ति भएका हुन्।

बुधबार बढुवा समितिले नेपाल प्रशासन सेवाको रिक्त एक सचिवमा बढुवाका लागि बुढाको नाम एकल सिफारिस भएको छ। जेष्ठताका आधारमा सचिव बढुवाका लागि सिफारिस बुढालाई मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। पिछडिएको क्षेत्रको आरक्षणबाट पहिलो सचिव बनेर बुढाले ‘रेकर्ड’ बनाएका हुन्। पिछडिएको क्षेत्रको कोटाबाट लाभ लिने सहसचिवहरूमा बुढासहित पुष्पराज शाही, गोगनबहादुर हमाल, मानबहादुर बम र बसन्तबहादुर बोहरा रहेका छन्। उनीहरूलाई ‘टपेर’ बुढा पिछडिएको क्षेत्रबाट पहिलो सचिव बनेका हुन्।

जाजरकोटबाट बर्दिया झरेका बुढा जाजरकोट कै ठेगानामा पिछडिएको क्षेत्रको कोटाबाट २०७१ फागुन १२ गते सहसचिव भएका थिए। २०३४ साल मंसिर १० गते जन्मिएका बुढा ४९ वर्षको उमेरमै सचिव भएका हुन्। शिक्षक पृष्ठभूमिका बुढा २०५९ कार्तिकमा निजामती सेवा प्रवेश गरेका थिए। बुढालाई ३०-५४ दुबै मापदण्डले छुदैन। उनले पूरा कार्यकाल सचिव खाने देखिन्छ।

तत्कालीन नेकपा माओवादी निकट कर्मचारी बुढा राजस्व अनुसन्धान विभाग, पर्यटन विभाग, भन्सार विभागका महानिर्देशक भएका थिए। मकवानपुर र कास्की सिडिओ बनेका बुढा गृहको शान्ति सुरक्षा र प्रशासन महाशाखा प्रमुख समेत भए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख भएका चतुर बुढा हाल सचिव बढुवाका लागि सिफारिस भएका थिए। महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत थिए। महिला मन्त्रालयबाटै सचिवमा बढुवा भएका बुढाले पिछडिएको क्षेत्रबाट पहिलो सचिवमा नाम ‘दर्ज’ गरेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #चक्रबहादुर बुढा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ