रमेश लेखकको पालाका काठमाडौंका ३ सिडिओ कुनै न कुनै विवादमा
समाचार टिप्पणी
काठमाडौं। तत्कालीन गृहमन्त्री रमेश लेखकको पालाका काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू कुनै न कुनै विवादमा देखिएका छन्। लेखकको पालामा जयनारायण आचार्य, ऋषिराम तिवारी र छविलाल रिजाल काठमाडौंको सिडिओ रहेका थिए। तीनै सिडिओ कुनै न कुनै विवादमा देखिएका हुन्।
राष्ट्रिय मानवअधिकार आयोगले हालै काठमाडौंका तत्कालीन सिडिओ ऋषिराम तिवारीलाई कारबाही गर्न सिफारिस गरेको छ। तत्कालीन सिडिओ तिवारीमाथि तिनकुने घटनालाई लिएर आयोगले कारबाहीको सिफारिस गरेको हो।
तत्कालीन सिडिओ तिवारीमाथि तिनकुने घटनालाई लिएर आयोगले कारबाहीको सिफारिस गरेको छ। तिनकुनेको राजावादी आन्दालेन दमन हुँदा तिवारी सिडिओ र विश्व अधिकारी काठमाडौंको प्रहरी प्रमुख रहेका थिए। आयोगले उनीहरूमाथि कारबाही सिफारिस गरेकाे हो ।
तिवारीलाई संविधानको धारा २४९ को उपधारा २ को (ख) बमोजिम विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।मानवअधिकारको उल्लंघन हुनबाट रोक्ने जिम्मेवारी वा कर्तव्य भएको पदाधिकारीले जिम्मेवारी पूरा नगरेमा वा कर्तव्य पालन नगरेमा वा जिम्मेवारी पूरा गर्न वा कर्तव्य पालन गर्न उदासीनता देखाए त्यस्तो पदाधिकारी उपर विभागीय कारबाही गर्न सम्बन्धित अधिकारी समक्ष सिफारिस गर्ने व्यवस्था बमोजिम तिवारीमाथि कारबाही सिफारिस भएको हो। हाल तिवारी लागुऔषध नियन्त्रण विभागको महानिर्देशकको भूमिकामा छन्।
तिवारी अगाडि काठमाडौं सिडिओ रहेका जयनारायण आचार्य नक्कली शैक्षिकपत्रधारी भएको भनेर सर्वाेच्च अदालत भनेपछि विवादमा तानिए। त्यसपछि उनी गृह मन्त्रालय तानिए। लेखकले काठमाडौंको सिडिओ पठाएका आचार्यको शैक्षिक प्रमाणपत्र नै अदालतले नक्कली भन्दिएपछि नैतिक संकट देखा पऱ्यो। त्यसपछि उनलाई सिडिओबाट फिर्ता बोलाएर तिवारीलाई काठमाडौंको सिडिओ पठाइएको थियो। तिवारीलाई पनि राष्ट्रिय मानवअधिकार आयोगले कारबाही सिफारिस गरेपछि उनी चर्चामा आएका छन्। सहसचिव आचार्य हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छन्।
तिवारीपछि काठमाडौं सिडिओ बनेर गएका छविलाल रिजाल झनै विवादित बने। ‘जेन-जी’ आन्दालेन दबाउन गोली चलाएको उनीमाथि आरोप छ। ‘जेन-जी’ आन्दोलनमा गोली चलेपछि सिडिओ रिजाल भूमिगत भएका थिए। उनलाई कार्की आयोगदेखि राष्ट्रिय मानवअधिकार आयोगले समेत कारबाही सिफारिस गरेको छ। रिजाल हाल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन्।
लेखकका पालाका तीनजना सिडिओ नै कुनै न कुनै विवादमा देखिएका छन्। विवादित लेखकका सिडिओहरू बेला बेलामा चर्चामा आइरहेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस