सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका ३ सहसचिव
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह (जगेडा)मा ३ सहसचिव रहेका छन्। सामान्यको जगेडामा रहेका प्रशासन सेवाका सहसचिव रूद्रप्रसाद लामिछाने, सुशील ढकाल र गोविन्दप्रसाद अधिकारी हुन्।
थारू आयोगबाट सामान्यको जगेडामा तानिएका सहसचिव लामिछानेको जागिर १ महिना पनि बाँकी छैन। सहसचिव लामिछाने ५८ वर्ष पूरा भएर कार्तिक १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। कार्यदिनका हिसाबले उनको जागिर १५ दिन पनि देखिँदैन। तिहार अगाडि नै सामान्यको जगेडामा रहेका सहसचिव लामिछानेको स्वत: व्यवस्थापन हुने देखिन्छ।
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव सुशील ढकाल मंसिर ११ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। स्वास्थ्य समस्याका कारण उनलाई सहकारी विभागको रजिष्ट्रारबाट झिकेर अतिरिक्तमा राखिएको हो। सहसचिव ढकालको पनि एक महिनापछि आफै व्यवस्थापन हुने देखिन्छ।
सामान्यको जगेडामा रहेका सहसचिव गोविन्दप्रसाद अधिकारीको करिब डेढ वर्ष जागिर बाँकी छ। वीर अस्पतालबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा भएका सहसचिव अधिकारी सामान्यको जगेडामा फिर्ता आएका हुन्। प्रदेश नगएका सहसचिव अधिकारीलाई सरकारले प्रदेशतिर व्यवस्थापन गर्न सक्ने सम्भावना पनि उत्तिकै छ। सामान्यको जगेडा व्यवस्थापन गर्दा सहसचिव अधिकारी उपराष्ट्रपति कार्यालय पुग्न सक्ने खतरा पनि देखिन्छ। सरकारले उपराष्ट्रपति कार्यालयका सहसचिव हेमराज भुसाललाई राष्ट्रपति कार्यालय पठाएर अधिकारीको त्यता व्यवस्थापन गर्न सक्छ।
धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका सहसचिव पुष्पराज शाही प्रशासकीय अदालतबाट अन्तरकालीन आदेश लिएर समान्यको जगेडामा बसिरहेका छन्। उनलाई ‘सुरक्षा व्यवस्था’ गरेर सरकारले व्यवस्थापन गर्न सक्ने सम्भावना बढेको छ।
सामान्यको जगेडामा रहेका सहसचिव तुलसीनाथ गौतम र जयकुमार घिमिरे अवकाशमा गइसकेका छन्। जगेडामा रहेका अन्य सहसचिव पनि दरबन्दीमा व्यवस्थापन भइसकेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #गोविन्दप्रसाद अधिकारी, #रूद्रप्रसाद लामिछाने, #सुशील ढकाल


तपाईको प्रतिक्रिया दिनुहोस