सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल बर्खास्त
काठमाडौं। सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल पदबाट बर्खास्त भएका छन्। सशस्त्रका एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा बनेको एक सदस्यीय छानबिन समितिले निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो। उक्त सिफारिसका आधारमा एआईजी दाहाललाई बर्खास्त गरिएको हो।
गृहमन्त्री सुदन गुरूङले गम्भीर सूचना चुहाएको आरोपमा एआईजी दाहाललाई निलम्बन गरेर छानबिन गर्न समिति बनाएका थिए। सशस्त्र प्रहरी बलले पनि आचरणविपरीत कार्य गरेको विषयमा छानबिन गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो। चोलेन्द्र शम्शेर जबरा प्रकरणमा जोडिएका एआईजी दाहालमाथि सरकारले एक्सन लिएको छ। सुशासनमा कठोर देखिएको बालेन सरकारले एआईजी दाहाललाई पदबाट बर्खास्त गरेको हो।
एआईजी दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुऱ्याउने कार्य गरेको कसूरमा २३ गते शुक्रबार (आज)बाट लागू हुनेगरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको गृह मन्त्रालयले जनाएको छ। एआईजी दाहाल सशस्त्र प्रहरी सेवाबाट बर्खास्त भएका हुन्।
सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा गृहमन्त्रीले सशस्त्र प्रहरी ऐन तथा नियमावलीले प्रदान गरेको अधिकार प्रयोग गरी उच्च तहका सशस्त्र प्रहरी कर्मचारी (एआईजी)ले आफ्नो सेवा र पद अनुसारको आचरण पालना नगरेको अवस्थामा विभागीय कारबाही गरेको पहिलो घटना भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरू माथि गृहमन्त्री सुदन गुरूङले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेका छन्।
कानूनविपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने र विधिको शासन, कानूनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #एआईजी वंशीराज दाहाल बर्खास्त, #वंशीराज दाहाल


तपाईको प्रतिक्रिया दिनुहोस