विशेष अदालतले भ्रष्टाचारी ठहर गरेपछि उपसचिव प्रेमकाजी महर्जनको गयो जागिर
काठमाडौं। विशेष अदालतले भ्रष्टाचारी ठहर गरेपछि उपसचिव प्रेमकाजी महर्जनको जागिर गएको छ। बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महर्जन भ्रष्टाचारी ठहर भएका हुन्। विशेष अदालतले बुढीगंगाका तत्कालीन प्रशासकीय अधिकृत महर्जनलाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो। महर्जनसँगै तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह, इन्जिनियर पारस खाती, सब–इन्जिनियर गणेश राज रेग्मी र जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकाया पनि भ्रष्टाचारी ठहर भएका छन्।
गत पुसमा अख्तियारले महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जनही ३ करोड २७ लाख ७८ हजार १७७ रूपैयाँ बिगो कायम गरेको थियो। १४ जना प्रतिवादीमध्ये महर्जनसहित ५ जना दोषी ठहर भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत रहँदा उपसचिव महर्जनविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। यही हप्ता भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी सारिएका निलम्बित उपसचिव महर्जन भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेसँगै नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका उपसचिव महर्जनको जागिर गएको हो।
ट्याग : #प्रेमकाजी महर्जन


तपाईको प्रतिक्रिया दिनुहोस