असार सम्म साढे पाँच लाख सिलिण्डर आवश्यक तर, देशमा ८० हजार मात्रै उपलब्ध


काठमाडौं । कोरोना संक्रमण तिब्र गतिमा बढ्दै जाँदा सरकारले पर्याप्त मात्रामा अक्सिजन उपलब्ध गराउन सकेको छैन । कोरोना संक्रमितको ज्यान बचाउँने पहिलो आधार अक्सिजन हो । तर, देशमा अक्सिजनको अभावले गर्दा दैनिक ११ प्रतिशत बढी कोरोना संक्रमितको मृत्यु भइरहेको सरकारी अधिकारीहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार आइसियु पाउनु भन्दा पनि चर्को अक्सिजन पाउन भएको छ । अक्सिजन उत्पादक संघका अनुसार मुलुकमा करिब ८० हजारको संख्यामा अक्सिजन सिलिण्डर रहेको बताइए पनि कहाँ छ कसैले उत्तर दिन सकेका छैनन् । यतादेशमा तत्काल ५ लाख ६६ हजार ६ सय ६१ वटा अक्सिजन सिलिण्डर आवश्यक परेको छ ।

स्वास्थ्य मन्त्रालयले बताए अनुसार बैशाख, जेष्ठ र असार तीन महिनामा कोरोना संक्रमितका लागि ५ लाख ६६ हजार ६ सय ६१ वटा अक्सिजन सिलिण्डर आवश्यक पर्छ । स्वास्थ्य मन्त्रालयले हालै तयार पारेको तथ्यांक अनुसार बैशाख महिनामा क्रिटिकल केयरमा २२ सय ८५ जना (आइसियु÷भेन्टिलेटर),जटिल (एच.डी.यु) ५३ सय ३१ जना, र मध्यम जटिल (साधारण अक्सिजन वेड) ७६ सय १६ जना गरी १५ हजार २ सय ३२ जनालाई अक्सिजन आवश्यक पर्छ । बैशाख महिनाभर मात्रै ९७ करोड ७६ लाख ५६ हजार ७सय ८१ लिटर अक्सिजन खपत हुने अनुमान सरकारको छ ।

त्यस्तै जेठमा क्रिटिकल(आइसियु÷भेन्टिलेटर) ३० सय २३ जना, जटिल अवस्थामा (एच.डी.यु) ७० सय ५३ जना र मध्यम जटिल (साधारण अक्सिजन वेड) मा १० हजार ७५ जना गरी अक्सिजन चाहिने अवस्थामा २० हजार १ सय ५१ जना पुग्ने अनुमान गरिएको छ । उनिहरुका लागि १ अरब २९ करोड ३३ लाख ६७ हजार ८ लिटर अक्सिजन आवश्यक पर्ने छ । यसका लागि १ लाख ९० हजार २ सय १ वटा सिलिडर आवश्यक पर्छ ।

यता असार महिनामा क्रिटिकल (आइसियु÷भेन्टिलेटर) ३६ सय ९८ जना, जटिल अवस्थामा (एच.डी.यु) ८६ सय २८ जना र मध्यम जटिल (साधारण अक्सिजन वेड) मा १२ हजार ३ सय २६ जना गरी जम्मा २४ हजार ६ सय ५२जना पुग्ने अनुमान मन्त्रालयको छ । उनिहरुका लागि १ अरब ५८ करोड २२ लाख ७३ हजार ८ सय २९ लिटर अक्सिजन खपत हुने अनुमान छ । त्यसका लागि २ लाख ३२ हजार ६ सय ८७ अक्सिजन सिलिण्डर आवश्यक पर्ने छ ।

यसरी तीन महिनामा ३ अरब ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लिटर अक्सिजन खपत हुने छ भने ५ लाख ६६ हजार ६ सय ६१ वटा अक्सिजन सिलिण्डर आवश्यक छ ।

 

उद्योगीहरुका अनुसार आइतबार साँझ सम्म मुलुकभर करिब ८० हजार सिलिण्डर छन् । त्यसमा पनि १० प्रतिशत सिलिण्डर कोरोना बढ्दै जाँदा उपभोक्ताले लुकाएका छन् । सरकारले चीनबाट ल्याउने भनेको २० हजार थान सिलिण्डर पनि आउने निश्चित भएको छैन । ४ सय सिलिण्डर भने केही दिनमा आउने भएको छ ।

‘स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘हामीले अनुमान गरेको अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने संक्रमितहरुको आधारमा बैशाख महिनामा करिब १ लाख ४४ हजार, जेठमा १ लाख ९० हजार र असार महिनामा २ लाख ३३ हजार अक्सिजन सिलिण्डर गरी कुल ५ लाख ६६ हजार ६ सय ६१ वटा अक्सिजन सिलिण्डर खपत हुने देखिएको छ । तर, हामीसँगसिलिण्डर ज्यादै न्युन रहेको छ ।’सरकारले बैशाखमा संक्रिय संक्रमित ७६ हजार १ सय ६०, जेठमा १ लाख७ सय ५४ र असारमा १ लाख २३ हजार २ सय ६० थपिने अनुमान गरिएको छ ।

आवश्यकता अनुसार अक्सिजन नहुदा कयौ बिरामीहरुको बाटैमा मृत्यु भएको छ । ‘अक्सिजन प्लान्ट र सिलिण्डर गन्ने अवस्थाबाट हामी धेरै अगाडी बढिसकेका छौं स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले भने, ‘अबको एक हप्तामा हामीले घरघरमा शव गन्नुपर्ने अवस्था आउने छ ।’

अक्सिजन सिलिण्डर पर्याप्त नहुदा बिरामीको उपचारमा समस्या आएको छ । अहिले अस्पतालमा बिरामी राख्न सकिएको छैन । ‘कुनै पनि अस्पतालले अक्सिजन क्षमता नभएर शय्या बढाउन सकेका छैनन्, अधिकारीले भने, ‘यसले गर्दा मानिसहरु समस्या लिएर पनि घरमा बस्न बाध्य भएका छन् । त्यस्ता मानिसहरु अबका केही दिनमा घरमै मर्न पुग्छन् ।त्यो हाम्रालागि निकै दुखको कुरा हो ।’

स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालको माग अनुसार २५ प्रतिशत पनि अक्सिजन सप्लाइ हुन सकेको छैन । नेपालमा ठुलो संख्यामा सिलिण्डर छ भनिए पनि कहाँ छ भन्नेमा कोही जानकार छैनन् ।

मन्त्रालयका सह प्रवक्ता अधिकारीले हाल दैनिक मृत्यु मध्ये धेरैको अक्सिजन नभएका कारणले मृत्यु भइरहेको छ । अस्पतालमा गंभिर अवस्थामा पुग्नेहरु काम गरिखाने उमेर समूहका युवा युवती रहेका छन् । ८० प्रतिशत मानिस अक्सिजनको अभावले अस्पताल जान सकेका छैनन् उनले भने ।

अस्पतालमा राखेर मानिस मार्न हुदैन भनेर अस्पतालहरुले पनि क्रमश वेड कटौती गर्न थालेका छन् । अस्पतालले वेड कटौंती गर्नु भनेको फेरी समुदायमा मृत्यु बढ्नु हो । तीन दिन सम्म चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्लान तर, चार दिन पनि सिकिस्त भएर मृत्युको अवस्थामा पुग्छन् हामी निकै हतोत्साहीत भएका छौं मन्त्रालयका अधिकारीहरु भन्छन् ।

अन्य अस्पतालले शय्या कटौंती गर्दा टेकु अस्पतालले थप्दै लगेको छ । अस्पतालमा आएका बिरामीहरुलाई नफर्काउने नीति अनुसार अस्पतालले खुला आकास मुनी समेत उपचार थालेको छ । अस्पतालका निर्देशक डा सागर राजभण्डारीले शय्या थपका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । सोमबार देखि बाहिर १० वेड थप्ने अस्पतालको तयारी छ । आइतबार २९ जना गंभिर अवस्थाका कोरोना संक्रमितलाई आँगन र पेटीमा राखेर अक्सिजन दिइएको छ । हामीसँग आइसियु भेन्टिलेटर खाली छैन निर्देशक डा राजभण्डारीले भने, तर हामीसाग जति अक्सिजन उपलब्ध छ भुइमा राखेर पनि पुगेसम्म बिरामीलाई दिने छौं ।

टेकु अस्पतालका चिकित्सकले वीर अस्पताल आफुहरुलाई दिए यो अवस्थामा उल्लेख्य काम गरेर देखाउने बताएका छन् । वीरलाई टेकुमा सार्ने र टेकुलाई वीरमा सिफ्ट गरे कयौं बिरामीलाई सेवा दिन सकिने बताए ।

टेकु अस्पतालमा अहिले ८७ जना संक्रमित उपचाररत छन् । उनिहरु मध्ये अस्पताल बाहिर २९ जना छन् । उनिहरुलाई कुसी, ह्वील चियर, खाटमा राखेर अक्सिजन दिइएको छ ।

१० प्रतिशत सिलिण्डर उपभोक्ताको घरमा

भारतले अक्सिजन निर्यातमा कडाई गरेपछि यसको प्रत्यक्ष असर अस्पतालमा देखिएको छ । अक्सिजनअभावले अस्पतालहरुले वेडमा कटौंती गर्नुपरेको बताएका छन् । मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल, हेल्पिङ हेण्ड्स सामुदायीक अस्पताल, ओम अस्पतालले बिरामी भर्ना नलिने भन्दै विज्ञप्ती जारी गरेका छन् । ‘उनिहरुले भनेका छन्, कोरोना संक्रमितको उपचार गर्न अक्सिजन अपरिहार्य छ तर, देशमा अक्सिजनको चरम अभाव छ । त्यसैले अक्सिजन बिना बिरामी भर्ना गर्नु उपयुक्त नभएकाले अक्सिजन उपलब्ध नहुदा सम्म बिरामी भर्ना नलिने निर्णय गरेका छौं ।’

नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव सारदालेदैनिक २० हजार सिलिण्डरको क्षमता रहेको छ । अस्पतालहरु डराएर सिलिण्डर आवश्यकता भन्दा बढी मागिरहेका छन् । २० सिलिण्डर प्रयोग गर्ने अस्पतालले १ सय ५० र १ सय सिलिण्डर प्रयोग गर्ने अस्पतालले ५ सय अक्सिजन सिलिण्डर मागिरहेका छन् । यो अवस्थाले अक्सिजनको माग थप बढ्ने छ ।
यती मात्रै हैन सारडाले भने, कोरोनाको महामारीले कुल सिलिण्डरको १० प्रतिशत उपभोक्ताले सिलिण्डर भरेर घरमा थन्याएका छन् । उद्योगीहरुका अनुसार २ हजार बढी बिरामीलाई पुग्ने अक्सिजन सिलिण्डर प्रयोग बिहिन अवस्थामा घरमा थुपारिएको छ ।उक्त सिलिण्डर अस्पतालमा प्रयोग भए धेरैको ज्यान बन्चे अधिकारीहरु बताउँछन् ।

अक्सिजनको कमिका बिच केन्द्र सरकारले कुनै निर्णय लिन सकेको छैन । मंगलबार मात्रै एक हजार सिलिण्डर खरिदका लागि टेन्डर खुलाउने तयारी केन्द्रले गरेको छ । अधिकारीहरु भन्छन्, प्रदेश एक र दुईमा अक्सिजनको खपत कम भएको छ, त्यहाँका ट्याङ्करहरु केन्द्र सरकार मातहत पठाउन सक्नुपर्छ । कुनै ठाउँमा अक्सिजन थुप्रिएको छ भने, केन्द्र र सुदुरपश्चिम क्षेत्रमा अक्सिजन अभाव देखिएको छ । बर्खाको समय भएकाले ढुवानीमा समेत समस्या देखिएको छ ।

सरकार अक्सिजनको अभाव छैन भनिरहेको छ । देशकाप्रधानमन्त्री भने २१ लाख नागरिकलाई खोप लगाएर नेपाल दक्षिण एशियाकै दोस्रो देश भएको भन्दै गर्व गरिरहेका छन् । तर, देशमा अक्सिजन नपाएर बिरामी मरिरहेका छन् ।

‘पाटन अस्पतालको आकस्मिक कक्षमा काम गर्ने एक चिकित्सकले भने, ‘यो मेरो जीवनको सबैभन्दा ठूलो त्रासदी हो, बिरामीहरू मर्दैछन् किनकी हामीसँग अक्सिजन छैन, अक्सिजन नभएका कारण वेड खाली छन् । कोरोना निको पार्न अक्सिजन, औषधि र खोप आवश्यक छ । तर, नेपालमा उपलब्ध हुने आधार छैन ।’ भएको खोप समेत सरकारले प्रयोग गरेको छैन ।

वितेका १५ महिना सम्म सरकार के गरेर बसेको थियो, सरकार नागरिक कसैले पनि कोरोनाको पहिलो छालबाट केही पनि सिकेनन् ।विज्ञका अनुसार आपत्कालिन अवस्थामा व्यक्तिको जीवन बचाउन २० मिनेट भित्रमा अक्सिजन उपलब्ध हुनु पर्छ । अहिलेको अवस्थामा नेपालमा त्यो सम्भावना टरेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अक्सिजन अभाव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com