४० लाख खोप थुप्रियोः खोप खोज्दै जनता, प्रयोगबिहीन हुँदा म्याद सकिने चिन्ता !


काठमाडौं । नेपालमा हाल सम्म ८९ लाख ८२ हजार ५८२ डोज खोप आइपुगेको छ । उक्त खोप मध्ये अमेरिकाले अनुदानमा दिएको १५ लाख ३४ हजार ५८० डोज भने एक मात्रा लगाए पुग्छ । बाँकी भारत र चीनबाट ल्याएको कोभिसिल्ड र भेरोसेल दुई मात्रा लगाउनु पर्छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने १५ लाख ३ हजार ३१२ जनाले दोस्रो मात्रा समेत लगाइसकेका छन् । अझै देशका बिभिन्न स्टोरमा ३९ लाख ३५ हजार बढी खोप थुप्रिएको छ । तर, खोप अभियान भने सुस्त गतिमा चलेको छ । यकातिर खोप खोज्दै जनता भौतारिरहेको अवस्था छ । अर्कोतिर भण्डारण भएका खोप प्रयोगमा नआउँदा हुँदा म्याद सकिने सरोकारवालाको चिन्ता छ ।

चिकित्सकहरुका अनुसार कोरोना रोक्न जतिसक्दो धेरै खोप लगाउनु पर्छ । खोप बाहेक कोरोना रोक्ने र नागरिकलाई मृत्युको मुखबाट जोगाउने अर्को उपाय छैन । दैनिक डेढ लाख जनालाई खोप लगाउन सक्ने क्षमता आफूसँग भएको यस अगाडि नै स्वास्थ्य मन्त्रालयले बताएको थियो । पर्याप्त मात्रामा खोप भण्डारण हुँदा पनि कोरोना विरुद्धको खोपमा मास क्याम्पेनिङ् गरेको छैन ।

भाइरोलोजिस्ट डा. सन्तोष दुलाल ठूलो परिणाममा खोप भण्डारण भएपनि तीब्र रूपमा खोप अभियान नचलाउनुु अश्चर्यको विषय भएको बताउँछन् । अमेरिका सरकारले दिएको जोन्सन खोपको म्याद आगामी अक्टोबरबाट सकिदैछ । खोप आउने क्रम जारी छ । अगामी ३० तारिकमा चीनबाट थप ८ लाख खोप आउने छ । त्यस्तै चीन सरकारले अनुदानमा दिने भनिएको थप १६ लाख पनि केही दिन भित्र आउने अधिकारीहरुले बताएका छन् । यस्तो अवस्थामा खोप सुरू नगरेर थुपारेर मात्रै गरेर राख्नु नागरिकमाथि ठूलो अन्याय भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबरबाट जोन्सन खोपको म्याद सकिदैछ । हाल सम्म जोन्सनको ३ लाख ३३ हजार ९९१ जनाले मात्रै खोप पाएका छन् । प्रदेश नम्बर १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अझै जोन्सन संचालनमा आएको छैन । प्रदेश २ मा ५० हजार १३७, बाग्मती प्रदेशमा २ लाख ७ हजार ६८, गण्डकीमा ७३ हजार ९८१ र लुम्बिनीमा २ हजार ८ सय ५ जनाले मात्रै जोन्सनको खोप पाएका छन् ।

अमेरिका सरकारले कोभ्याक्स सुबिधा मार्फत नेपाली जनतालाई १५ लाख ३४ हजार ५८० डोज खोप अनुदान स्वरुप उपलब्ध गराएको थियो । यो खोप आगामी अक्टोबर भित्र लगाइसक्नु पर्ने छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल खोप अभियान नियमीत हुने बताउँछन् । ‘केही प्रदेशहरुमा खोप चलेको छैन । खोप संचालन भएका प्रदेशहरुबाट पनि पूर्ण रिपोर्ट उपलब्ध नभएको हुन सक्छ।’, पोखरेलले भने । निर्देशक पोखरेल कोल्डचेन व्यवस्थापन, पालिकाहरुमा खोप पठाउने जस्ता विभिन्न कारणले गर्दा संचालनमा केही ढिला भएको बताउँछन् ।

अहिले कोभिडको सम्पूर्ण तथ्यांक लिने काम स्वास्थ्य सेवा विभाग मातहत रहेको एकीकृत सूचना प्रणालीको छ । तर, स्वास्थ्य मन्त्रालयले कोभिडको तथ्यांक संकलन गर्नै करिब ५ करोड रुपैयाँ खर्च गरेर नयाँ सफ्टवेयर बनाएको अधिकारीहरु बताउँछन् । उक्त सिस्टम हेर्ने अधिकारी विश्व स्वास्थ्य संगठनका कर्मचारीको हातमा रहेको छ । विश्व स्वास्थ्य संगठनले तथ्यांक संकलन गराउन मात्रै ४ जना कर्मचारी नियुक्त गरेको स्रोतले बताएको छ । मासिक ८० हजार तलव खाएर नागरिकको खोप देखि अन्य गोप्य रिर्पोट संकलन गर्नेकाम सूचना प्राणालीमा भएको छ । तर, उनिहरुले सरकारी अधिकारीहरुलाई आधिकारीक तथ्यांक दिएका छैनन् । यसले गर्दा केही संख्यामा तलमाथी पर्ने अधिकारीहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठनका कर्मचारीले नेपाली सरकारी सिस्टम कब्जा गरेर कोभिडको तथ्यांक मात्रै हैन कुन जातले कति खोप पाए लगायतका निकै महत्वपूर्ण तथ्यांक पनि गोप्यरुपमा संकलन गरेको बुझिएको छ । ‘स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘स्वास्थ्य सचिव लक्षमण अर्यालले एकीकृत सूचना प्रणालीको जिम्मा आफ्ना विश्वास पात्र अनिल थापालाई दिएका छन् । राष्ट्रिय क्षयरोग केन्द्रमा हुँदा विवादित बनेका थापा अर्थ मन्त्रालय सरुवा भएका थिए । सचिव अर्यालले हालै उनलाई पुन स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग मातहत पर्ने एकीकृत सूचना प्रणालीको प्रमुखको जिम्मा लगाएका छन् ।’ थापा र विश्व स्वास्थ्य संगठनको सेटिङमा कोभिडको तथ्यांकहरु आफूहरुले समेत पाउन छाडेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

०७७ माघ ८ गते भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्ध प्रयोग गरिने कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । करिब ७ महिनाको दौरानमा तीन देशबाट ८९ लाख ८२ हजार ५८० डोज खोप उपलब्ध भएको छ भने, ५० लाख डोज खोप सुनिश्चितता भएको छ । केही दिन भित्र आउने अधिकारीहरुले बताएका छन् ।

हाल उपलब्ध भएको खोप मध्ये ४२ लाख खरिद गरेको हो । बाँकी अनुदानको खोप हो । खरिद गरेको मध्ये १८ लाख आउँन बाँकी छ । स्वास्थ्य सचिव डा रोशन पोखरेलका अनुसार कोभ्याक्स सुविधा मार्फत ४० लाख मोर्डोना र ४० लाख फाइजरको खोप खरिदका लागि प्रक्रिया अगाडी बढेको छ । फाइजरको उक्त खोप १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लगाउन मिल्ने छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो वर्ष भित्र फाइजर र माेर्डाेना आउने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com