स्वास्थ्यबाट अर्थ छिरेका सहसचिव नेपाललाई ‘सुपर अर्थमन्त्री’को पगरी

काठमाडौं। २०७१ फागुनमा सहसचिव भएपछि केही समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बसेका श्रीकृष्ण नेपाल अहिले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख छन्। लेखा समूहका उपसचिव नेपाल आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिव भएपछि अर्थ मन्त्रालयको रैथाने भएका हुन्। उनी अहिले अर्थ मन्त्रालयको सबैभन्दा शक्तिशाली कर्मचारीमा दरिन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सहसचिव नेपाल भन्सार विभागको उपमहानिर्देशक भएर गएका थिए। वाइडबडी विमान घोटालामा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका शिशिरकुमार ढुंगानाको ‘राइट ह्यान्ड’ बनेर भन्सार विभाग बसेका नेपाल त्यहाँबाट अर्थ मन्त्रालय छिरे। अर्थमा छिर्नेबित्तिकै पाल्पाली नेपालले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख जिम्मेवारी पाएका थिए। केवलप्रसाद भण्डारीलाई उक्त महाशाखाबाट नेपालले विस्थापित गरेका हुन्।
२ वर्ष जति भन्सार विभागको उपमहानिर्देशक भएर बसेका नेपाल करिब ३ वर्ष अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख भएर बसे। त्यसपछि सहसचिव नेपाल विन्देश्वरप्रसाद लेखक शाखा अधिकृत हुँदा विश्व बैंकमा गएको पदमा जागिर खान गए। पैसाका लागि त्यसबेला उनले आफ्नो ‘वेट’ घटाएको चर्चा अझै सेलाएको छैन।
युवराज खतिवडा अर्थमन्त्री हुँदा अर्थ मन्त्रालय छिरेर अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको कमाण्ड सम्हाल पुगेका सहसचिव नेपाल विष्णुप्रसाद पौडेल दोस्रोपटक अर्थमन्त्री भएपछि विश्व बैंकमा जागिर खान गएका थिए। सहसचिव नेपाललाई उपसचिव नरेन्द्र पाण्डे (हाल आन्तरिक राजस्व कार्यालय, पुतलीसडकका प्रमुख)ले विस्थापित गरेका थिए।
विश्व बैंकमा छोटो समय काम गरेर फर्किएपछि सहसचिव नेपाल छोटो समय नै बागमती प्रदेशको सामाजिक विकास सचिव भएर गए। बागमती प्रदेशबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै फेरि नेपाल अर्थमै फर्किए। विष्णुप्रसाद पौडेल तेस्रोपटक अर्थमन्त्री हुँदा २०७९ प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालय पुगेपछि सहसचिव नेपाल फेरि पुरानै ठाउँ अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बने।
केपी शर्मा ओली नेतृत्वको पछिल्लो सरकारमा विष्णुप्रसाद पौडेल पाँचौपटक अर्थमन्त्री हुँदा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन्। अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदाहुँदै सहसचिव नेपाल एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकमा मनोनित समेत भइसकेका छन्। मासिक ३० लाख खाने गरी २ वर्षका लागि उनी फिलिपिन्सको मनिला जान लागेका हुन्।
आन्तरिक प्रतिस्पर्धाबाट सँगै सहसचिव भएका रुद्रसिंह तामाङ, राजेन्द्रप्रसाद पौडेल, कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, विनोदबहादुर कुँवरलाई पछि पार्दै सहसचिव भएपछि अधिकांश समय नेपाल अर्थ मन्त्रालय बसे। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश र प्रधानमन्त्री कार्यालयमा करिब डेढ वर्ष बिताएका छन्। त्यसबाहेक सहसचिव नेपाल अर्थमा जमेर बसेका छन्। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव नेपालले अर्थमन्त्री पौडेललाई पनि आफू अनुकूल घुमाउन सक्ने भएकाले उनलाई अहिले ‘सुपर अर्थमन्त्री’ भन्न थालिएको छ। नेपाल अर्थ मन्त्रालयमा सचिवको पनि सचिव हुन खोजेकाले उनलाई ‘सुपर अर्थमन्त्री’को पगरी गुथाइएको हुन सक्छ
क्याटेगोरी : समाचारट्याग : #केवलप्रसाद भण्डारी, #नरेन्द्र पाण्डे उपसचिव, #बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, #विन्देश्वर प्रसाद लेखक, #श्रीकृष्ण नेपाल, #सहसचिव श्रीकृष्ण नेपाल
तपाईको प्रतिक्रिया दिनुहोस