प्रधानमन्त्रीलाई दुरूपयोग गरेर निजी व्यवसाय प्रवर्द्धनमा तल्लीन आईटी सल्लाहकार अस्गर अली


समाचार टिप्पणी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अस्गर अलीले सरकारी काममा छलाङ मार्न थालेका छन्। शिक्षा मन्त्रालयबाट ‘एम्बिसन गुरू’लाई प्रोजेक्ट दिन दबाव दिन थालेको समाचार सार्वजनिक भएको छ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका विश्वासपात्र अली श्रव्यदृश्य शिक्षण सामग्री उत्पादनको ‘एम्बिसन गुरु’लाई दिन सक्रिय रहेको पाइन्छ। अलीको लगानी रहेको ‘एम्बिसन गुरू, प्रालि’लाई श्रव्यदृश्य शिक्षण सामग्री उत्पादनको प्रोजेक्ट दिलाउन उनी निकै सक्रिय भएर लागेका छन्। प्रधानमन्त्रीको आईटी सल्लाहकार भएर अली निजी व्यवसाय प्रवर्द्धनमा तल्लीन रहेको पाइन्छ।

यसअघि प्रधानमन्त्री ओली कै आईटी सल्लाहकार रहँदा अलीले राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेको ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ सञ्चालनमा आउन नदिएर ई-सेवालाई प्रवर्द्धन गरेका थिए। ‘नेसनल पेमेन्ट गेटवे’ राष्ट्र बैंकले सञ्चालन गर्न खोज्दा पनि अलीले रोकेर सरकारी भुक्तानी प्रणालीमा ई-सेवालाई घुसाएका थिए। अहिले अधिकांश सरकारी भुक्तानीमा ई-सेवाको साम्राज्य खडा भएको छ। आईटी सल्लाहकार भएर अलीले प्रधानमन्त्रीलाई नै आफ्नो निजी व्यवसाय प्रवर्द्धनमा दुरूपयोग गरेको चर्चा सेलाएको छैन।

‘एम्बिसन गुरू’ र ई-सेवा मात्र होइन प्रधानमन्त्री ओलीका आईटी सल्लाहकार अलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा फिट गरिएको ‘नेपाली पोर्ट’ प्रणालीको ठेक्का हत्याएका थिए। अध्यागमन विभागको सूचना प्रविधि आधुनिकीकरण गर्न भन्दै अलीको स्वामित्वमा रहेको ई-सेवामा कार्यरत अस्लाम अली, अख्तर अलीलगायतलाई परामर्शदाता नियुक्त गरिएको थियो। ‘नेपाली पोर्ट’ प्रणालीको विकास गर्ने अख्तर अली अस्गरका सहोदर भाइ हुन्। व्यापार/व्यवसाय प्रवर्द्धन मात्र होइन अध्यागमनको संवेदनशील ‘डाटा’मा समेत अस्गरको पहुँच छ।

त्यो मात्र होइन सबै सेवा प्रणाली र डाटा एकीकृत गरिएको ‘नागरिक एप’ पनि अली कै कम्पनीले बनाएको हो। राज्यका विभिन्न निकायमा रहेका संवेदनशील डाटा एउटा निजी कम्पनीलाई सुम्पिएर गम्भीर खेलवाड गर्ने काम भएको छ।

नागरिक अधिकार मोबाइल एप निर्माणका लागि अलीकै दबाबमा उनका नातेदार रहिम अली र अस्लाम अलीलाई परामर्शदाता नियुक्त गरिएको थियो। ‘नागरिक एप’मा अहिले धमाधम विभिन्न सरकारी निकायको डाटा एकीकृत गर्ने काम भइरहेको पाइन्छ। डाटासम्बन्धी कारोबार गर्ने उद्देश्यले स्थापना भएको ‘एक्टेन्सो डाटा’ कम्पनीसँग जोडिएका अलीकै योजनामा नागरिक अधिकार मोवाइल एपमा परीक्षण गर्ने भन्दै विभिन्न सरकारी निकायसँग रहेको डाटा एकत्रित गरिएको छ। डाटा दुरुपयोगको खतरा देखिन्छ। ‘नागरिक एप’मार्फत अस्गर अलीले राम्रैसँग व्यवसाय प्रवर्द्धन गरिरहेका छन्।

बागमतीमा ड्राइभिङ्ग लाइसेन्स सफ्टवेयर बनाउने काम पनि अस्गर अली मार्फत नै भएको हो। यो काममा अस्गरका सहोदर भाइ अख्तर प्रत्यक्ष संलग्न रहेको पाइन्छ। ‘डिजिटल लाइसेन्स’ नियमनका नाममा स्मार्ट फोन किनाउने काममा समेत अली लागेका छन्।

पछिल्लो समय आईटीसँग जोडिएका प्रत्येक सरकारी काममा जोडिएर प्रधानमन्त्री ओलीका आईटी आफ्नो निजी व्यवसाय प्रवर्द्धन गर्न सक्रिय भएको पाइन्छ। आईटीका प्रत्येक काममा उनी जोडिएका छन्। प्रधानमन्त्रीको आईटी सल्लाहकार पदलाई अलील हदैसम्म दुरूपयोग गरेको चर्चा सुनिन्छ। तथ्यहरू पनि सार्वजनिक हुन थालेका छन्। प्रधानमन्त्री ओली नै अलीका दाहिना भएपछि उनको व्यापार/व्यवसाय प्रवर्द्धनमा साम्राज्य नै खडा हुन लागेको छ। ‘लुट्न सके लुट कान्छा’ भन्ने बोलको गीतलाई नै माथ खुवाउने गरी अली अगाडि बढिरहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ