एमाले सत्तामा रजगज गर्ने रामशरण पुडासैनी स्टाफ कजेको कार्यकारी निर्देशक बने

काठमाडौं। कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को कार्यकारी निर्देशक बनेका छन्। नेपाल बीमा प्राधिकरण अध्यक्ष बन्ने असफल प्रयासपछि उनी स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न सफल भएका हुन्।
एमालेको सत्तामा लामो समय अर्थ मन्त्रालय बसेका र अर्थ मन्त्रालय कै राजस्व सचिवबाट अवकाश भएका रामशरण कृषि विकास बैंकको अध्यक्ष हुँदै स्टाफ कलेजको कार्यकारी निर्देशक भएर गएका छन्। मुख्यसचिव एकनारायण अर्यालका सहसचिवका ‘ब्याची’ रामशरण नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्ने निकै दौडधुपमा थिए। तर, दिपक भट्ट निकट पत्रकार शरद ओझाका अगाडि उनको ‘दाल गलेन’। बीमा प्राधिकरणको अध्यक्षमा भने रामशरण हेरेको हेऱ्यै भए। उनी कृषि विकास बैंकको अध्यक्ष भएकाले खाली भने बस्नु परेन। रामशरण अहिले फेरि नयाँ नियुक्ति लिन सफल भएका हुन्।
सचिव भएपछि प्रदेश नै नजाने रामशरण स्टाफ कलेजको कमाण्ड सम्हालेका पुगेका छन्। तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक भएर जाँदा रामशरणले बीचैमा उनलाई विस्थापित गरेर मासिक ३० लाख खाने गरी उनी फिलिफिन्सको मनिला गएका थिए। त्योभन्दा अघि रामशरण अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख थिए। मनिलाबाट फर्किएपछि पनि रामशरण प्रदेश नगई सीधै अर्थ मन्त्रालयको कायममुकायम राजस्व सचिव र सचिव भएर सेवानिवृत्त भए। २०७६ फागुन १८ देखि चैत ८ गतेसम्म कायममुकायम राजस्व सचिव र २०७६ चैत ९ गतेदखि २०७८ साउन २४ गतेसम्म राजस्व सचिव चलाएर उनी अवकाशमा गएका हुन्। डेढ वर्ष राजस्व सचिव चलाएका सेवानिवृत्त भएका त्यसपछि कृषि विकास बैंकको अध्यक्षको भूमिकामा छन्। अब स्टाफ कलेज हाँक्नेछन्।
एमाले सत्तामा दाजु रामशरण एसियाली विकास बैंकको वैंकल्पिक कार्यकारी निर्देशकमा जागिर खान फिलिपिन्सको मनिला गएपछि भाई हरिशरण अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख भएका थिए। त्यहाँबाट हरिशरण ग्वान्जाओको महावाणिज्यदूत समेत भएर गए। हरिशरण भन्सार विभागको महानिर्देशक हुँदै अहिले राष्ट्रिय योजना आयोगकामा पुगेका छन्।
रामशरण अर्थ मन्त्रालयका (राजस्व) सचिव हुँदा अर्का भाई सुरेश पुडासैनी परराष्ट्र मन्त्रालयमा लेखापालको रुपमा कार्यरत थिए। त्यहीँबेला बेईजिङस्थित नेपाली राजदूतावासमा रहेको लेखापालको दरबन्दी अस्ट्रेलियाको क्यानबेरामा स्थानान्तरण गरेर उनलाई पठाइएको हो। उनका अर्का भाई उद्धव पुडासैनी पनि महान्यायाधिवक्ता कार्यालयका चल्तापुर्जा हुन्। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई रिझाएर सहन्यायाधिवक्तामा अगाडि परेको चर्चा ताजै छ।
एमाले निकट रामशरण र हरिशरणलाई कांग्रेसका रामशरण महत र प्रकाशशरण महत दाजुभाईसँग तुलना गरिँदै आएको छ। एमाले सत्तामा हुँदा पुडासैनी दाजुभाईले कर्मचारीमा जति लाभ लिए कांग्रेस सत्तामा हुँदा महत दाजुभाईले नि राजनीतिमा त्यति नै लाभ लिएका छन्। महत दाजुभाई पनि आलोपालो अर्थमन्त्री भए। पुडासैनी दाजुभाई पनि एमाले सत्तामा लगातार लाभ लिइरहेका छन्। स्टाफ कलेज कार्यकारी निर्देशक त्यसैको निरन्तरता हो।
क्याटेगोरी : समाचारट्याग : #रामशरण पुडासैनी, #स्टाफ कलेज कार्यकारी निर्देशक
तपाईको प्रतिक्रिया दिनुहोस