श्रमिकको पसिनामा दुबईमा मेला, कल्याणकारी कोषको पैसामा बोर्डका पदाधिकारीको झेला

काठमाडौं। वैदेशिक रोजगारमा गएका कामदारको पैसा (पसिना)बाट काटेर जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको पैसामा मनपरी गरेको पाइएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय कल्याणकारी कोषको पैसा अपचलन गरेको हो।
वैदेशिक रोजगार बोर्डका तत्कालीन पदाधिकारीहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, बोर्डका सदस्यद्वय डा. मिनाक्षी ठाकुर र दुर्गाप्रसाद खतिवडा तथा बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती मिलेर श्रमिकको पसिनाबाट श्रृजित कल्याणकारी कोषको पैसा मिलेर अपचलन गरेको पाइन्छ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा अनुसार वैदेशिक रोजगार कल्याणकारी कोषको पैसा श्रमिकको हकहितमा मात्र प्रयोग गर्न पाइन्छ। तर, बोर्डको सचिवालयले रोजगार मेलादेखि विदेश घुम्न समेत कल्याणकारी कोष बजेट दुरूपयोग गरेको हो।
वैदेशिक रोजगार ऐनले वैदेशिक रोजगार कल्याणकारी कोषको पैसा वैदेशिक रोजगारमा जाने कामदारलाई सिपमूलक तालिम र रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न, अङ्गभङ्ग भएका कामदारलाई स्वदेश फिर्ता ल्याउन, फिर्ता आएका कामदार र उनका परिवारका सदस्यलाई आर्थिक सहयोग प्रदान गर्न, वैदेशिक रोजगारमा रहेका कामदारलाई गम्भीर प्रकृतिको फौजदारी कसूरको अभियोग लागेका त्यसको प्रतिरक्षा तथा बहस पैरवी गर्न, वैदेशिक रोजगारमा रहेको कामदारको मृत्यु भएमा शव ल्याउन र परिवारलाई आर्थिक सहयोग गर्नेलगायतका कामका लागि मात्र प्रयोग गर्न मिल्छ। तर, कल्याणकारी कोषको ३३ लाख १६ हजार ३५४ रुपैयाँ दुबईमा आयोजना गरिएको वैदेशिक रोजगार मेला व्यवस्थापनका नाममा अबुधाबीस्थित नेपाली राजदूतावासलाई निकासा गरेको खुल्न आएको हो। दूतावासले विभिन्न व्यक्तिहरूलाई श्रमिमको पसिनाबाट दुबईमा मोज गराएको हो।
कल्याणकारी कोषको पैसाबाट श्रम मन्त्रालय र वैदेशिक रोजगार बोर्डको सचिवालयका कर्मचारीले विदेश घुमेर रजाइँ गरेर मात्र नपुगेर विभिन्न संघ/संस्थाका व्यक्तिहरूलाई पनि मोज गराउन दुरुपयोग गरेको देखिन्छ। महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनले कल्याणकारी कोषको रकम दुरुपयोगमा बेरुजु औंल्याए छ।
वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्राप्त विवरण अनुसार कल्याणकारी कोषको पैसाबाट दुबई घुमेर श्रममन्त्री शरदसिंह भण्डारीले ३ लाख ८४ हजार ३०६ रुपैयाँ भ्रमण खर्च लिएको फेला परेको छ। त्यस्तै तत्कालीन श्रम सचिव केवलप्रसाद भण्डारीले २ लाख ५० हजार ९१४ रुपैयाँ र वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले २ लाख ५९ हजार १२४ रुपैयाँ वैदेशिक भ्रमण खर्च लिएको पाइन्छ।
बोर्डका सदस्य डा. दुर्गाप्रसाद खतिवडाले २ लाख ३५ हजार ३६ रुपैयाँ, मन्त्री भण्डारीका तत्कालीन निजी सचिव सुशिलप्रसाद आचार्यले २ लाख ४१ हजार ७३ रुपैयाँ र वैदेशिक रोजगार बोर्डको सचिवालयमा कार्यरत उपसचिव टिकाराम ढकालले २ लाख ४१ हजार ७३ रुपैयाँ भ्रमण खर्च लिएको पाइन्छ। उनी अहिले वैदेशिक रोजगार विभागका हर्ताकर्ता हुन्। कल्याणकारी कोषको रकम दुरूपयोग गर्नेको मतियार युएईका नेपाली राजदूत तेजबहादुर क्षेत्री बनेको पाइन्छ।
प्रयोजनविपरीत वैदेशिक रोजगार कल्याणकारी कोषको रकम दुरुपयोग गर्ने पदाधिकारीहरूले अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छैन। कल्याणकारी कोषको बजेट अपचलन र दुरुपयोग गर्दा भ्रष्टाचारको कसूर आकर्षित हुने देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #केवलप्रसाद भण्डारी, #डा. द्वारिका उप्रेती, #डा. मिनाक्षी ठाकुर, #तेजबहादुर क्षेत्री राजदूत, #वैदेशिक रोजगार कल्याणकारी कोषको रकम दुरुपयोग, #वैदेशिक रोजगार बोर्डको सचिवालय, #शरदसिंह भण्डारी श्रममन्त्री
तपाईको प्रतिक्रिया दिनुहोस