लोक सेवा आयोग जान लेखाका उपसचिवबीच दौडधुप

काठमाडौं। लोक सेवा आयोग जान लेखाका उपसचिवबीच दौडधुप सुरू भएको छ। लोक सेवा आयोग स्रोतका अनुसार आयोगमा सरूवा सहमति माग्दै आधा दर्जन लेखा उपसचिवहरू पुगेका छन्।
सबैभन्दा बढी सहरी विकास मन्त्रालयका लेखा उपसचिव हिरा न्यौपाने र कुमारीचोकका प्रमुख लावण्यराज दाहाल दौडधुपमा छन्। उनीहरू पछि रेजिना कोइराला र हिरण्यप्रसाद पराजुली लोक सेवा जाने दौडधुपमा लागेको पाइन्छ।
महालेखा नियन्त्रक कार्यालय(मलेनिका)को टिमले रेजिनालाई लोक सेवा पठाउन प्रयास गरेपनि आयोगले सहमति नदिएको आयोग स्रोतले बतायो। रेजिना अहिले महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखा परिक्षण शाखा प्रमुख हुन्। उनी परराष्ट्र जान नसकेपछि लोक सेवामा ‘ट्राइ’ गरिरहेको पाइन्छ। तर, आयोगले ‘ग्रीन सिग्नल’ नदिएपछि महालेखाले रेजिनालाई लोक सेवा पठाउन नसकेको हो।
सहरी विकास मन्त्रालयका कार्यरत लेखा उपसचिव हिरा न्यौपानेको लोक सेवा आयोग जाने लबिइङ निकै चर्को देखिएको छ। उनले विभन्न शक्ति केन्द्रबाट फोन घुमाएको लोक सेवा आयोग र मलेनिका स्रोतले बतायो। झापाली भएको नाताले हिराले लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई समेत भेटिसकेको स्रोतले जानकारी दियो। उनले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको समेत सहारा लिएर लोक सेवा पुगेको स्रोतको भनाइ छ। हिराले फोन घुमाउँदा महालेखा नियन्त्रक शोभाकान्त पौडेल समेत हैरान भइसकेको बताइन्छ।
लोक सेवा आयोगका अध्यक्ष रेग्मीसँग चर्को लबिइङ गर्नेमा कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयका प्रमुख लावण्यराज दाहाल रहेका छन्। उनी छोटो समयमा धेरै अड्डाहरू चार्ने लेखाका उपसचिवमा पर्छन्। लेखाका कर्मचारीको सरूवा निर्देशिकाविपरीत उपसचिव दाहाल एक वर्षमै ४ ठाउँमा सरूवा भएका थिए। एक वर्षमै दाहाल मेलम्ची खानेपानी आयोजना, राष्ट्रिय सतर्कता केन्द्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै कुमारीचोक पुगेका छन्। कानुनको धज्जी उडाउँदै दाहाललाई लगातार ४ ठाउँमा सरूवा गरिएको हो। भूमिमा लेखा अधिकृत टिपी भण्डारीसँग लफडा परेपछि उनी कुमारीचोकको प्रमुख बन्न गएका हुन्। त्यहाँबाट फेरि लोक सेवा आयोग जान दाहालले चर्को लबिइङ गरिरहेको पाइन्छ। कुमारीचोकको हाकिम भएर पनि लोक सेवा ताक्न थालेपछि दाहाल अस्थिर र अवसरवादी कर्मचारीको रुपमा परिचित हुन थालेका छन्।उक्त बेथिति रोक्न महालेखा नियन्त्रक शोभाकान्त कतिको सफल हुन्छन् हेर्न बाँकी छ।
लोक सेवा आयोगमा जानका लागि हिरण्यप्रसाद पराजुली पनि दौडधुप रहेको स्रोतले बतायो। मलेनिकाको बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा प्रमुख पराजुली लोक सेवा जान भित्रभित्रै लबिइङमा लागेको पाइन्छ। उनलाई पनि प्रतिस्पर्धामा अघि बढेर लोक सेवा आयोग पुग्ने सम्भावित पात्रका रूपमा हेरिएको छ।
उनीहरूबाहेक मलेनिकाको कर्मचारी प्रशासन शाखा प्रमुख निरज केसी पनि लोक सेवा जाने सक्ने सम्भावना जीवितै छ। सडक र परराष्ट्र जान नपाएका निरजको रोजाईमा लोक सेवा आयोग, बबरमहल कोष तथा लेखा नियन्त्रक कार्यालय, बबई सिंचाई आयोजनालगायत रहेको स्रोतले बतायो। रामचन्द्र शर्माले सडक र मधुसुधन पौडेलले परराष्ट्र हानेपछि निरजले विकल्प खोज्न थालेको पाइन्छ। हालका लोक सेवा आयोगका लेखा उपसचिव विष्णुहरि बराल पनि म्याद थप गरेर त्यहिँ बस्न खोजेको चर्चा छ। उपसचिव भएको दुई वर्षमै नेता समाएर लोक सेवा आयोग पुगेको उनीमाथि आरोप लाग्दै आएको छ।
अहिलेको लटमा सरूवा गर्न लागिएकोको कार्यालयमा लोक सेवा आयोग धेरैको रोजाइमा परेको छ। लोक सेवा आयोग जान लेखा उपसचिवबीच प्रतिस्पर्धा बढेपछि आयोगका पदाधिकारीहरूको पनि ‘मान’ बढेको हो। पछिल्लो समय लोक सेवा आयोगका अध्यक्ष रेग्मीलाई भेट्न लेखाका उपसचिवहरूको घुइँचो लाग्न थालेको बताइन्छ। लोक सेवा आयोग जान लेखाका उपसचिवबीच यसरी नै प्रतिस्पर्धा चल्ने हो भने नसोचेको पात्रले बाजी मार्न सक्ने सम्भावनालाई नकार्न सकिन्न।
क्याटेगोरी : समाचारट्याग : #रेजिना कोइराला, #लावण्यराज दाहाल, #लेखा उपसचिव, #लोक सेवा आयोग, #शोभाकान्त पौडेल, #हिरण्यप्रसाद पराजुली, #हिरा न्यौपाने
तपाईको प्रतिक्रिया दिनुहोस