प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शको कर्तुत: ‘जेन-जी’का नाममा श्रीमतीलाई खुवाए जागिर


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको राइँदाइँ चलेको छ। प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शले ‘जेन-जी’का नाममा श्रीमती, साली र भाञ्जीलाई जागिर खुवाएका छन्। प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार ‘जेन-जी’ आन्दोलनमा शहीद भएका परिवार र घाईतेलाई दिने भनेको जागिरमा आदर्शले जहान संगिता श्रेष्ठलाई जागिर खुवाएका हुन्।

सर्वोच्च अदालतमा करारमा नायब सुब्बासरहको ‘सफ्टवेयर सपोर्ट पर्सन’मा कार्यरत आदर्शलाई प्रधानमन्त्री कार्कीले विशिष्ट श्रेणी सचिवसरहको सेवा सुविधा पाउने गरी प्रमुख स्वकीय सचिव बनाएकी थिइन्। उनले ‘जेन-जी’का नाममा श्रीमती, साली र भाञ्जीलाई जागिर खुवाएको खुल्न आएको हो। उक्त विषयमा स्वास्थ्य लाइभले पटकपटक प्रतिक्रिया लिन खोज्दा आदर्शले फोन उठाएनन्।

आदर्श र उनकी श्रीमती संगिता

सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा सेटिङ र चलखेल गरेको आरोप लाग्दै आएका सिन्धुलीका आदर्शले आफ्नो नाम नै बदनाम हुने गरी ‘जेन-जी’का नाममा जहानलाई जागिर खुवाएका हुन्। उनले सर्वोच्च अदालतमा जस्तै प्रधानमन्त्रीको स्वकीय सचिवालयमा समेत सेटिङ मिलाएर परिवारका सदस्य र नातेदारलाई व्यवस्थापन गरेको चर्चा छ। उक्त विषयले अहिले ‘जेन-जी’हरूमा निकै तरंग उत्पन्न भएको पाइन्छ। आदर्शले प्रधानमन्त्री कार्कीको सचिवालयमा गृहणी श्रीमती संगितालाई राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवसरहको स्वकीय सहसचिवमा नियुक्ति दिलाएका छन्। त्यस्तै साली पर्ने भनिएकी कमला श्रेष्ठलाई पनि उनले सहसचिवसरह कै स्वकीय सहसचिव बनाउन भ्याएका हुन्।

आदर्शले मुख्यसचिव एकनारायण अर्यालसँग सेटिङ मिलाएर श्रीमती र नातेदारलाई जागिर खुवाएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन्। अर्यालले आफ्नो पद जोगाउन मतियारको भूमिकामा काम गरेको आरोप लागेको हो।

आदर्शले प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा आदर्शले भाञ्जी पुनम श्रेष्ठलाई नायब सुब्बासरहको प्रशासन सहायक र अर्की नातेदार रविना श्रेष्ठलाई पनि नायब सुब्बासरह कै प्रशासन सहायकमा जागिर खुवाएको खुल्न आएको छ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ निकट र उनका छोरा अभिषेक श्रेष्ठका घनिष्ठ मित्र आदर्शले आदर्शच्यूत हुने गरी एकपछि अर्को विवादित खेल खेलिरहेको विश्वस्त स्रोत बताउँछ।

समाज कल्याण परिषद्मा विवादित मनोज भट्टलाई पुनर्नियुक्ति दिलाउने चलखेलदेखि लुम्बिनी विकास कोषमा दिपक श्रेष्ठलाई सदस्य-सचिव बनाएर आदर्शले प्रधानमन्त्री कार्कीलाई विवादित र बदनाम गराउन लागिपरेको चर्चा हुन थालेको छ। मन्त्रिपरिषद्बाट विवादित निर्णय गराएर प्रधानमन्त्री कार्कीलाई आदर्शले आदर्शच्यूत अवस्थामा पुऱ्याउने खेल खेलिरहेको स्रोतको दाबी छ।

सर्वोच्च अदालतको ग्राफिक डिजाइनर दाबी गर्ने आदर्शले आर्थिक चलखेल र नातावादमा लागेर सुशीलालाई असफल र बदनाम गराउने डिजाइन रचेको आरोप लाग्छ थालेको छ। श्रीमतीलाई समेत प्रधानमन्त्रीको स्वकीय सहसचिव बनाएर उनले त्यो आरोपको पुष्टि गर्न खोजेका छन्।

‘जेन-जी’ प्रतिनिधिहरूका प्रधानमन्त्रीको स्वकीय सचिवालयमा शहीद परिवार र घाइतेका लागि छुट्याइएको ‘कोटा’मा प्रमुख स्वकीय सचिव आदर्शले श्रीमती, साली र भाञ्जीलाई जागिर खुवाएका हुन्। आदर्शको आदर्शहीन कर्तुत देखेर ‘जेन-जी’हरू आजित भएका छन्।

मन्त्रालयहरूको सरूवा बढुवा र नियुक्तिमा समेत आदर्शले सचिवहरू मार्फत हस्तक्षेप बढाएपछि मन्त्रीहरू समेत आजित भएका छन्। केही मन्त्रीहरू त स्वकीय सचिव आदर्शको अनधिकृत हस्तक्षेप जारी रहे सरकार छाड्ने मुडमा देखिन्छन्।

आदर्श कै लुम्बिनी विकास कोषमा दिपक श्रेष्ठ, डा. श्रेष्ठ शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठ, नेपाल वायु सेवा निगमको कायममुकायम महाप्रबन्धकमा अमृतमान श्रेष्ठलाई नियुक्त गरिएको विषयले अहिले ‘जेन-जी’हरूमा तरंग उत्पन्न भएको छ। टाइपिष्ट अमृतमानलाई नेपाल एयरलाइन्सको महाप्रबन्धक बनाएपछि झनै आदर्शले प्रधानमन्त्री कार्कीलाई बदनाम गराउन खोजेको रहस्य सार्वजनिक भएको हो।

आदर्शले पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिवमा श्रेष्ठ थर कै व्यक्ति ल्याउन खोजेको र पर्यटन सचिव हरिप्रसाद मैनाली उनको ‘प्यादा’ बनेको आरोप लाग्न थालेको छ। मुख्यसचिवमा श्रेष्ठ कै ज्वाइँ कनिष्ठ र विवादित कृष्णहरि पुष्कर कर्णको पक्षमा लबिइङ गरेको थाहा पाएपछि ‘जेन-जी’हरूले आदर्शको भूमिकामाथि प्रश्न उठाएका छन्।

आदर्श, अभिषेक र दिपक तिमिल्सिना मिलेर प्रधानमन्त्री कार्कीलाई असफल पार्ने काम गरिरहेको ‘जेन-जी’हरूको बुझाइ छ। ‘जेन-जी’का नाममा आफ्नै श्रीमतीलाई जागिर खुवाउने आदर्शलाई प्रधानमन्त्री कार्कीले तत्काल पदच्यूत गर्नुपर्ने ‘जेन-जी’ शहीद परिवारका सदस्य र घाइतेहरूको माग छ। आदर्शच्यूत भएका स्वकीय सचिवले पदच्यूत नगरे विरोधमा उत्रिने उनीहरूको चेतावनी छ।

भ्रष्टाचार र कुशासनविरूद्ध जीवन आहूती दिएर ‘जेन-जी’ आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको सरकारलाई बदनाम गरेर आफ्नो फाइदा लिन आदर्श लागिपरेको ‘जेन-जी’हरूको बुझाइ छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयदेखि अन्य नियुक्ति पनि आदर्शको भूमिका हेर्दा ‘जेन-जी’ आन्दोलनलाई गिज्याइरहेको देखिन्छ। आदर्शलाई प्रधानमन्त्री स्वकीय सचिवमा कायम राखे ‘जेन-जी’ आन्दोलनको उपलब्धि गुम्ने खतरा बढेको ‘जेन-जी’हरूबीच चर्चा चल्न थालेको हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #आदर्शकुमार श्रेष्ठ, #कमला श्रेष्ठ, #पुनम श्रेष्ठ, #प्रमुख स्वकीय सचिव, #रविना श्रेष्ठ, #संगिता श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ