राष्ट्रिय योजना आयोग प्रशासनिक बेथितिको अखडा: सहसचिव ‘डम्प’ गर्ने थलो बन्यो


काठमाडौं। राष्ट्रिय योजना आयोग प्रशासनिक बेथितिको थलो बनेको छ। पछिल्लो समय आयोगको औचित्यमाथि नै बहस भइरहँदा निर्वतमान मुख्यसचिव एकनारायण अर्यालले प्रशासनिक बेथितिको थलो बनाएका हुन्। एकनारायणले योजना आयोगलाई सहसचिव ‘डम्प’ गर्ने ठाउँ बनाएको पाइन्छ।

राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को स्वीकृत दरबन्दी ४ रहेको छ। तर, आयोगमा ७ जना सहसचिव रहेका छन्। राष्ट्रिय योजना आयोगमा सहसचिवहरू हरिशरण पुडासैनी, खोमराज कोइराला, राजन पौडेल, नवराज ढुंगाना, लोकप्रसाद न्यौपाने, राजेश गौतम र अर्जुन भण्डारी कार्यरत छन्। ४ जना सहसचिव रहेको आयोगमा ७ जना सहसचिव पठाएर एकनारायणले प्रशासनिक बेथितिलाई मलजल गरेका हुन्। उक्त बेथितिका साझेदार रविलाल पन्थ पनि अहिले राष्ट्रिय योजना आयोग नै पुगेका छन्।

सहसचिवको दरबन्दी रहेका डोटी, अछाम, जाजरकोटलगायतका जिल्लामा उपसचिव सिडिओ पठाइएको छ। सहसचिव कै दरबन्दी रहेका वीरगञ्ज महानगरपालिका र ८ वटा उपमहानगरपालिकामा उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ। तर, राष्ट्रिय योजना आयोगमा दरबन्दीभन्दा बढी सहसचिव राखेर सुशासनको खिल्ली उडाइएको हो। सातै प्रदेशमा योजना आयोग जस्तै संरचना गठन गरेर सचिवको भूमिकामा सहसचिवलाई नै राखिएको छ। संघमा पनि ७ जना सहसचिव राखेर आयोगलाई ‘डम्पिङ साइट’ जस्तो बनाएको देखिन्छ।

एकनारायण मुख्यसचिव हुँदा नै दरबन्दीभन्दा बढी कर्मचारी नराख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको थियो। तर, मुख्यसचिव हावी हुने सहसचिवको सरूवामा दरबन्दीभन्दा बढी सहसचिव पठाइएको पाइन्छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि दरबन्दीभन्दा बढी सहसचिव पठाइएको छ। प्रशासनिक बेथितिका नाइके एकनारायणले मनपरीतन्त्र चलाएको खुल्न आएको छ। उक्त प्रशासनिक बेथितिलाई सुधार्न मुख्यसचिव सुमनराज अर्यालले तत्काल कदम चाल्नुपर्ने ‘जेन-जी’हरूको सुझाव छ।

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुन भण्डारी, #खोमराज कोइराला, #नवराज ढुंगाना, #राजन पौडेल, #राजेश गौतम, #राष्ट्रिय योजना आयोग, #लोकप्रसाद न्यौपाने, #हरिशरण पुडासैनी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ