सहसचिव डंगोललाई निमित्तको जिम्मेवारी दिएपछि क्यानका वरिष्ठहरू हेरेको हेऱ्यै


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) हेर्ने गरी सहसचिव मुकेश डंगोललाई जिम्मेवारी दिइएको छ। क्यानमा बाह्रौं तहका ५ जना अधिकारी हुँदाहुँदै मन्त्रालयबाट डंगोललाई निमित्त महानिर्देशकको भूमिकामा खटाइएको हो।

क्यानका महानिर्देशक (डिजी) प्रदिप अधिकारी भ्रष्टाचार मुद्दामा डामिएर निलम्बनमा परेपछि डंगोललाई खटाइएको छ। प्रधानमन्त्री तथा विभागीय मन्त्रीस्तरको निर्णय अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि अर्को व्यवस्था नभएसम्म सहसचिव डंगोललाई महानिर्देशकको समेत थप जिम्मेवारी दिइएको मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। क्यानको बाह्रौं तहमा प्रतातबाबु तिवारी, देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, प्रेमनाथ ठाकुर,जगन्नाथ निरौला रहेका छन्। यिनीहरूलाई जिम्मेवारी नदिई मन्त्रालयबाट ११ औं तह सरहका सहसचिव डंगोललाई अर्को व्यवस्था नभएसम्मका लागि खटाइएको हो। क्यानको डिजी बन्न वरिष्ठ तिवारीलाई कर्ण र निरौलाले रोक्ने प्रयास गरेपछि फुत्किएर डंगोलको हातमा पुगेको पाइन्छ। छोटो समय भएपनि डंगोलले क्यान हाँक्न पाउने भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछाने वाइडबडी विमान प्रकरणमा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि डंगोलले उक्त महाशाखा हेर्दै आएका छन्। उनले क्यानको समेत थप जिम्मेवारी पाएका हुन्।

मुकेश सहसचिव हुनुभन्दा पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा अन्तर्गतको हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखामा ए.टी.सी. अफिसरको रूपमा कार्यरत थिए। उक्त समूहको सहसचिव नभएपछि प्रशासन कै सहसचिव भएपनि मुकेश विज्ञताको हिसाबले नागरिक उड्डयन महाशाखाको जिम्मेवारी पाउने ‘भाग्यमानी’ व्यक्ति बनेका थिए। उनैलाई फेरि क्यानको समेत जिम्मेवारी दिइएको हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #मुकेश डंगोल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ