दुई छोरालाई जागिर खुवाएका अमृतमान कसरी बने नेपाल एयरलाइन्सको महाप्रबन्धक?


काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का महाप्रबन्धक अमृतमान श्रेष्ठले दुई छोरालाई उक्त संस्थामा जागिर खुवाएको खुल्न आएको छ। अमृतमान नेपाल एयरलाइन्सको सञ्चालक हुँदा दुबै छोरालाई जागिर खुवाएको खुल्न आएको हो।

अमृतमानले यसअधिका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग मिलोमतो गरी छोरालाई जागिर खुवाएको फेला परेको छ। अमृतमानका एउटा छोरा सञ्जय श्रेष्ठ उनी सञ्चालक हुने बित्तिकै र अर्का छोरा समिर श्रेष्ठ भर्खरै नेपाल एयरलाइन्समा भर्ति भएका हुन्। युवराज र अमृतमान मिलेर सञ्जयलाई उडान अवतरण हेर्ने (ग्राउण्ड सपोर्ट डिपार्टमेन्ट)मा ५ तहमा करारमा लगाएको पाइन्छ। अमृतमानका अर्का छोरा समिर यात्रु सेवा विभागमा ३ महिना अघि मात्र तीन जुनियर सहायक(तीन तह) पदमा मासिक ज्यालादारीमा भर्ना गरिएको हो। युवराजले जाँदाजाँदै नेपाल एयरलाइन्सलाई भर्ति केन्द्र बनाउन सहयोग गरेबापत अमृतमानका छोरालाई पनि जागिर दिलाएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल एयरलाइन्समा राजनीतिक भर्ति केन्द्र नबनाउन निर्देशन दिइएकी थिइन्। राजनीतिक भर्ति गरिएका करारका कर्मचारी हटाउन समेत प्रधानमन्त्री कार्कीको निर्देशन थियो। तर, आफ्नै छोराहरूलाई करार र ज्यालादारीमा जागिर खुवाएका अमृतमान महाप्रबन्धक बनेकाले राजनीतिक पहुँच र प्रभावका भरमा जागिर खाएका कर्मचारी हटाउने सम्भावना न्यून छ। यसले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिमाथि पनि चिसो पानी खन्याउने काम भएको पाइन्छ। अमृतमानले पनि आफ्ना छोराहरू एयरलाइन्समा जागिरे रहेको स्वीकार गरे। युवराज आफ्नो साथी रहेकाले छोराहरूलाई जागिर लगाएको उनको तर्क छ। आवश्यकका आधारमा उनीहरूलाई एयरलाइन्सले जागिर दिएको अमृतमानको जिकर छ।

कमिसनखोरहरूले नेपाल एयरलाइन्सको विमानको इन्जिन इजरायलमा मर्मत गर्न दिएर भाडाको इन्जिनमा कमिसन धोकिरहेका छन्। उक्त इन्जिन ल्याउन पनि पाइलटलाई जिम्मेवारी दिनुपर्ने प्रधानमन्त्री कार्कीको जोड थियो। तर, तत्कालीन मुख्यसचिव एकनारायण अर्याल, पर्यटन सचिव हरिप्रसाद मैनाली, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, युवराज अधिकारी र सहसचिव जयनारायण आचार्यको सेटिङमा अमृतमान महाप्रबन्धक बनेको चर्चा छ। नक्कली शैक्षिक प्रमाणपत्रधारी सहसचिव आचार्यले यो र त्यो मिलेन भनेर अरूलाई ल्याउन नदिने र अमृतमानलाई ल्याउन भूमिका खेलेको आरोप लाग्दै आएको छ। गृहमा खुरापात गर्न नपुगेर उनी पर्यटन पुगेर त्यसैलाई निरन्तरता दिन थालेका छन्।

नेपाल एयरलाइन्सलाई राजनीतिक भर्ति केन्द्र बनाउन मतियार बनेका अमृतमानलाई महाप्रबन्धन बनाएर उक्त संस्थालाई बन्धक बनाउन उनीहरूको ठूलो हात रहेको पाइन्छ। छोरीलाई जागिर खुवाउने एकनारायणले छोरालाई जागिर खुवाउने अमृतमानलाई युवराजको इशारामा काँध हालेको पाइन्छ।

आफै सञ्चालक भएको संस्थामा छोराहरूलाई जागिर खुवाउनु स्वार्थ बाझिने कुरा हो। त्यसमाथि सञ्चालक हुँदा निगम सुधारभन्दा व्यक्तिगत स्वार्थमा काम गरिरहेका अमृतमानलाई ‘जेन-जी’ सरकारले नेपाल एयरलाइन्सको महाप्रबन्धकको समेत जिम्मेवारी दिएको छ।

जनक कालाखेती र अमृतमान आईतबार मात्र टंगालस्थित रातो घर छिरेको विषय समेत निकै चर्चा छ। उनीहरू किन अख्तियार छिरे भन्ने विषयमा अहिले अनेक टिकाटिप्पणी हुन थालेको हो। अख्तियारमा गएको स्वीकार गर्दै अमृतमानले उक्त विषयमा बोल्न नमिल्ने बताए।

छोरालाई करार र ज्यालादारीमा जागिर खुवाउने अमृतमानले करारका कर्मचारी हटाउलान् र नेपाल एयरलाइन्स सुधार्लान् भन्नु बेकारको कुरा भएको उक्त संस्थाका कर्मचारीहरू नै टिप्पणी गर्छन्।नेपाल एयरलाइन्सको प्रतिस्पर्धी हिमालय एरयरलाइन्समा छोरीलाई जागिर खुवाएका अमृतमानले उक्त संस्थालाई आर्यघाटमा पुऱ्याउने जोखिम छ। इन्जिन ल्याउने र भर्ति केन्द्र बन्द गराउने प्रधानमन्त्रीको योजनामा अमृतमानले धक्का दिने निश्चित छ।

क्याटेगोरी : समाचार
ट्याग : #अमृतमान श्रेष्ठ, #सञ्जय श्रेष्ठ, #समिर श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ