सरकार ‘जेन-जी’को, नियुक्ति अनिल सिन्हाको

'जेन-जी' युगमा ६७ वर्षीय शर्मालाई पशुपति क्षेत्र विकास कोषको जिम्मा


समाचार टिप्पणी

काठमाडौं। ‘जेन-जी’ पुस्ताका शहीदको बलिदानीबाट सुशीला कार्की नेतृत्वको सरकार बनेको हो। उक्त सरकार ‘जेन-जी’ पुस्ताको मर्म र भावनालाई आत्मसात गर्नुपर्ने देखिन्छ। तर, पहिल्ला केही नियुक्ति हेर्दा सरकारले ‘जेन-जी’ पुस्तालाई गिज्याइरहेको भान हुन्छ।

‘जेन-जी’ सरकारका कानुनमन्त्री अनिलकुमार सिन्हाले राजनीतिक नियुक्तिमा कृपावाद र आसेपासेवादलाई प्राथमिकता दिएपछि ‘जेन-जी’हरू आक्रोशित भएका छन्। गुठी संस्थान, समाज कल्याण परिषद्, पशुपति क्षेत्र विकास कोषलगायतका नियुक्ति हेर्दा उक्त नियुक्तिले ‘जेन-जी’ पुस्ताको आन्दोलनको ‘स्पिरिट’लाई सम्बोधन गर्ने देखिँदैन। यी नियुक्तिमा कानुनमन्त्री सिन्हा हाबी भएको पाइन्छ। ‘जेन-जी’ शहीदहरूको रगतको टाटा सुक्न नपाउँदै मन्त्री सिन्हाले ती शहीदहरूको रगतको अपमान गरेको आरोप लाग्न थालेको छ।

प्रधानमन्त्री कार्कीले विश्वास गरेका मन्त्री सिन्हाले नियुक्तिको अवसर हेर्दै मन्त्रालय फेर्दै गर्न थालेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका सिन्हाले गुठी संस्थानमा आफू निकट रमेशकुमार पोखरेललाई अध्यक्ष बनाए। उच्च अदालका पूर्व मुख्य न्यायाधीश पोखरेल गुठी संस्थान सुम्पिएपछि सिन्हाले उक्त मन्त्रालय नै त्यागिदिए।

पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिव बनाउन प्रकाशमणि शर्मालाई बोकेर हिँडेका सिन्हाले पर्यटन मन्त्रालयको नेतृत्व हत्याएर उनैलाई बनाइ छाडे। भूमि मन्त्रालय त्यागेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका सिन्हाले आफ्नै सहपाठी शर्मालाई पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिव मनोनित गरेका छन्। पर्यटन मन्त्रालय कार्यभार सम्हाले भोलिपल्टै सिन्हाले ६७ वर्षीय कपिलवस्तुका प्रकाशमणि शर्मालाई कोषको सदस्य-सचिवमा मनोनित गरेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ मा ६५ वर्ष उमेर ननाघेको व्यक्ति मात्र कोषको सदस्य-सचिव बन्न सक्छ। तर, ‘जेन-जी’ सरकारमा मन्त्री सिन्हा हाबी हुँदा ६७ वर्षीय उनका सहपाठी शर्मा कोषको सदस्य-सचिव मनोनित भएका छन्। सुशासनको धज्जी उडाउँदै पूर्व न्यायाधीश सिन्हाले शर्मालाई सदस्य-सचिवमा मनोनित गरेर बेथितिलाई बढवा दिने काम गरेका हुन्। पशुपति जस्तो पवित्र क्षेत्रलाई सिन्हाको मनमौजी नियुक्तिले विवाद निम्त्याउने देखिन्छ। उनको सहपाठी मोहले पशुपति क्षेत्र विकास कोषलाई कतै आर्यघाटतिर त धकेल्दैन् भन्ने चिन्ताको विषय बनेको छ।

पशुपतिमा मात्र होइन समाज कल्याण परिषद्मा पनि सिन्हामा मान्छे नियुक्त भएका छन्। सिन्हाले ठिक पारेका मानिस सरोज कुमार शर्मा समाज कल्याण परिषद्को सदस्य-सचिव बनेका हुन्। महोत्तरीका शर्मा मन्त्री सिन्हा कै जोडबलमा समाज कल्याण परिषद्मा पुगेपछि महिला मन्त्री श्रद्धा श्रेष्ठ हेरेको हेऱ्यै भएकी छिन्। श्रद्धा महिला मन्त्री बनेको तेस्रो दिन शर्मा समाज कल्याण परिषद्मा सदस्य-सचिवको पदबहाली गर्न पुगेका छन्। सिन्हाका मान्छे शर्मा पनि ‘जेन-जी’ आन्दोलनको स्पिरिट सम्बोधन गर्न नसक्ने टिप्पणी हुन थालेको छ।

उद्योगतिर छिर्ने हो भने त मन्त्री सिन्हाको काम कारवाहीमाथि प्रशस्तै पश्न उठ्ने देखिन्छ। कानुनमन्त्री सिन्हाले ‘जेन-जी’ सरकारमा रजाइँ गरिरहेको टिप्पणी हुन थालेको छ। सरकार ‘जेन-जी’को नियुक्ति सिन्हाको भन्ने चर्चा अहिले सिंहदरबारभित्र व्यापक सुनिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अनिल कुमार सिन्हा, #प्रकाशमणि शर्मा, #रमेशकुमार पोखरेल, #सरोज कुमार शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ