सहसचिव घिमिरे धरानमा हाजिर नभइ पुगे निर्वाचन आयोग, दोहोऱ्याएर भरतपुर पुगे भारती
काठमाडौं। साढे दुई महिनापछि धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका सहसचिव ज्ञानहरि घिमिरे निर्वाचन आयोग पुगेका छन्। उनी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट धरान नगई निर्वाचन आयोग पुगेका छन्। धरान नगएका घिमिरेलाई सरकारले भने धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट निर्वाचन आयोग सरूवा गरेको जनाएको छ। यो एउटा विकृत अभ्यास हो।
घिमिरे हुलाक सेवा विभागको महानिर्देशकबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरूवा हुँदा पनि लामो समय आएका थिएनन्। उनी सरूवा भएको ठाउँमा सकेसम्म नजाने र गएपनि ढिला जाने सहसचिवमा पर्छन्। उनी धरान नै नगाई सरूवा संशोधन गरेर निर्वाचन आयोग पुगेका छन्। धरान उपमहानगरपालिकाको वेबसाइटले प्रमुख प्रशासकीय अधिकृत भनेर उपसचिव अम्बिकाप्रसाद चौलागाईंलाई नै देखाउँछ। घिमिरे धरान नपुगी सिंहदरबारमै चलखेल गरेर निर्वाचन आयोग पुगेका हुन्। ‘जेन-जी’ आन्दोलनको जगमा सुशासन कायम गर्न बनेको सरकारलाई घिमिरेको सरूवाले गिज्याएको छ। सुशासनको हावा खुस्काउन उनी काफी बनेका छन्।

वागमती प्रदेशको यातायात सचिव वीरेन्द्रदेव भारती दोहोऱ्याएर भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएका छन्। भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल गृह मन्त्रालयमा सरूवा भएपछि प्रदेश सचिव भारती भरतपुर पुगेका हुन्। बागमतीको यातायात सचिव हुँदा ‘ट्रायल सेन्टर’को विषयमा चलखेल गरेर अख्तियारको छानबिनमा रहेका भारती भरतपुर महानगरपालिका सरुवा भएका छन्।
भरतपुरकी मेयर रेणु दाहालले पत्याएर भरतपुरको प्रमुख प्रशासकीय अधिकृत भारती त्यहाँ कार्यरत हुँदै गोदावरी नगरपालिकाको राजस्व चुहावट काण्डमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका थिए। विशेष अदालतबाट सफाइ पाएपछि जितपुर सिमारा उपमहानगरपालिका हुँदै बागमती प्रदेश पुगेका भारती फेरि भरतपुर फर्किएका हुन्। भारती पोखरा र ललितपुर महानगरपालिकाको समेत प्रमुख प्रशासकीय अधिकृत भइसकेका छन्। स्थानीय तहका बदशाह मानिने भारतीलाई यसअघि भरतपुर खासै फापेको थिएन। यसपटक उनको कार्यकाल कसरी बित्छ हेर्न बाँकी छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा भएर गएका भूपेन्द्र थापा छोटो समयमै बन तथा वातावरण मन्त्रालयमा पुगेका छन्। बनमन्त्री माधवप्रसाद चौलागाईं मन्त्री हुने बित्तिकै पुष्प-गुच्छाले बधाई टक्र्याउन पुगेका थापा मिमांश अधिकारीलाई हुत्याएर वन मन्त्रालय गएका हुन्। जुम्लाका चौलागाईंको जोडबलमा भूपेन्द्रले बनमा ‘इन्ट्री’ मारेको चर्चा छ।
दरबन्दीभन्दा ३ जना बढी सहसचिव रहेको राष्ट्रिय योजना आयोगमा अधिकारीलाई पठाइएको छ। डेढ वर्षभन्दा बढी कोशी प्रदेशको योजना आयोगको सचिव चलाएर आएका उनलाई संघमा पनि योजना आयोग नै खटाइएको छ। राजन पौडेललाई गृह मन्त्रालय पठाएर सात सहसचिवमा नघट्ने गरी अधिकारीलाई योजना आयोगमा सरूवा गरिएको हो। सहसचिवको दरबन्दी रहेका उपमहानगरपालिकामा उपसचिव पठाएर सहसचिवलाई योजना आयोगमा ‘डम्प’ गरिएको छ। एक उपाध्यक्ष र एक सदस्य नियुक्त भएको योजना आयोगमा राजन पौडेलको ठाउँमा अधिकारीसहित खोमराज कोइराला, हरिशरण पुडासैनी, नवराज ढुंगाना, राजेश गौतम, लोकप्रसाद न्यौपाने र अर्जुन भण्डारी सहसचिव रहेका छन्। सहसचिवको ‘डम्पिङ साइट’ बनेको योजना आयोग सुधार्न ‘जेन-जी’ सरकारले पनि ध्यान दिएन।
प्रशासन सेवाको एक मात्र सहसचिव रहेको युवा तथा खेलकुद मन्त्रालयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा दरबन्दी राखेर सहसचिव रमेश ढकाललाई खटाइएको छ। मनिता श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेकी छिन्। ढकाललाई राष्ट्रिय खेलकुद परिषद् हेर्ने गरी खटाइएको हुन सक्छ। तर, त्यो विकृत अभ्यास हो। प्रशासनिक बेथिति हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा सामान्यको अतिरिक्त समूहमा १ वर्षदेखि हल्लिरहेका सहसचिव गोविन्दप्रसाद अधिकारीलाई पठाइएको छ। वीर अस्पतालका सहसचिव रितेश कुमार शाक्य हाजिर भएको महिना दिन नपुग्दै राष्ट्रपति कार्यालय सरूवा भएका छन्। सहसचिवको आवश्यकता र औचित्य नै नरहेको वीर अस्पतालमा ‘पेण्डुलम’ बनाउन अधिकारीलाई पठाइएको हो। ‘जेन-जी’ सरकारले पनि प्रशासनिक बेथितिलाई सच्याउन सकेको पाईँदैन। यस्तै बेथितिले मुलुकलाई कुशासन तर्फ धकेल्ने जोखिम देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #गोविन्दप्रसाद अधिकारी, #ज्ञानहरि घिमिरे, #निमांश अधिकारी, #भूपेन्द्र थापा, #रमेश ढकाल, #रितेशकुमार शाक्य, #वीरेन्द्रदेव भारती सहसचिव



तपाईको प्रतिक्रिया दिनुहोस