बागलुङका सिडिओ गुरूङबिरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं। बागलुङका प्रमुख जिल्ला अधिकारी(सिडिओ) कुमानसिंह गुरूङविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बागलुङका सिडिओ गुरूङसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गुरूङसहिता ४ जना व्यक्ति र मल् कन्स्ट्रक्सन एण्ड सप्लायर्सविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। व्यास नगरपालिका-४ तनहुँका गुरूङ भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका हुन्।

२०८१ चैत ११ गते बागलुङको सिडिओमा हाजिर भएका गुरूङ सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा डामिएका छन्। जिल्ला पर्वत, कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा ‘केस’मा सिडिओगुरुङ भ्रष्टाचारमा डामिएका हुन्। निर्वाचनको मुखमा बागलुङ सिडिओबिहीन भएको छ।

ज्येष्ठ नागरिक भवन ठेकेदारको लापरबाही तथा कुस्मा नगरपालिकाको ढिलासुस्तीले गर्दा चार वर्ष बितिसक्दा समेत सम्पन्न हुन नसकी अलपत्र अवस्थामा रहेको, ठेकेदार कम्पनीले निर्माण कार्य अगाडी नै नबढाएको र गरेको काम पनि रफ भएको, गुणस्तरीय नभएको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा गुरुङसमेत सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। १ करोड १३ लाख ४४ हजार ११६ रुपैयाँ बिगो मागदाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उक्त मुद्दामा सिडिओ गुरूङसहित लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य, मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पर्वत र उक्त फर्मका प्रोप्राइटर लालबहादुर मल्ल प्रतिवादी रहेका छन्।

गुरूङ २०७९ चैतमा आदिवासी/जनजाति कोटाबाट सहसचिव बनेका थिए। सहसचिव भएको ३ वर्षमै उनी भ्रष्टाचारमा डामिएका हुन्। गुरूङ शाखा अधिकृत पनि आरक्षण सुविधा लिएर भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #कुमानसिंह गुरूङ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ