स्वकीय सचिव व्यवस्थापन गर्ने ती अमनलाल मोदी, यी सुशीला कार्की


समाचार टिप्पणी

काठमाडौं। स्वकीय सचिव (पिए) व्यवस्थापनमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीभन्दा प्रधानमन्त्री सुशीला कार्की अब्बल देखिएकी छिन्। तत्कालीन सामान्य प्रशासनमन्त्री मोदीले जाँदाजाँदै आफ्ना स्वकीय सचिव कानुनलाल चौधरीलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक बनाएका थिए। प्रधानमन्त्री कार्कीले पनि प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएकी हुन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अध्यक्ष हुने प्रतिष्ठानको कार्यकारी निर्देशकमा चौधरीलाई नियुक्त गरेर तत्कालीन मन्त्री मोदी चर्चामा आएका थिए। चौधरीको योग्यतामाथि समेत प्रश्न उठ्दै आएको छ। मोदीलाई समेत माथ खुवाउने गरी राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षण समेत रहेकी प्रधानमन्त्री कार्कीले स्वकीय सचिव आदर्शलाई कोषको अध्यक्ष बनाएकी हुन्। स्वकीय सचिव व्यवस्थापनमा मोदीपथमा सुशीला हिँडेकी छिन्।

सर्वोच्च अदालतमा नायब सुब्बासरहको करार सेवामा जागिर खाएका सिन्धुलीका आदर्श कार्यशैलीमा भने त्यति आदर्श छैनन्। कहिले श्रीमतीलाई प्रधानमन्त्रीको स्वकीय सचिवालयमा जागिर खुवाउने त कहिले विभिन्न नियुक्तिमा चलखेल गरेर विवादमा पर्दै आएका छन्। उनै विवादित आदर्शलाई प्रधानमन्त्री कार्कीले जाँदाजाँदै आकर्षक ठाउँमा नियुक्ति दिलाएकी हुन्।

बालेन्द्र शाह (बालेन) नेतृत्वको शक्तिशाली सरकार गठन हुन लागेको परिवेशमा कार्की नेतृत्वको सरकारले अत्यावश्यकबाहेकका निर्णय नगर्नु पर्ने हो। तर, प्रधानमन्त्री कार्की कै विवादित स्वकीय सचिवलाई नियुक्ति दिलाएर सरकार ‘आदर्शच्यूत’ भएको छ।

पछिल्लो समय अमृतमान श्रेष्ठलाई नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष बनाउन आदर्शले निकै चलखेल गरेका थिए। उनी आफै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बन्न सफल भएका छन्।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरदेखि अन्य नियुक्तिमा सेटिङ मिलाएर प्रधानमन्त्री कार्कीलाई आफ्नो स्वार्थमा निर्णय गराउन खोजिरहेका आदर्शले आफ्नो व्यवस्थापन भने राम्रैसँग गरेका हुन्। लुम्बिनी विकास कोषदेखि पशुपति क्षेत्र विकास कोषसम्म पदाधिकारी नियुक्तिमा चलखेल गरेका आदर्शले सरकार जाँदाजाँदै खेल आफ्नो पक्षमा पारेका छन्।

दिउँसो मिडियामा स्वकीय सचिव आदर्शको प्रशंशा गरेर बेलुका आकर्षक अड्डामा नियुक्ति दिलाउने प्रधानमन्त्री कार्कीको कला पनि गज्जबको देखिएको छ। प्रधानमन्त्री कार्कीको उक्त विवादित र आसपासेवादको कुरूप तस्विर देखिने निर्णय इतिहासमा ‘दर्ज’ हुनेछ। ‘जेन-जी’ आन्दोलनलाई नै कुठाराघात पुऱ्याउने गरी प्रधानमन्त्री कार्कीले ‘पिए’लाई राजनीतिक नियुक्ति दिलाएकी हुन्। ‘पिए’ मोहले प्रधानमन्त्री कार्कीको साख समेत धुलीसात भएको छ। आउने सरकारले जाँदाजाँदै नियुक्ति पड्काएका सुशीलाका ‘पिए’देखि मोदीका ‘पिए’सम्मलाई घर पठाउन जरूरी देखिन्छ। आदर्शको सम्पत्ति नै छानबिन गर्नतर्फ राज्यले ध्यान दिन आवश्यक छ।

क्याटेगोरी : समाचार
ट्याग : #आदर्शकुमार श्रेष्ठ, #कानुनलाल चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ