आदर्शसहित उनको सेटिङमा राजनीतिक नियुक्ति खाएका पदाधिकारीको जागिर धरापमा
काठमाडौं। बालेन सरकारले ल्याएको अध्यादेशले राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठसहित उनको सेटिङमा राजनीतिक नियुक्ति खाएका पदाधिकारीहरूको पद धरापमा परेको छ। स्रोतका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शलाई पदमुक्त गरेर उक्त ठाउँमा वन तथा वातावरणमन्त्रीलाई पदेन अध्यक्ष बनाउने गरी अध्यादेश ल्याइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्को बैठकले आदर्शलाई हटाएर वन तथा वातावरण मन्त्री गीता चौधरीलाई पदेन अध्यक्ष बनाउने गरी अध्यादेश ल्याएको हो। उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि आदर्श पदमुक्त हुनेछन्।
आदर्श कै सेटिङमा समाज कल्याण परिषद्को सदस्यसचिव बनेका सरोजकुमार शर्माको पनि अध्यादेशले जागिर खाइदिने भएको छ। आदर्शलाई कानुनी सल्लाहकार राखेर दोहोरो सुविधा दिइरहेका समाज कल्याण परिषद्का सदस्यसचिव शर्मा उनीसँगै पदमुक्त हुने भएका हुन्।
आदर्शको सेटिङमा लुम्बिनी विकास कोषको सदस्यसचिव बनेका दिपक श्रेष्ठ पनि पदमुक्त हुने अवस्थामा पुगेका छन्। विदेश भ्रमणमा निस्किएका दिपकको स्वदेश आइनपुग्दै पद चैट हुने अवस्था आएको हो। विवादित पृष्ठभूमिका दिपकलाई लुम्बिनी विकास कोषको सदस्यसचिव बनाएपछि मुख्यसचिवले निर्णय प्रमाणिकरण गर्न मानेका थिएनन्। तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव रहेका आदर्श कै सेटिङमा उनी लुम्बिनी विकास कोषको सदस्यसचिवमा पदबहाली गर्न सफल भएका थिए। दिपकको पनि आदर्शसँगै जागिर जाने भएको हो।
आदर्शको सेटिङमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव बनेका प्रकाशमणि शर्मा भुसालको पनि जागिर धरापमा परेको छ। पशुपति क्षेत्र विकास कोषमा बसेर काम नै गर्न नसकेको र कोषको जग्गा तिलगंगा क्षेत्रमा भएको अतिक्रमण हटाउन नसकेको आरोप लाग्दै आएका भुसालको पनि आदर्शसँगै पद खुस्किने अवस्था आएको हो।
आदर्शको सेटिङमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक बनेकी कल्पनाकुमारी श्रेष्ठ पनि पदमुक्त हुने अवस्था आएको छ। बालेन सरकारले ल्याएको अध्यादेशले कल्पना र आदर्श एकैपटक पदमुक्त हुने अवस्था आएको हो।
आदर्शको सेटिङमा नेपाल वायु सेवा निगमको निमित्त महाप्रबन्धक बनेका अमृतमान श्रेष्ठ पनि पदमुक्त हुने भएका छन्। निगमको सञ्चालक सदस्यको हैसियतमा निमित्त महाप्रबन्धक बनेका अमृतमान सदस्यबाट हट्ने भएपछि निमित्त महाप्रबन्धक पद स्वत गुमाउने भएका हुन्।
बालेन सरकारको अध्यादेशले आदर्श श्रेष्ठको सेटिङ एकैपटक भत्किने भएको छ। सेटिङ मास्टर आदर्शसहित उनले राजनीतिक नियुक्ति दिलाएका आसेपासेहरू एकैपटक पदमुक्त हुने भएका छन्। बालेन सरकारले आदर्शको सेटिङ एक झड्कामै सिध्याइदिने भएको हो।
क्याटेगोरी : विविध
ट्याग : #अमृतमान श्रेष्ठ, #आदर्शकुमार श्रेष्ठ, #कल्पना कुमारी श्रेष्ठ, #प्रकाशमणि शर्मा, #सरोजकुमार शर्मा


तपाईको प्रतिक्रिया दिनुहोस